काठमाडौं, असोज ३० । युइएफए नेसन्स लिगमा स्पेनमाथि इङल्याण्ड हाबी भएको छ । गएराती भएको खेलमा इङल्याण्डले स्पेनलाई ३–२ गोलको अन्तरले पराजित गर्यो ।
खेलको १६ औं मिनेटमा रहिम स्ट्रलिङको गोलमा अघि बढेको इङल्याण्डका लागि मार्कस रासफोर्डले २९ औं मिनेटमा दोस्रो गोल गरे । तर, इङल्याण्ड यत्तिमैं रोकिएन ।
३८ औं मिनेटमा पुनः स्ट्रलिङले दोस्रो गोल गर्दा पहिलो हाफमैं इङल्याण्ड स्पेनमाथि ३–० ले अघि रह्यो । दोस्रो हाफको ५८ औं मिनेटमा पाको अलाक्सेरले गोल गरेर अन्तर छोट्याए ।
खेलमा स्पेनले ७३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै ७४७ पास पनि खेल्यो । तर, यति धेरै नियन्त्रण र पासले टिमलाई जिताउन या बराबरी राख्न सफल भएन । खेलको ९७ औं मिनेटमा सर्जियो रामोसले गोल गरे पनि टिमको हार टार्न सकेनन् । अन्ततः स्पेन ३–२ गोल अन्तरले पराजित हुन पुग्यो ।
पहिलो हाफमा सम्हालिन नसक्दा स्पेन पराजित हुन पुग्यो । खेलमा स्पेनले २३ सट प्रहार गर्दा अनटार्गेट सट ५ वटा मात्र हुन पुगे । इङल्याण्डको पाँच सटमा तीन सट अन टार्गेट हुँदा तीन गोल नै गर्न सफल भयो ।
स्पेनले खेलमा १२ वटा कर्नरकिक प्रहार गर्दा इङल्याण्डले एउटा पनि कर्नर किक पाएन । लिग एको ग्रुप फोरमा इङल्याण्डसँग हारे पनि स्पेन ६ अंकसहित पहिलो स्थानमा छ । चार अंक जोडेको इङल्याण्ड दोस्रो स्थानमा र दुई खेलबाट एक अंक जोडेको क्रोएसिया तेस्रो स्थानमा छ ।