चाडबाडमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि : महँगीको मारमा उपभोक्ता

दियो पोस्ट  

काठमाडौं, असोज २५ । चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ । व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन् । यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ । भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ । हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ । सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ ।

थोक व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेका हुन् । चाडपर्वको मुखमै मूल्यवृद्धि गरेर उनीहरूले मौकाको फाइदा उठाउन खोजेका छन् । तर व्यापारीले बाहिरबाट आयात गर्ने सामानमा डलरको विनिमय दर बढेकाले सामानको भाउ बढेको दाबी गरे । ढुवानी खर्च वृद्धि भएको, आन्तरिक उत्पादनमा कमी आएको र उत्पादन हुने मौसम सकिएकाले तरकारीजन्य वस्तुको मूल्य बढेको अर्का थरी व्यापारीको तर्क छ । महँगीको पहिलो असर भान्सामा परेको छ ।

भान्सामा साँझ बिहान पाक्ने हरियो तरकारीमा औसतमा १५ देखि २० प्रतिशत मूल्य बढाइएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार यो वर्ष अत्यधिक वर्षाका कारण राजधानीछेउका जिल्लामा उत्पादन कम भएको जनाएको छ । त्यही कारण बजारभाउ बढेको उसको दाबी छ ।

राजधानीमा खपत हुने कूल तरकारीमध्ये झण्डै ६० प्रतिशत धादिङ, काभ्रे, मकवानपुर र ललितपुरबाट आउने गर्छ । यो वर्ष ती जिल्लाबाट त्योभन्दा कम आपूर्ति भएको बताइएको छ । ‘माग बढी र आपूर्ति कम हुँदा स्वाभाविक रूपमा वस्तुको मूल्यवृद्धि हुन्छ,’ महासंघ अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘हरियो तरकारीमा त्यही भएको हो ।’ तरकारीमा प्रतिकिलो १० देखि १५ रूपैयाँ वृद्धि भएको छ ।

तरकारीमा आलु, परवल तथा लहरेबाली अन्तर्गत बोडी, सिमी, घिरौंला, करेला, लौंका, सिमी, भिण्डी, परवल तथा काउलीको मूल्य अकासिएको छ । आलु केही सिमित स्थानबाट मात्रै बजार भित्रिएको छ । पुराना आलु करिब सकिएको छ । आलु प्रतिकिलोमा १० रूपैयाँ मूल्य बढेको छ । ‘भारत, भुटान र बंगलादेशमै अहिले आलुको मूल्य अचाक्ली वृद्धि भएको छ,’ घिमिरेले भने, ‘आयात गर्दा डलरमा कारोबार गर्नुपर्छ । डलरको विनिमय दर पनि अकासिँदै गएकाले मूल्यवृद्धि भएको हो ।’

चालु आर्थिक वर्षदेखि सरकारले कृषिजन्य वस्तुको आयात गर्दा भन्सार शुल्क पाँच प्रतिशत बढाएर १० प्रतिशत पु¥याएको छ । सरकारले सार्वजनिक सवारी भाडामा १० प्रतिशत वृद्धि गरेका कारण पनि ढुवानी खर्च बढेको व्यापारीको दाबी छ । थोकमा प्रतिकिलो ३५ रूपैयाँमा पाइने आलुको मूल्य ४५ पुगेको छ । गोलभेंडाको मूल्य पनि नपत्याउने गरी अकासिएको छ । गोलभेंडा ‘अफ सिजन’ भएकाले मागअनुसार आपूर्ति नभएको हो । अघिल्लो साता ४५ रूपैयाँमा पाइने गोलभेंडा ७५ रूपैयाँमा पुगेको छ ।

६० रूपैयाँ प्रतिकिलोको बोडी ८० पुगेको छ । ७० रूपैयाँको सिमी ९० मा पुगेको छ । लौका ३० रूपैयाँ पाइन्थ्यो, दोब्बर बढेर ६० भएको छ । घिरौला र भिन्डी, परवलको मूल्य बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले चाडपर्वको मुखमा आएर व्यापारीले मूल्य वृद्धि गरेको स्वीकार गरे । उनले केही व्यापारीले आफूखुशी मूल्य बढाएको र केहीले प्रक्रियागत कारणले बढाएको बताए ।

