यस वर्ष आर्थिक वृद्धि उत्साहजनक हुन्छ: विश्वबैंक

दियो पोस्ट  

काठमाडौं, असोज २३ । चालू आर्थिक वर्ष ०७५/७६ मा आर्थिक वृद्धि उत्साहजनक हुने प्रक्षेपण विश्वबैंकले गरेको छ । आइतबार साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिको उत्साहजनक तस्बिर बाहिर ल्याएको हो ।

यसअघि गत जुनको वल्र्ड इकोनोमिक प्रोस्पेक्टसमा यस आव (२०१९)मा साढे ४ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेकोमा चार महिनापछि विश्वबैंकले त्यसलाई १ दशमलव ४ प्रतिशत बिन्दुले बढाएको हो । नेपाल सरकारले चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

त्यस्तै, सन् २०२० मा पनि आर्थिक वृद्धि उत्साहजनक हुने प्रक्षेपण विश्वबैंकले गरेको छ । सो आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने उसको प्रक्षेपण छ । गत जुनमा भने ४ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने अनुमान उसले गरेको थियो ।

यसअघि एसियाली विकास बैंकले पनि आव ०७५/७६ मा आर्थिक वृद्धि ५ दशमलव ९ प्रतिशत नै हुने प्रक्षेपण गरेको थियो । विश्वबैंक, एसियाली विकास बैंकलगायतले नेपालका विभिन्न निकायबाट लिएको तथ्यांकका आधारमा आर्थिक वृद्धिको प्रक्षेपण गर्दै आएका छन् ।

‘नेपालमा भइरहेका आर्थिक क्रियाकलापले आगामी ३ वर्ष (मध्यकालीन समयमा) आर्थिक वृद्धि औसत ६ प्रतिशत हुने देखिएको छ,’ विश्वबैंकले भनेको छ । तर, नेपाल अहिले संघीयताको कार्यान्वयनका क्रममा रहेकाले त्यसले पूर्वाधार र सेवा प्रवाह प्रभावित बन्न सक्ने र आर्थिक वृद्धिलाई चुनौतीपूर्ण बनाउन सक्नेतर्फ पनि विश्वबैंकले सचेत बनाएको छ ।

बजेट खर्च नहुनु नेपालको समस्या

नेपालमा बजेट खर्चको दर न्यून हुनु समस्याका रुपमा रहेको विश्वबैंकको ठहर छ । ‘सन् २०१६/१७ मा चालू खर्च विनियोजनको तुलनामा १६ प्रतिशत कम भएको थियो भने पूँजीगत खर्च ३३ प्रतिशत,’ विश्वबैंकले भनेको छ, ‘संघीय सरकारकै बजेट खर्च गर्ने क्षमता यति कमजोर रहेको सन्दर्भमा तल्ला तहको विकास झनै कमजोर हुनसक्छ ।’ त्यसले आर्थिक वृद्धि खुम्च्याउन सक्ने आँकलन विश्व बैंकले गरेको छ ।

दक्षिण एसियामा संसारमै उच्च वृद्धि

दक्षिण एशियाको क्षेत्रको आर्थिक वृद्धि भने यस आर्थिक वर्षमा ६ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण पनि विश्वबैंकले गरेको छ । आगामी वर्ष यस्तो आर्थिक वृद्धि ७ दशमलव १ प्रतिशत हुने पनि विश्वबैंकको प्रक्षेपण छ । दक्षिण एशिया निरन्तर संसारकै सबैभन्दा उच्च आर्थिक वृद्धि हुने क्षेत्र रहिरहने प्रक्षेपण विश्वबैंकको छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

सिफारिस