माधव सापकोटा ‘सुवोध’
केन्द्रीय सदस्य नेकपा
तपाईँ माओवादी पार्टीमा कहिलेदेखि लाग्नु भयो ?
म १४ वर्षको थिएँ । २०५२ साल माघ १८ गते सिन्धुपाल्चोक जिल्लाको कुबिन्नेको घटनामा मलाई मुद्दा लाग्यो । १८ वर्षको नभइकन मुद्दा लगाउन नपाइने भएकाले मलाई राजनीतिक मुद्धा लगाइएन । २०५५ सालमा एस.एल.सीको तयारी गर्ने बेलामा सिन्धुपाल्चोक जिल्लामा अखिल क्रान्तिकारीको उपाध्यक्ष थिएँ । प्रहरीले पक्राउ गर्न आयो र म त्यहाँबाट भागेर हिँडे । अनि भूमिगत भएँ । २०५५ सालदेखि पूर्णकालीन कार्यकर्ताकै रूपमा लागेँ ।
२०५४÷२०५५ सम्म नै त्यस्तो भयो । त्यति बेला पार्टीको योजनामा पूर्वी कमान्डको कुरियरको माधयमबाट पार्टीको खबरहरु आदानप्रदान गर्ने काम गर्थेँ । २०५४ मा म विद्यार्थीको जिल्ला उपाध्यक्ष भएँ र टार्गेटमा परेँ ।
बाल्यकालमा साच्चै राजनीति बुझेरै माओवादी आन्दोलनमा लाग्नु भएको थियो त ?
राजनैतिक परिवारमा हुर्कें । राजनीतिमै प्रवेश गरेँ । म बाल्यकालमै हुँदा अग्नी सापकोटा अंकल पार्टीको उच्च ओहोदा थिए । सानैदेखि कम्युनिष्ट हुनुपर्छ भन्ने धारणा थियो । राजनीतिमा लागेपछि चेतनाको विस्तार भयो ।
भूमिगत जीवन र खुल्ला परिवेशबीच कस्तो भिन्नता पाउनु भयो ?
सुरुवातका दिनहरूमा फर्कंदा फरक अनुभुति हुन्छ । त्यसबेला एउटा छुट्टै पृष्ठभूमि र परिवेश थियो । पूर्णकालीन भूमिगत भएर हिँडेँ । भूमिगत जीवनकालमा जतिबेला पनि प्रशासनको टर्चर जोखिम मोलेर काम गर्नुपर्ने, पार्टीले दिएको जिम्मेवारी पनि पूरा नगरी हुँदैनथ्यो । हामी सैनिक अखडाहरूमै पुगेर घुमेर, डुलेर काम गर्नुपर्दथ्यो । चिठिपत्र, त्यतिबेलाका अवैधानिक सामानहरु ओसारपोसार गर्थेँ । त्यो जीवन निकै कष्टपूर्ण थियो । ती दिनहरु सम्झँदा कहाली लाग्छ तर गौरव गर्न लायक पनि छन् ।
तपाईंले युद्धमा आफन्त र परिवार गुमाउनु भयो, ती दिनलाई कसरी स्मरण गर्नुहुन्छ ?
मेरो घरबाट ३ जना सहिद हुनुहुन्छ । सापकोटा कूलबाट ९ र हाम्रो सिंगै गाउँबाट १९ जनाले शहादत प्राप्त गर्नुभएको छ । एउटा कोणबाट हेर्दा बढो पीडादायक, बर्बर, बिभत्स र क्रुर जस्ता लाग्छ । जो हामीले भोगेर आयौँ । त्यो बलिदानीप्रति मलाई गौरव लाग्छ । मलाई राजनीतिक सिकाउने गुरु पनि सहिद नै हुनुभयो । एउटै थालमा खाना खाएर सँगै हुर्के बढेका र सँगै पढेका सँगैका सहयात्रीहरु गुमाउनुपरेको थियो । त्यो सम्झिँदा त मन बुझाउन निकै मुस्किल छ । तर राजनीतिक परिवर्तनको कोणबाट हेर्दा वास्तवमा त्यो युगको माग र आवश्यकता थियो । हामीले त्यो बलिदानको कोटा चुक्ता गरेर आयौँ ।
शैनिक हिरासतको दिनहरु कस्ता थिए ?