‘अस्वाभाविक मूल्यवृद्धि गर्न पाइँदैन,’ ढकालले भने, ‘निकै गुनासो आइरहेको छ । के कारणले वृद्धि भएको हो, विश्लेषण गरिरहेका छौं ।’ अचाक्ली मूल्यवृद्धिको अनुगमन गर्न मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागलाई परिचालन गरेको छ । मन्त्रालयले थोक र खुद्रा विक्रेताको मूल्य विवरण विश्लेषण गर्न थालेको उनको भनाइ छ ।

खाद्यान्नमा पनि वृद्धि

दैनिक खाद्यवस्तुमध्ये चामल, खानेतेल, मैदा, आटामा पनि बजारभाउ बढेको छ । चामल प्रतिबोरा ५० रूपैयाँ वृद्धि भएको छ । खाने तेलमा प्रतिलिटर १० रूपैयाँ बढेको छ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले थोक आयात गर्दा डलरको विनिमय दरको वृद्धिले खाद्यान्नको मूल्य बढाएको दाबी गरे । उनकाअनुसार सोयाबिन, तोरी र सनफ्लावर तेलको पनि मूल्य बढेको छ ।

एक सय ३० रूपैयाँ प्रतिलिटर पाइने सोयाबिन तेल एक सय ४० देखि एक सय ४५ पुगेको छ । एक सय ४० रूपैयाँ पर्ने तोरीको तेल एक सय ५० देखि एक सय ६० पुगेको छ । एक सय ३० को सनफ्लावर तेल एक सय ५० देखि एक सय ५५ रूपैयाँ पुगेको छ । प्रतिकिलो ४८ रूपैयाँमा बिक्री हुने मैदा ५५ पुगेको छ । मैदाको मूल्यवृद्धिले त्यसैबाट बन्ने बिस्कुट, पाउरोटी, केकजस्ता पदार्थको मूल्य पनि अस्वाभाविक बढेको छ । ४५ रूपैयाँको आटा ५० पुगेको छ ।

ड्राइ फ्रुटको मूल्यमा तीनसयसम्म वृद्धि

चाडपर्वमा धेरै रुचाइने ड्राइ फ्रुट्सको मूल्य पनि बढेको छ । अत्यधिक बजार लिएको काजु, पिस्ता, किसमिस, बदाम र सुख्खा नरिवल महँगिएको हो । यिनमा प्रतिकिलोमै तीन सय रूपैयाँसम्म भाउ बढेको छ । खुद्रा व्यापार संघ अध्यक्ष बज्राचार्यले यी वस्तु भारतलगायत तेस्रो मुलुकबाट आयात हुने भएकाले डलरभाउसँगै महँगिएको दाबी गरे ।

एक हजार तीन सय प्रतिकिलोमा पाइने काजुको मूल्य एक हजार ६ सय पुगेको छ । एक हजार चार सय बिक्री मूल्य रहेको पिस्ताको मूल्य एक हजार सात सय पुगेको छ । चार सय प्रतिकिलोमा पाइने किसमिसको बजारमूल्य ६ सय कायम भएको छ । एक हजार एक सय मूल्य रहेको बदामको मूल्य एक हजार तीन सयदेखि एक हजार चार सय भएको छ । सुख्खा नरिवलको मूल्य प्रतिकिलो चारसयबाट पाँच सय पुगेको छ ।

फलफुलमा पनि वृद्धि

चाडबाडमा धेरै बिक्री हुने र पूजापाठमा चाहिने फलफूलको मूल्य पनि अकासिएको छ । फलफूल १० प्रतिशतभन्दा बढी महँगिएको छ । नेपाल फलफूल व्यवसायी केन्द्रीय संघका कोषाध्यक्ष काशीराम सापकोटाकाअनुसार थोकमा ९० रूपैयाँ किलोमा बिक्री हुने विदेशी स्याउको मूल्य एक सय पाँच पुगेको छ ।

एक सय २० रूपैयाँमा पाइने स्वदेशी मार्फा स्याउको मूल्य महँगिएर एक सय ४० भएको छ । केराको सय कोसाको चार सयबाट ६ सय पुगेको छ । स्याउ ९०, केरा ६० र सुन्तला ७५ प्रतिशत आयात हुन्छ । स्याउ चीनबाट बढी आयात हुन्छ । बिहीबारको अननपूर्णपोष्ट दैनिकमा खबर छ ।