‘विपद्को पूर्वसूचना दिन सक्ने राज्यले पूर्वतयारी गर्न सकेन’

अन्तरवार्ता

खुमा वली  

काठमाडौं । शुक्रबार र शनिबारको घनघोर वर्षाले देशभर ठूलै वितण्डा मच्चायो । वर्षासँगैको बाढी र पहिरोले १७ अर्ब रुपैयाँभन्दा बढिको क्षति भयो भने २ सयभन्दा बढिले ज्यान गुमाए । बाढी, पहिरो र डुवानबाट २१ जिल्ला प्रभावित भएको सरकारको प्रारम्भिक अनुमान छ । काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला सबैभन्दा बढि प्रभावित भए ।

नेपालमा यसैगरी हरेक वर्ष बाढी पहिरोले बितण्डा मच्चाउने गरेको छ । तर वर्षाको पूर्वानुमान हुँदासमेत क्षति न्यूनिकरणका लागि पूर्वतयारीको अभ्यास हुन सकिरहेको छैन । विपद्को पूर्वतयारीका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे दियोपोष्टकर्मी खुमा वलीले विपद् विज्ञ डा. बसन्तराज अधिकारीसँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ, कुाकानीको संक्षिप्त अंश

लामो समयदेखि प्राकृतिक विपत्तिसँग सम्बनिधत रहेर अध्ययन, अनुसन्धानमा संलग्न हुनुहुन्छ, आम नेपालीले भोग्दै आउनुपरेको प्राकृतिक विपत्तिलाई कसरी हेर्नुभएको छ ?

सुरुमा त विपद् र प्रकोपलाई छुट्याएर बुझ्न जरुरी छ । जंगलमा पहिरो गयो भने त्यो प्रकोप हो । त्यही पहिरो बस्तीमा पस्यो, त्यसले गाउँ नै सखाप बनायो भने त्यो चाहीँ विपद् हो । त्यसकारण हाम्रो अहिलेको उद्देश्य भनेको प्रकोपलाई विपद्मा परिणत हुन नदिनु हो । तर यस्तो देखिदैन । हामीले गरेका काम, क्रियाकलापबाट यस्ता प्रकोपलाई विपद्तिर धकेलिरहेका छौँ ।

जस्तो, हामीले बनाउने पूर्वाधारमध्ये बाटो, पुल पुलेसालगायत विभिन्न संरचनाका कारण हामी झ्न जोखिममा छौं । त्यसकारण प्रकोपलाई विपद्मा परिणत गर्न हामी मानव नै त्यो दिशातिर गएको हुनाले पूर्ण जनधनको क्षति भइरहेको छ । प्राकृतिक प्रकोप हुन्छ तर मान्छेलाई असर गरेपछि विपत्ति हुन्छ । त्यही भएर विपद् प्राकृतिक हुँदैन । यसलाई विज्ञानसँग जोडेर बुझ्नुपर्छ ।

मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धि पूर्वानुमान गर्दै आईरहेको छ, पूर्वसूचना पनि सार्वजनिक भइरहेको छ । तर पनि जनधनको क्षति न्यूनिकरण हुन सकेन । राज्य संयन्त्र कहाँनिर चुकिरहेको छ ?

अहिलेको अवस्थामा राज्यले कामै गरेन भन्न चैँ नमिल्ला । तर सरकारले प्रयास गरेपनि समुचित प्रभावकारी र समयमा हुनुपर्ने थियो । त्यो चाहीँ भएन । किनकी विपद्मा कतिखेर उद्धार गर्ने भन्ने समय हुन्छ । त्यसलाई हामी ‘लिड टाइम’ भन्छौं । त्यसकारण जल तथा मौसम विभागले पानी पर्छ भनिसकेपछि नागरिकलाई सरकारले सूचना चाहीँ दियो । तर यसपछि संघ, प्रदेश, स्थानीय तह र वडा तहमा जुन खालको पूर्वतयारी गर्नुपर्ने थियो त्यो हुन सकेन । त्यसकारण विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको ज्ञान समूदाय स्तरमा पुगिसकेको रहेनछ भन्ने कुरा अहिलेको घटनाले प्रष्ट पारेको छ ।

हाम्रै मानविय गतिविधिले पनि विपत्ति निम्तन्छ ?
हो, आजका विपत्तिको नतिजा आजकै मात्रै भने होइन । जस्तो भूकम्पले मान्छे त मार्दैन तर मानवले बनाएका संरचना भत्केर मर्ने हो । हामीले खोलाको किनारमा गएर वस्ति विकास गर्यौं, अथवा राज्यले त्यहाँ घर बनाउन पनि दियो । हामीले त्यहाँ बाढीको प्रकोप हुन्छ कुन रुपमा हुन्छ भनेर मुल्यांकन किन नगरेको ? पहिरो जान्छ भनेर पत्ता लगाउन सकिन्छ नि त । कहाँ कस्तो प्रकारणको प्रकोप तथा घटना हुन सक्छ भन्ने थाहा पाउने जनशक्ति हाम्रो नेपालमा पनि छ । हामीले नै विश्वविद्यालयमा बसेर अध्ययन अनुसन्धान गरिरहेका छौं । यो कुरालाई राज्यका निकायले किन बलियो र बजबुद बनाएन ? त्यसकारण हाम्रा समुदाय र हामी आफै पनि जिम्मेवार छौँ ।