मलाई सेना र प्रहरीले ३ पटक पक्राउ गरे । हिरासतमा चरम यातना भोग्नु पर्यो । तर मेरो उमेर नपुगेको हुँदा मलाई जेल हाल्न सकेनन् । जेलमा लामो समय राखेनन् । तर ३ पटक चाहिँ प्रहरीले हिरासतमा राख्यो, पटकपटक टर्चर, दिने मानसिक तथा शारीरिक यातना दियो । ती दिन सम्झिँदा कथा जस्तै लाग्छ । २ वटा उद्देश्यका साथ हामीलाई प्रहरीको हिरासतमा राखिएको थियो । एउटा त माओवादी पार्टी भित्रका गोपनीयतालाई कति भङ्ग गराउन सकिन्छ र अर्को माओवादीप्रति कसरी विकर्षण पैदा गराउन सकिन्छ भन्ने थियो । ती दिनहरु कहाली लाग्दा थिए । नांगो खुट्टामा करेन्ट लगाउने, हिटरमा पीसाव फेर्न लगाउने, मरणासन्न हुनेगरि पिटाइ खानु पर्थ्यो । अहिले हामी बेलाबखत जनयुद्धका फिल्म हेर्छौँ । वास्तवमा त्यतिबेलाको हाम्रो जीवन कुनै फिल्मभन्दा कम थिएन ।
राजनीतिले तपाईंलाई के दियो ?
भूमिगत हुँदा पनि मैले विद्यार्थी राजनीतिमा संलग्न भएर विद्यार्थी संगठनको केन्द्रीय सचीवालय सदस्यसम्मको जिम्मेवारी पूरा गरेँ । पछि म सेनामा पनि काम गरेँ । सेनामा काम गर्दाखेरि कमिसारसम्मको जिम्मेवारीमा पुगेँ । युद्धमा पनि गएँ । साँखु, थानकोटको घटनामा कमिसारकै भूमिका निर्वाह गरेँ । बन्दीपुर, चौतारा आदि ठाउँको दर्जनौँ लडाइँमा जनमुक्ति सेनाको कमिसारको भूमिका निर्वाह गरेँ । पार्टीमा हुँदा २०५४ सालमा म सेलको सेक्रेटरी थिएँ । सेलको सेक्रेटरी हुँदै पार्टीको विभिन्न भूमिकामा काम गरेँ । सिन्धुपाल्चोकमा तीन पटक कार्यकारी जिम्मेवारीमा गएँ । दुई पटक सचिव भएँ । पछिल्लो चरणमा पार्टीभित्र निर्वाचनमा नै भाग लिएर जितेरै जिल्ला पार्टीको अध्यक्ष पनि भएँ । त्यसपछि तत्कालीन नेकपा माओवादीको पोलिटब्युरोको केन्द्रीय सदस्य हुँदै अहिले नेकपाको केन्द्रीय सदस्यको रुपमा छु । आफ्नो जीवनलाई राजनीतिक तवरले समाजसेवामै होमेको छु ।
तत्कालीन नेकपा एमालेलाई माओवादीले कम्युनिष्ट पार्टी नै होइन भन्ने गथ्र्यो । त्यतीबेला माओवादीले एमालेको अस्तित्व स्वीकार गर्नै मान्दैनथ्यो । तर कालान्तरमा उही एमाले पार्टीसँग पार्टी एकता गर्नु भएको छ । पार्टीभित्र सहकार्य गर्न कत्तिको चुनौति छ यतिबेला ?
राजनीति भनेकै एउटा विशिष्ट कुरा रहेछ । यसको सिधा रेखामा परिभाषा खोज्न थाल्यो भने हामी अलमल हुन्छौँ र हामी हराउँछौँ । अहिले जे जति राजनीतिमा उथलपुथल भएका छन्, यो समयको माग र अवश्यकता पनि हो । हामी एकिकृत र केन्द्रिकृत सामान्ती राज्य व्यवस्थाका विरुद्ध संघर्ष गर्ने दौरानमा तत्कालीन नेकपा एमालेले अघि सारेको दृष्टिकोण भनेको शान्तिपूर्ण तरिकाले सामान्तवादी राज्यव्यवस्थालाई अन्त्य गर्न सकिन्छ भन्ने बुझाइ थियो । तर तत्कालीन नेकपा माओवादीले बन्दुकको आडमा टिकेको सामन्ती राज्यव्यवस्थालाई बल प्रयोगको आधारमा मात्रै ढाल्न सकिन्छ भन्ने सिद्धान्त बनाएको थियो ।
