काठमाडौं, काठमाडौँ ९ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा दैनिक तीन अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।
शुक्रबारको नागरिक दैनिकमा भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना असोजसम्ममा तीन खर्ब ५० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । यसलाई दैनिक रुपबाट हेर्दा दिनको तीन अर्ब ८७ करोड रुपैयाँ घाटा देखिएको हो।
पछिल्लो तीन महिनाको तथ्यांक अनुसार मुलुकमा तीन खर्ब ९७ अर्ब ३३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ। यसमा तीन खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ भने २३ अर्ब ७४ करोड ५० लाखको निर्यात भएको छ।
विभागका अनुसार तीन महिनामा आयात ४३.५७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा दुई खर्ब ६० करोड भएकोमा यो वर्ष तीन खर्ब ७३ अर्ब ५८ करोड पुगेको हो । गत आर्थिक वर्षमा व्यापार घाटा दुई खर्ब ३९ अर्ब ७५ करोड थियो।
निर्यात भने सो अनुसार बढ्न सकेको छैन। तथ्यांकअनुसार तीन महिनामा १६ प्रतिशतले निर्यात बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा २० अर्ब ४५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा यो वर्ष २३ अर्ब ७४ करोड पुगेको छ।
मुलुकको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारतसँग छ। भारतबाट दुई खर्ब ३६ करोड बराबरको आयात हुँदा १३ अर्ब १६ करोड रुपैयाँको मात्र निर्यात भएको छ। भारतसँग मात्रै तीन महिनाको अवधिमा दुई खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा भएको तथ्यांकमा उल्लेख छ।
त्यसैगरी, चीनसँगको व्यापार घाटा ५२ अर्ब ५५ करोड बराबर छ। तीन महिनामा चीनबाट ५३ अर्ब ११ करोड बराबरको सामान आयात र ५६ करोड ४० लाखको निर्यात भएको तथ्यांकमा उल्लेख छ।