न्यायाधीश नै बेवकुफ बनाइदिने नक्कली अधिवक्ता : आफ्नै मुद्दामा न्यायाधीशको लाहछाप !

दियो पोस्ट  

 

दियोपोस्ट संवाददाता

काठमाडौं । आफूलाई अधिवक्ता बताउने एक व्यक्तिले सर्वसाधरणलाई त नक्कली अधिवक्ताको आवरणमा ठगी गरेका छन् नै फर्जी लाइसेन्स नम्बर देखाएर न्यायाधीशलाई समेत बेवकुफ बनाइदिएका छन् । अधिवक्ताको लाइसेन्स नै नभएपनि अधिवक्ता हुँ भन्दै ईजलाश समक्ष लाइसेन्स नम्बरसहित बहस गर्ने यी व्यक्तिले दर्जनौँ व्यक्तिलाई ठगी गरेका छन् । यसरी नक्कली परिचय दिएर ठगीधन्दा गर्ने व्यक्ति हुन्–खगेन्द्र बोहरा ।

सामान्यतया कानुन व्यावसायीहरुलाई चार तहमा वर्गिकरण गरिएको हुन्छ– बरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता र अभिकर्ता । यही बरियताको आधारमा अदालतमा बहस गर्न पाउनेकी नपाउने भन्ने समेत निर्धारण गरिएको हुन्छ । अधिवक्ताको लाइसेन्स लिएकाहरुले वकालतनामा लिएका सबै अदालतमा बहस गर्न पाउँछन् । तर, अधिवक्ताको लाइसेन्स नै नलिई बोहराले आफू अधिवक्ता हुँ भन्दै ठगी गर्दै आएका छन् ।
नक्कली अधिवक्ता बन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको अभियोगमा पक्राउ परेका बोहरालाई विभिन्न अदालतका न्यायाधीशहरुले अधिवक्ताको दर्जा दिएर प्रमाण नै नबुझी उन्मुक्ति दिइएको भेटिएको हो ।

०००

 

२०६८ फागुन १७ गते मुर्ति चोरी मुद्दामा सिन्धुपाल्चोक थांग्पाल्कोट ४ घर भएका जोरपाटी बस्दै आएका ५४ वर्षिय पाल्देन लामा पक्राउ पर्छन् । पाल्देनलाई थुनामुक्त गरिदिन्छु भन्दै ५ दिनपछि अशोक भन्ने व्यक्तिले २ लाख ५० हजार रुपैयाँ मागे । त्यतिबेला अशोकले पाल्देनकी श्रीमती शोभा तामाङ्गनीबाट ८० हजार रुपैयाँ लगेका थिए । तर, पाल्देन छुटेनन् । अशोक भन्ने व्यक्ति मार्फत शोभाको सुधिर यादवसँग भेट हुन्छ । जसले आफूलाई तत्कालिन राष्ट्रपति रामवरण यादवको भतिजो हुँ भन्ने गर्थे । उनै सुधिर मार्फत शोभाको भेट खगेन्द्र बोहरासँग हुन्छ । ‘म वकिल हुँ । केस सबै मिलाइदिन्छु । प्रहरी प्रशासन, सरकारी वकिल र पुरातात्व विभागसम्मलाई दिनुपर्छ’ भनेपछि २०६८ चैत्र १ गते रु १ लाख रुपैयाँ बुझाएको शोभा तामाङ्गनीले बोैद्ध प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । खगेन्द्र बोहरा, अशोक लगायतको मिलेमतोमा आफ्नो १ लाख ८० हजार रुपैयाँ ठगी भएको उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा खगेन्द्र बोहरा पक्राउ परे । पक्राउपछि खगेन्द्रले प्रहरी समक्ष गरेको बयानमा आफू कानुन व्यावसायी भएको र आफ्नो लाइसेन्स नम्बर ४३५८ रहेको बताएका थिए ।

 