यसरी हेर्दा, दुई पार्टीका बीचमा आधारभूत रुपमै भिन्नता थियो । अहिले हामी त्यो अन्र्तविरोधबाट माथि आइसकेका छौँ र एकिकृत राज्यव्यवस्था खोसेर संघात्मक व्यवस्थामा गएका छौँ र यसको मूल अन्र्तविरोध भनेको हिजो सामन्तवादका बिरुद्ध लड्नु थियो । आज, गरिबीका बिरुद्ध लड्नु छ । अर्थात, हिजो हामीलाई शासन व्यवस्था फेर्नु थियो । आज भने गरिबको अवस्थामा परिवर्तन गर्नुछ । यसको मतलव आज हामीलाई समृद्धि चाहिएको छ । यो नेकपा एमाले र हाम्रो साझा ठहर हो । माओवादी र एमालेको मिलनबिन्दु र एकताको आधार समृद्धि हो । क्रान्ति गर्नुुपर्छ भन्ने कुरा तत्कालीन माले हुँदै
एमालेसम्मको मुख्य कुरा थियो । तर उहाँहरुले क्रान्तिको बाटो शान्तिपूर्ण अवलम्वन गर्नु भयो । हामीले क्रान्तिको बाटो सशस्त्र अबलम्वन गर्यौँ, त्यहाँ भिन्नता थियो, पार्टी फरक थियो । आज गरिब जनतालाई धनी बनाउनु पर्दछ, समृद्धि ल्याउनु पर्दछ भन्ने कुरामा दुबैको समान विश्लेषण, दृष्टिकोण र धारणा बन्दै गयो ।
समृद्धिका लागि यो एकता समयको आवश्यकता थियो । यो समयको अवश्यकतालाई दुबै पार्टीका दुई अध्यक्षले जुन जोखिम लिएर यो महान कार्यलाई सम्पन्न गर्नुभएको छ, यसका लागि दुई अध्यक्षप्रति सम्मान प्रकट गर्दै गौरव अनुभुत गरेको छु ।
तात्कालीन एकिकृत माओवादी भित्रको एउटा तप्का एमालेसँग पार्टी एकताको पक्षमा थिएन । बरु प्रचण्डले फुटेर गएका माओवादीहरु, बैद्य, बाबुराम र बिप्लवलाई पार्टीमा फर्काउन सक्नु पथ्र्याे भन्ने पनि गुनासो आएका थिए । आफ्नै सहयोद्धासँंग एकता नगरेर एमालेसँग पार्टी एकता गर्नु कत्तिको जायज थियो त ?
यो केही हदसम्म ठिकै पनि हो । क्रान्तिमा परम्परागत सोचाइ नेपाली कम्युनिष्ट आन्दोलनमा हिजो पनि थियो, आज पनि छ र यो भोलि पनि रहन्छ ।
निरन्तरतामा सोच्ने दृष्टिकोण र प्रवृत्ति क्रान्तिमा र आन्दोलनमा हुन्छ । त्यसकै अभिव्यक्ति हो यो । कमरेड प्रचण्डको कुरा के हो भने, निरन्तरतालाई क्रमभंगतामा सोच्ने दृष्टिकोण हो । चाहे जनयुद्ध सुरु गर्नु अगाडि जनयुद्धको तयारी गर्ने कुरा होस्, जनयुद्ध सुरु भइसकेपछिको कुरा होस् या जनयुद्ध उत्कर्षमा पुगेको बेलामा र शान्ति प्रकृयामा आएदेखि यहाँसम्मका घटनाक्रमलाई हामीले हेर्याँै भने, कमरेड प्रचण्डको क्रन्तिलाई नेतृत्व गर्ने सम्वन्धमा निरन्तरतामा क्रमभंग गरेर चामत्कारिक ढंगले अगाडि जाने विशेषता छ । यो नेपाली कम्युनिष्ट आन्दोलनमा हासिल गर्न सकेको एउटा महत्वपूर्ण पक्ष हो । यसलाई पनि हामीले त्यसरी हेर्नु पर्दछ । कमरेड प्रचण्डले निरन्तरतालाई क्रमभंगको कोणबाट हेरेर यो जोखिम उठाउनु भएको छ ।
बिप्लव बैद्य र बाबुराम कमरेडहरु पनि यो कम्युनिष्ट केन्द्रमा आउनु पर्दछ । त्यसका लागि अध्यक्ष प्रचण्ड हिजो पनि प्रयत्न गर्नु भएकै थियो र अहिले पनि प्रयत्न जारी राख्नभएको छ । तर हिजोको टुटेफुटेको माआवादीलाई मात्र एकताबद्ध गरेर मात्र आजको कार्यभार पूरा गर्न चाहिँ असम्भव त होइन, अलि बढी जटिलताहरू र चुनौतिहरू थिए । मुलुकका दुईवटा खासगरि शान्पिूर्ण तरिकाबाट आएको एमाले र शसश्त्र संघर्षबाट आएको माओवादी पार्टी दुई मुलधारका कम्युनिष्ट पार्टी र एउटै किसिमको कम्युनिष्ट बनाएर आजको कार्यभार पूरा गर्नका लागि चुनौतिहरु सहज हुन सक्छन् भन्ने विश्लेषण प्रति म स्पस्ट छु ।
राजनीतिक विश्लेषकको भनाईअनुसार माओवादी र एमालेको एकता क्षणिकमात्र हो भन्ने पनि छ । के साँच्चिकै नेकपा विभाजनको दिशातिर अगाडि बढेको हो ?
