टासी ल्हान्जोममाथिको आरोपप्रति आदीवासी महिला अधिकारकर्मीद्वारा घोर आपत्ति

दियोपोस्ट संवाददाता

काठमाण्डौँ । जेन-जी युवाहरुको प्रतिनिधित्व गर्दै वर्तमान अन्तरिम सरकारमा मन्त्री बनाउन लागिएको भनि चर्चा पाएकी हुम्ला नाम्खाकी २५ वर्षीय जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमार्फत बदनाम र तथ्यहीन आक्रमण भएको भन्दै आदिवासी जनजाति र महिला अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्।

महिला अधिकारकर्मीले आइतबार एक विज्ञप्ती जारी गर्दै ल्हान्जोममाथि लगाइएका आरोपहरू पूर्णरूपमा निराधार र कपोलकल्पित रहेको स्पष्ट पारेका छन् ।

ल्हान्जोममाथि हाल फैलाइएका ‘विदेशी शक्तिद्वारा परिचालित’, ‘नागरिकता नलिएका’, ‘हेर्दै नेपालीजस्ता नदेखिने’ जस्ता आरोपहरूप्रति आदिवासी महिलाहरुले गंभिर आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यी आरोपहरू तथ्यमा आधारित छैनन् र यसले आदिवासी समुदायविरुद्धको गहिरो पूर्वाग्रह झल्काउँछ।’

विज्ञप्तिमा उल्लेख भएअनुसार, टासी ल्हान्जोम इन्डिजिनियस जेन जी कलेक्टिभ्सकी सदस्यका रूपमा जेन जी आन्दोलनपश्चातको राजनीतिक प्रक्रियामा सक्रिय रूपमा संलग्न छिन्। सो आन्दोलनले बेथिति, भ्रष्टाचार र कुशासनविरुद्ध मात्र नभई विविधता, समानता र समावेशी लोकतन्त्रका पक्षमा आवाज उठाएको बताइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा आदिवासी समुदायहरू शताब्दीयौंदेखि राज्यबाट योजनाबद्ध रूपमा बहिष्कृत हुँदै आएका छन्। गैरखस भाषा, संस्कृति र भौगोलिक पहिचानकै आधारमा उनीहरूलाई दोहोरो, तेहेरो विभेदको मारमा पारिएको छ।’

संविधानको धारा (१८) र (४२) ले समानता र समावेशीकरण सुनिश्चित गरे पनि व्यवहारमा राज्यका संरचनाले अझै ती अधिकारलाई बेवास्ता गरिरहेको विज्ञप्तिमा उल्लेख छ। टासीमाथिको आक्रमण ‘संविधानको घोर उल्लंघन’ र ‘ऐतिहासिक संरचनागत अन्यायको निरन्तरता’का रूपमा चित्रण गरेको छ।

विज्ञप्तिमा नेपाल सरकार र राज्यका सबै निकायहरूलाई आदिवासी समुदाय र आदिवासी महिलाहरूलाई पूर्ण अधिकारसम्पन्न नागरिकको रूपमा व्यवहार गर्न माग गरेको छ। साथै, उनीहरूका हकहितमा बनेका नीति–कानूनलाई व्यवहारमा कार्यान्वयन गर्न र विभेद गर्ने व्यक्तिहरूलाई दण्डित गर्न आग्रह गरिएको छ।

वडा कार्यालय सिफारिस र नागरिकताको प्रमाण पत्रमा समेत उनी नेपालकै भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

ल्हान्जोम २०५६ साल असोज २९ गते नाम्खा गाउँपालिका–६ सिमिमा जन्मिएकी र हालसम्म त्यहीँ स्थायी रूपमा बसोबास गर्दै आएकी उल्लेख छ।  बिभिन्न मिडिया र सामाजिक संजालमार्फत उनी तिब्बती मुलकी नागरिक भएको भन्दै बिरोध गरिएको थियो ।

 

 

सम्बन्धित खबर