‘म कानुन व्यावसायी हुँ । मेरो लाइसेन्स नम्बर ४३५८ हो । मलाई मेरो चिनजानको साथी (राष्ट्रपतिज्युको भतिजो नाता पर्ने) सधिर यादवले आफ्नो मोबाइल नम्बर ९८५१०२०….. बाट मेरो मोबाइल नम्बर ९८५१०९२…. मा फोन गरि बौद्द प्रहरीमा मुर्तिसम्बन्धी केशमा पाल्देन लामा थुनामा छन् । केश हेरिदिनु पर्यो । भनेकोले सो अवस्थामा म काठमाडौं जिल्ला अदालतमा भएकोले त्यहाँको म्याद थप डायरीमा हेर्दा पाल्देन लामा मुर्ति चोरी केशमा म्याद थप भएको जानकारी पाई प्रहरी बृत्त बौद्धमा समेत गई कार्यालय प्रमुख, अपराध अनुसन्धान शाखाका कर्मचारी समेत संग उक्त केशको बारेमा बुझी पाल्देन लामाको ज्वाइँसँग उक्त केशमा अदालतमा थुनछेक हुँदा लाग्ने संभावित धरौटी रकम र आफ्नो पारिश्रमिक समेत गरी १ लाख रुपैयाँ लिएको हुँ । २०६८ चैत्र १३ गते काठमाडौं जिल्ला अदालतमा थुनछेक आदेश हुने संभावना भएकोले म अदालत गएको थिएँ । वकालतनामा पेश गरि सकेको थिइन । यसै अवस्थामा मलाई पक्राउ गरेको हो,’ उनले बयानमा भनेका छन् ।

उनले यही प्रकृतिको बयान अदालत समक्ष पनि दिएका छन् । यही बयानलाई आधार मानेर जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोजराज अधिकारीले २०६९ असार ५ गते अभियुक्त बोहरालाई सफाई दिने फैसला गरिदिए ।

‘प्रतिवादीले वकिल खर्च र धरौटी बापत भनी लिएको रकम समयमै फिर्ता नगरेको कारणले जाहेरी दिएको, निजले ठगी गरेको होइन भनि प्रतिवादीको बयान ब्यहोरालाई समर्थित हुने गरि बकपत्र गरेको देखिनाले प्रतिवादीले अभियोग दावी बमाजिमको कसुर गरेको प्रमाणित नदेखिएो हुँदा प्रतिवादी खगेन्द्र बोहराले अभियोग दाबीबाट साई फाउने ठहर्छ,’ फैसलामा भनिएको छ ।

फैसलामा चित्त नबुझेपछि सरकारी वकिलले एक तहमाथि अर्थात उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा २०७० माघ ११ मा उच्च अदालत पाटनका न्यायाधीशहरु टीका बहादुर हमाल र सत्यराज गुरुङ्गको संयुक्त इजलाशले जिल्ला अदालतकै फैसलालाई (सुस) सुरु सदर गरिदियो ।

०००

७३ वर्षिय धनमाया गौतम एकल महिला हुन् । उनको श्रीमान शेरबहादुर गौतमको देहावसानपछि उनी बेसाहारा छिन् । उनै शेरबहादुरको अड्डा अदालतमा काम गर्दा सहयोगीको भूमिकामा थिए–खगेन्द्र बोहरा । धनमायाँले कृषि विकास बैंकबाट ऋण लिएकी थिइन् । उक्त ऋणको किस्ता तिर्न खगेन्द्र बोहरालाई ५ लाख २४ हजार रुपैयाँ नगदै दिएर गौतमको खातामा जम्मा गर्न पठाइन् । तर, खगेन्द्रले उक्त रकम धनमायाँको होइन आफ्नै छोरा सौगात बोहराको खातामा जम्मा गरिदिए । पैसा फिर्ता गर्न ताकेता गरेपछि छोरा सौगातको बैंक खाताबाट धनमायाको खातामा रकम ट्रान्सफर गरिदिए । तर, यसरी आफ्नै रकम आफ्नै खातामा आएपनि ७३ वर्षिय धनमायालाई खगेन्द्र बोहराले अदालतको चक्करमा पुग्न बाध्य बनाए । जिल्ला अदालत काठमाडौंमा छोरा सौगात बोहरा मार्फत ‘लेनदेन रकम दिलाई पाउँ’ भन्दै मुद्दा मात्रै दाय गरेनन् प्रमाण र कागजातलाई मात्रै आधार मान्ने अदालतले बोहरालाई नै जिताइदिने फैसला गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश उत्तम सिलुवालले गरेको फैसलामा बोहराले लेनदेन बापतको रकम दिलाइदिन ठहर गरेको छ । उक्त मुद्दामा पनि उनले आफू अधिवक्ता खगेन्द्र बोहरा भन्दै बहस गरेका छन् । न्यायाधीश उत्तम सिलुवालले त उनलाई ‘विद्वान अधिवक्ता’को पगरी नै लगाइदिएका छन् । छोरा सौगातले अन्य व्यक्तिलाई समेत विभास प्रोपर्टी नामक कम्पनि नै खोलेर घर जग्गा ठगीको धन्दा चलाएको आरोप छ । केहीदिन अघि एक बृद्धको भिडियो नै सार्वजनिक भएको थियो । सौगातले हालेको उक्त लेनदेन मुद्दामा बुवा खगेन्द्र बोहराले वकालत नामामा अधिवक्तामा चिन्ह लगाएको समेत देखिन्छ ।