विभिन्न प्रवृति, दृष्टिकोण र विचार आ–आफ्नै हुन सक्लान् तर बाबुराम, बैद्य र विप्लव प्रचण्डको असक्षमताका कारण जानु भएको होइन । त्यो त नियमै हो । अगाडि बढ्दै जाँदाखेरि कैयौँ ध्रुवहरु, कैयौँ विचारहरु र मतभेदहरु पनि आउँछन् । माओवादी फुट्नुमा प्रचण्डको कमजोरी या असक्षमता भन्नै मिल्दैन ।
त्यो त नियमसंगत जस्तै थियो जस्तो लाग्छ । नेपाली कम्युनिष्ट आन्दोलन २००६ सालदेखि हामीले हेर्यौँ भने, २००६ देखि २०२२ सालसम्मको एउटा अध्याय छ । २२ सालदेखि आजसम्मको कम्युनिष्ट इतिहास गुटफुट र टुटफुटमै अल्झिएको छ । कम्युनिष्टहरु फुट्नमात्रै च्याम्पियन छन्, जुट्न जान्दैनन् भन्ने एउटा मनोविज्ञानले काम गरेको छ र त्यो कोणबाट हेर्दाखेरि यो विश्लेषण आउनु स्वभाविकै हो । तर मलाई के लाग्दैन भने, जुन जोखिम, हिम्मत र आँटका साथ यो एकता भएको छ, त्यो त्यति सजिलै विभाजन हुनका लागि भएको होइन । भलै, यसमा कोही व्यक्ति निराश भएर निश्क्रीय होलान् त्यो अलग्गै कुरा हो । तर एउटा ढंगले एउटा ठूलै धारै बनाएर विभाजन हुने छुट कसैलाई पनि छैन । किनभने, एउटैमात्रै मिसन छ समृद्धि, राष्ट्रलाई एकताबद्ध तुल्याएर समृद्धिको बाटोतर्फ अगाडि बढ्ने । यहाँ केही मतभेद, फरक विचार र बहसहरु आउन सक्लान् तर भित्रैबाटै त्यसको समाधान खोजिनु पर्छ । मान्छेहरुले सजिलै विश्लेषण गरेको जस्तो पार्टी विभाजन भइहाल्ने, फुटीहाल्ने स्थिति चाहिँ छैन ।
वर्तमान सरकारका काम कारवाहीका कुरा गरौँ, कर, मूल्य वृद्धि जस्ता कुराले जनता सरकारप्रति खासै सन्तुष्ट छैनन् । सरकार जनमुखी भएन भन्ने आरोप पनि छ । के साँच्चिकै सरकार जनमुखी नभएकै हो त ?
बाहिरी रुपमा हेर्दा जनताले अपेक्षा गरे जसरी सरकारले कामको पिकअप लिन सकेको छैन कि भन्ने आशंका गर्ने ठाँउ देखियो । तर सरकारले केही पनि गरेको छैन र केही पनि हुँदैन भन्ने चाँही होइन । जनताको अपेक्षा ठूलो छ । सरकारका लिमिटेसन भए । किनभने, पुरानै निरन्तरतामा सोच्ने ब्युरोक्रेसी, पुरानै सरकारी संयन्त्र यसले पनि काफी हदसम्म काम गरेको छ र बजेट भाषण आउँदाखेरि जुन राजनीतिक डिजाइनअनुसार एक किसिमको तरंग ल्याउने गरि बजेट ल्याउनु पथ्र्यो त्यसो हुन सकेन । बजेटकै कारण केही मान्छेहरुमा निराशा छाएको पक्कै हो । तर पछिल्लो चरण त्यो कुरा सरकार र पार्टीको नेतृत्वले समीक्षा गरेर यसको कसरी उपाय खोज्न सकिन्छ भन्ने हिसावले सरकार अगाडि बढ्न खोजेको छ र पछिल्ला दिनका काम कावाहीलाई हेर्ने हो भने, सरकार त्यो कुरालाई सुधार गरेर नयाँ ट्र्याकमा हिँड्न खोजेको हामी देख्न सक्छौँ । देशलाई ट्र्याकमा ल्याउन खोज्नु नै मुस्किल परिरहेको छ यतीबेला ।