विपद्को पूर्वसूचना कस्तो हुनुपर्छ ?
अहिले नेपाल सरकारले पूर्व सूचनाबारे एउटा निर्देशिका बनाउन खोजिरहेको छ । तर अझै त्यो विचारधिन छ । सरकारले हाम्रा राजमार्गमा कहाँ पहिरो जान सक्छन्, कति पानी पर्यो भने पहिरो जान सक्छ, कहाँ बढि बाढी आउन सक्छ भनेर पूर्व सूचना दिन सकेको छैन । त्यो राज्यको काम हो । विदेशी मुलुकमा विभिन्न होडिङ बोर्डहरु राखेर सूचना दिइएको हुन्छ । हामीले त्यसरी पनि सूचना दिन सकेको भए त हिजो झ्याप्ले खोलामा हामीले जीवन गुमाउनुपर्ने थिएन नि त । त्यस्तो सूचना पाएपछि त हामी घरबाटै निस्कने थिएनौं । हो यस्ता खालका सूचना राज्यले दिनु पर्छ, राज्यले गर्न सक्नु पर्छ ।

मानव गतिविधिका कारण पनि विपत्ति खेपिरहेका छौं भन्दै गर्दा विश्वव्यापी रुपमा जलवायु परिवर्तनलाई नकारात्मक असर पर्ने गरि भएका गतिविधि पनि होलानन् नि ?
नेपालको अहिलेको मुख्य मद्धा नै यही हो । हाम्रा अहिलेका घटनाहरु चरम सिमातिर पुग्न थाले । हिजोको जुन हिसाबको मौसम थियो त्यो अहिले परिवर्तन भयो । किनकी विकसित राष्ट्रले औद्योगिक क्रान्तिका बेलादेखि नै जुन कार्वन उत्सर्जन गरे त्यसले संसारभरि नै तापक्रमको वृद्धि भइरहेको छ । त्यो तापक्रमको वृद्धिले हिमालमा अडिएको हाम्रो जीवनमा असर गरिरहेको छ ।

अहिले हिमाली गाउँहरु विस्थापित भएका छन् । योसँगै थामेको हिमताल फुटेको, मुस्ताङकै हिम पहिरो यस्ता घटनाहरु विश्वमा भएको जलवायु परिवर्तनले गर्दा नै हो । हाम्रा जस्ता देशहरु त्यसको मारमा परेका छन् । यसले हाम्रो सम्पूर्ण वायुमण्डलिय चक्रमा असर गरेको हुनाले यस्ता किसीमका घटनाहरु बढ्दो प्रक्रियामा छन् । भविष्यमा अझ बढ्दै जानेछन् ।

त्यसो भए अबको न्यूनिकरण तथा व्यवस्थापनको बाटो के त ?
जलवायुमा हामी २ वटा कुरा गर्छाैं । एउटा अनुकुलन अर्काे न्यूनिकरण । कतिपय कुरालाई हामीले न्यूनिकरण गर्न सकिन्छ । जस्तै हिमतालको पानी तल घटाउन । जसले गर्दा जोखिम कम हुन्छ भने, कतिपय अवस्थामा त्यसलाई घटाउनै सकिँदैन । त्यसका लागि हामीले दैनिक जीवनमा गर्ने क्रियाकलापमा परिवर्तन गर्नुपर्यो । त्यसलाई हामी अनुकुलन भन्छौँ । जस्तै हिजो धान फल्ने ठाउँमा पानी छैन भने त्यहाँ अब कोदो रोप्ने हो कि, मकै रोप्ने अथवा हिजो हामीले गर्दै आएका क्रियाकलापमा परिवर्तन गर्ने हो कि । नयाँ परिवर्तित समयमा आफूलाई अनुकुलमा लिएर जाने हो कि । आफूलाई पनि परिमार्जन गर्न सकिन्छ ।

त्यसरी अनुकुलन र न्युनिकरणका प्रयास हामीले गर्नुपर्ने देखिन्छ । मौसम विभागले पहिलेको तुलनामा प्रभावकारी रुपमा मौसमको पूर्वानुमान गरेको छ । हो त्यसलाई स्थानीय रुपमा लिएर जानुपर्यो । र योसँगै सम्बन्धित अन्तर्राष्ट्रिय ज्ञानहरु, योसँग जानकार, विज्ञसँग सहकार्य गरेर सरकारले नीति नियम बनाउनुपर्यो । त्यो नीति नियमको आधारमा राज्यका सम्पूर्ण निकायलाई चनाखो, तत्पर र सतर्क बनाएर काम गर्न सके विपद् जोखिम न्यूनिकरण गर्न सकिन्छ ।

सिफारिस