उच्च र जिल्ला अदालतका न्यायाधीशहरुले विद्वान अधिवक्ताको पगरी लगाइदिएका बोहरा साच्चै अधिवक्ता नै हुन् त भन्ने तर्फ स्पष्ट हुनुपर्ने देखियो ।
नेपाल बार काउन्सिलको वेभसाइटमा बरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता र अभिकर्ताहरुको विवरण पाइन्छ ।

त्यहाँ लाइसेन्स नम्बरका आधारमा सर्च गर्दा नै विवरण भेटिन्छ । खगेन्द्र बोहराले आफ्नो लाइसेन्स नम्बर ४३५८ सर्च गर्दा अधिवक्ता रमेश कुमार बस्नेतको नाम भेटिन्छ । बौलाखर्क ९, सोलुखुम्बु घर भएका उनी अधिवक्ता रहेछन् । यसले के स्पष्ट हुन्छ भने उनले अदालत र प्रहरीमा दिएको बयानमा उल्लेखित लाइसेन्स नम्बरका आधारमा उनी अधिवक्ता चाहीँ होइनन् । उनी बरिष्ठ अधिवक्ता त होइनन् भनेर हामीले यो नम्बर फेरी सर्च गर्यौँ तर, त्यहाँ कुनै नतिजा भेटिएन ।


बार काउन्सिलको अभिलेखमा उनको लाइसेन्स नम्बरका आधारमा अभिकर्तामा सर्च गर्दा भने खगेन्द्र बोहरा नाम गरेको व्यक्ति भेटियो । तर, उनको ठेगाना स्याबरुम्बा २ पाँचथर उल्लेख छ । जबकी खगेन्द्रले आफ्नो ठेगाना काठमाडौं महानगरपालिका ४ चुनदेवी ठेगाना उल्लेख गरेका छन् । उनी विरद्धका अधिकांश मुद्दामा उनको ठेगाना सोही स्थान उल्लेख छ ।

 

जिल्ला अदालत काठमाडौंमा गिता कुमारी थापाले हालेको मुद्दामा भने उनको ठेगाना साविक पर्वतको त्रिवेणी गाविस १ भई काठमाडौं महानगरपालिका ४ चुनवेदी उल्लेख गरिएको छ ।

थापाको मुद्दामा बैंकिङ्ग कसुर ठहर भएका व्यक्ति कसरी अधिवक्ता ?

जिल्ला अदालत काठमाडौंमा गिता कुमारी थापाले दायर गरेको बैंकिङ्ग कसुर मुद्दामा बोहरा बैंकिङ्ग कसुरमा दोषी ठहर भएको समेत भेटियो । तत्कालिन जिल्ला न्यायाधीश अर्जुन अधिकारीले गरेको फैसलामा उनलाई बैंकिङ्ग कसुरमा दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना समेत गरेको भेटिएको छ ।

नेपाल बार काउन्सिलद्वारा कारबाही

अधिवक्ताको भेषमा विभिन्न व्यक्तिलाई ठगी गर्दै आएका बोहरालाई नेपाल बार काउन्सिलले समेत कारबाही गरेको छ । अधिवक्ताको लाइसेन्स नै नभएपनि अधिवक्ता हुँ भन्दै सर्वसाधरणसँग रकम असुली गरि बहसमा समेत भाग लिएको र न्यायाधीशले समेत उनकै बहसका आधारमा फैसला गरेको घटनामा उनलाई कारबाही स्वरुप नैसियत दिइएको हो । ‘अन्य दुई तीन वटा उजुरी पनि छन् । हामीले सम्पर्क गर्दा म त गाउँतिर भेडा चराउँदैछु । गोठालो छु । आउँदिन भन्छ,’ काउन्सिलका एक अधिकारीले भने,‘डिल्लीबजारस्थित उनको लफर्ममा गएर म्याद पनि टाँसेका छौँ । तर, कारबाहीबाट पनि भागी हिँडेको छ ।’

यस विषयमा प्रतिक्रिया लिन ठगी र नक्कली अधिवक्ताको आरोपी बोहरालाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

सम्बन्धित खबर