यो कमजोर प्रकृतिको सरकार होइन, यो त दुईतिहाई बहुमतको भारी जनमतद्वारा जननिर्वाचित सरकार हो । यो स्थायी र दीर्घकालीन प्रकारको र एउटा कार्यकाल पूरै नेतृत्व गर्ने प्रकृतिको सरकार भएको हुनाले हतारिएर लोकप्रिय खालका काम गर्नु भन्दा पनि समृद्धिको दिगो आधार बसाल्ने हो । हामीले तुरुन्तै धेरै कार्य गर्न नसक पनि कमसेकम आर्थिक क्रान्ति र समृद्धिको आधार बसाल्ने भुमिका खेल्ने हो । त्यसो भएको हुनाले दीर्घकालीन कामहरुमा ध्यान दिँदा तात्कालीन लोकप्रिय कामहरु नदेखिन पनि सक्छन् । मलाई के आशा छ भने, पार्टीले गठबन्धन बनाएर चुनाव लड्दाखेरि घोषणापत्रमा जे प्रतिबद्धता गरिएको थियो, त्यो प्रतिबद्धताका साथ सरकार अगाडि जाने छ । आफ्नो कार्यकालको अन्त्यसम्म पुग्दाखेरि वास्तवमा कम्युनिष्ट व्यवस्था के रहेछ भन्ने कुरा प्रत्यक्ष अनुभुत हुने गरिकन हाम्रो पर्टीको नेतृत्वको सरकारले त्यो परिणाम दिन सक्नुपर्छ ।
स्थानीय निकायको प्रसंग जोडौँ, तपार्इँ तत्कालीन माओवादी नेतृत्वमा बनेको सरकारमा संघीय मामिला तथा स्थनीय विकास मन्त्री हितराज पाण्डेको राजनीतिक सल्लाहकारको रुपमा पनि केही समय काम गर्नु भयो । त्यसबेला तपाईँको भुमिका कस्तो रह्यो ?
स्थानीय तहको पूर्नसंरचना गर्ने र सरकार र आयोगका बीचमा समन्वय गरेर सरकारका कुराहरु अयोगसम्म जोड्ने र आयोग र सरकारको बीचमा मध्यस्थता गर्ने र स्थानीय तहको निर्वाचन भएपछि जन प्रतिनिधिहरुको चाहिँ तालिम लगाएतका चिजहरुको कोर्ष वा करिकुलम कसरि बनाउने भन्ने काम त्यो दुईटा काम पूरा गर्ने मैले एउटा सौभाग्य प्राप्त गरें ।
तत्कालीन सरकार र तत्कालीन मन्त्री हितराज पाण्डेप्रति म आभारी छु, किनभने संघीयताका लागि लड्ने एउटा अवसर पनि पाएँ र औपचारिक रुपमा संघीघतामा देशलाई ढाल्ने ठूलो परिघटना थियो त्यसैले रातरातसम्म खटियो र मलाई ताजा स्मरण पनि छ त्यो स्थानीय तहको पुनरसंंरचनाको प्रतिवेदन सरकारले पास गरिसकेपछि रातको तीन बजेसम्म हामी बसेर राजपत्रमा प्रकासित गर्न खटेका थियौँ त्यतिबेला खाना नै नखाई काम गर्नुु परेको थियो । संघीयताका लागि लड्ने अवसर र संघीयताको संरचना निर्माण गर्ने नीति निर्माणको तहमा बसेर काम गर्ने अवसर पनि प्राप्त पनि भयो । त्यसैले मलाई के लाग्छ भने, संघीयता निर्माणमा एउटा महत्वपूर्ण योगदान गर्ने अवसर प्राप्त गरेँ । संघीताका संसारभरका मोडलहरु मध्ये हाम्रो भिन्न प्रकृतिको संघीयता थियो । संसारमा निरपेक्ष भन्ने कुरा हुँदैन ।
सबै कुरा सापेक्ष हुन्छन् । जनक्रान्तिको म्यान्डेटलाई आत्मसाथ गरी हामी संघीयताको निर्माण गर्याँै । २००६ सालदेखि नेपाली जनताले गरेको संर्घषको परिणामस्वरुप हामी संघीयतामा गएका छौँ । यो संघीयता भलै कति राम्रो बनाउने भन्ने अहिलेका जनप्रतिनिधिहरुको भुमिकामा भर पर्छ । उनीहरु कति जनउत्तरदायी, रचनात्मक र सिर्जनात्मक हुन सक्छन्, यसको परिणाममा भर पर्छ ।