रिलिज हुनुभन्दा करिब १५ दिन अगाडि चलचित्र ‘छक्का पन्जा ३’का निर्माता दिपकराज गिरीलाई अर्का निर्माता अशोक शर्मासँग राजनीति गरेर नै फुर्सद मिलेन । अशोकले आफू निर्देशित चलचित्र ‘जय भोले’लाई ‘छक्का पन्जा ३’सँगै जुधाउने अड्डी लिएपछि दिपकलाई यो भिडन्त नजुधाउन फलामको चिउरा चपाए जस्तै भयो । र अन्त्यमा उनी सफल पनि भए ।
राजनीति सकिएपछि चलचित्रको प्रचारमा दौडिएको यसको टिम अहिले दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपासम्म चलचित्रको प्रचार आक्रामक तरिकाले यसका कलाकारले गरिरहेका छन् । तर, यो भीडमा नायिका दीपिका प्रसाई भने देखिएकी छैनन् ।
नायिका दीपिका प्रसाई चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रम बाहेक अन्त कतै पनि देखिएकी छिन् । निर्देशक दीपाश्री निरौला, कलाकारद्धय जितु नेपाल र केदार घिमिरे, गायिका एन्जिला रेग्मीले माहोल तताउँदा दर्शकले नायिकाको खोजी पनि गरिरहेका छन् । तर, नायिकाले भने आफ्नो उपस्थिती जनाउन आवश्यक ठानेकी छैनन् । वुझिएअनुसार, नायिकासँग चलचित्रको टिमको सम्बन्ध चिसिएको छ ।
चलचित्रकी एक्ली नायिका भएकाले पनि दीपिकाको डिमाण्ड प्रचारमा हुनु स्वभाविक हो । तर, दीपिकाले भने चलचित्र छायांकन सकिएपछि अन्तिम अवस्थामा किन ‘छक्का पन्जा ३’लाई वेवास्ता गरेकी हुन्, वुझ्न गाह्रो छ । यो चलचित्र असोज २४ गते घटस्थापनाको दिनबाट रिलिज हुँदैछ ।