‘टिओबी’ टिसर्टसहित भाइरल भएका टेन्जिङ दावा लामा भन्छन्,‘फ्रि तिब्बत हुन सक्दैन’

दियोपोस्ट संवाददाता  

काठमाडौँ । हालै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा ‘टिओबी’ लेखेको कालो ज्याकेट र कालो मुकुटसहित देखिएका व्यक्ति टेन्जिङ दावा लामा भएको पुष्टि भएको छ । उनले आफुले लगाएको ज्याकेटमा अंकित ‘टिओबी’को अर्थ ‘फ्री तिब्बत’ अभियानसंग सम्वन्धित नभएको दावी गरेका छन् ।

उनले एक मिडिया दिएको अन्तर्वाताका क्रममा ‘टिओबी’को अर्थ ‘टिपन तामाङ ओरिजिन ब्रोदरहुड’ नामक ‘बाइकर्स’ समूह रहेको प्रष्ट पारेका छन् ।
लामाका अनुसार ‘टिओबी’ समूह आफुसहित केही साथीहरू मिलेर गठन गरिएको सामाजिक र सांस्कृतिक समूह हो । ‘टिओबी’ समुहको कुनै राजनीतिक वा विदेशी संगठनसँग सम्बन्ध नरहेको उनले प्रष्ट पारेका छन् ।

उनले आफू काठमाडौंको बौद्ध क्षेत्रको स्थायी बासिन्दा भएको र चार पुस्तादेखि नेपालमै बसोबास गर्दै आएको भन्दै तिब्बतसंग आफ्नो कुनै सरोकार नभएको बताएका छन् ।

सो क्रममा लामाले नेपालको नागरिकता, जन्मदर्ता तथा शैक्षिक प्रमाणपत्र लगायत सबै कागजातहरू आफूले प्रस्तुत गर्न आफु तयार रहेको बताएका छन् ।

आन्दोलनको खिचिएको उक्त भिडियो सार्वजनिक भएपछि केही समूहहरूले उनलाई ‘फ्री तिब्बत’ अभियानसँग जोडेर आरोप लगाएका थिए । तर लामाले ती आरोपहरू पूर्ण रूपमा असत्य र आधारहिन भएको दाबी गर्दै आफूहरूले शान्तिपूर्ण रूपमा प्रदर्शनमा सहभागिता जनाएको मात्र बताएका छन् ।

उनको भनाइ अनुसार आफ्नो समूहमाथि लगाइएको ‘देशद्रोही’को आरोप निराधार र अन्यायपूर्ण भएको भन्दै प्रमाणसहित स्वेच्छिक रूपमा प्रहरीसँग सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

सो अन्तर्वाताका क्रममा उनले आफुमाथि गलत आरोप लगाइएको र प्रमाणका आधारमा मात्र आरोप लगाउन चुनौति दिएका छन् ।

मिडिया र सामाजिक संजालमार्फत आफ्नो चरित्र हत्या भएको भन्दै उनले बाँच्न नसकिने अवस्थामा पुगेको बताएका छन् । उनले भनेका छन्, ‘सात दिन सम्म भोकै बसे पनि बाँच्न सकिन्छ । तर चरित्र हत्या भए पछि बाँच्न पनि नसकिने रहेछ ।’

सामाजिक संजालमा भाइरल बनेको उक्त फोटो र भिडियोका कारण आफ्नोे इज्जतमा दाग लागेको उनले बताए । ‘मेरो इज्जतमा दाग लागेको छ । घर परिवार र छिमेकीले घृणा गरेका छन् । दिदी बहिनीहरु सबैले धिक्कारिरहेका छन् । टोल टोलका मान्छे आएर मलाई देशद्रोही भनेका छन् । थुकिरहेका छन्, उनले भनेका छन्, ‘मैले हार मानिसकेँ । खाना पनि खाको छैन । यस्तो अवस्थामा म कसरी बाँच्नु ?’

इज्जत सबैका लागि प्यारो हुने भन्दै लामाले झुण्डिएर मर्न बाध्य भएको बताए । उनले भने, ‘मैले देशका बिरुद्धका के गरे?यदी मैले गल्ती गरेको प्रमाण ल्याउनु हुन्छ भने मलाई टुडिखेलमा लगेर झुण्ड्याए पनि हुन्छ । म देशद्रोही रहेछु भने मलाई फाँसीको सजाय दिनसक्नु हुन्छ ।’

अन्तर्वाताका क्रममा उनले आफु देश भक्त नेपाली रहेको र सधै नेपालकै हितमा काम गरेको समेत प्रष्ट पारेका छन् ।