हात्ती आतङ्कले शुक्लाफाँटाबासी पीडामा

दियो पोस्ट  

कञ्चनपुर, असोज २८ । एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन् ।

पुरै गाउँका बासिन्दाले होहल्ला गर्दै पटका पड्काउने, ढोलक बजाउने गरे पनि हात्ती खेतमा छिरेर धानबाली सखाप पार्ने गरेको छ । रातभर अनिदो रहने बासिन्दा दिउँसभर सुत्ने गरेका छन् । पटाका पड्काउने र आगो देखेर तर्सेर भाग्ने गरेका हात्तीको झुण्ड तर्सनसमेत छाडेको स्थानीय पल्टु डगौराले भन्नुभयो, “धान खाएर आफैँ हात्तीको झुण्ड बिहानीपख शुक्लाफाँटा निकुञ्ज र सामुदायिक वनतर्फ लाग्ने गरेको छ ।”

छावासहित २० भन्दा बढी हात्तीको झुण्ड भगाउनका लागि रातभर स्थानीयवासी छिमेकी गाउँका बासिन्दाको सहयोगमा लाग्ने गरेका छन् । जति गरे पनि हात्तीको झुण्ड नभाग्ने गरेको सोनु चौधरीले बताउनुभयो ।
हालसम्म हात्तीको झुण्डले रानीपुर र खजुवापट्टिमा मात्रै दश बिघा बढी क्षेत्रफलमा लगाएको धानबाली नोक्सानी गरेको छ । हात्तीको झुण्ड दुई भागमा बाँडिएर रहेकाले स्थानीय किसानले बढी क्षति व्यहोर्नुपरेको छ ।

दुईतर्फबाट घेरेर हात्तीको झुण्डले धानबाली खाने गरेको छ । एउटा झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिर्ने र अर्को झुण्ड नजिकैको सामुदायिक वनबाट बस्तीमा आउने गरेको छ । एकै ठाउँमा हात्तीको झुण्ड भए भगाउन सजिलो हुन्थ्यो, सागर धामीले भने, “दुईतर्फबाट आउने भएकाले धानबालीमा बढी क्षति गरेको छ ।” रासस

TATA ADD

सिफारिस