कठमाडौं, कार्तिक १० । काठमाडौं उपत्यकामा डेंगुका बिरामी भेटिएका छन् । उच्च ज्वरो आएर उपत्यकाका विभिन्न अस्पताल पुगेका सात जनामा डेंगुको जीवाणु भेटिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा। विवेककुमार लालका अनुसार काठमाडौंको बालाजु र वनस्थली ढुंगेधारा क्षेत्रका सातजना बिरामीमा डेंगु संक्रमण पुष्टि भएको हो । ‘डेंगु संक्रमण भएका मध्ये अधिकांश स्थानीय हुन्,’ उनले भने, ‘एक–दुईजनाचाहिँ काठमाडौंबाहिर पनि गएको बताएका छन् ।’ डेंगु संक्रमित सबै नै उपचारपछि घर फर्किसकेको उनले जानकारी दिए । काठमाडौंकै स्थानीयमा डेंगु देखिएपछि सर्तकता अपनाइएको महाशाखाले जनाएको छ ।
डेंगु सार्ने लामखुट्टे पहिल्यै काठमाडौंमा
महाशाखाका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे पहिलेदेखि नै काठमाडौंमा छ । डेंगु एइडिस–एजिप्टी र एइडिस–एलबोपिक्टस लामखुट्टेले सार्नेगर्छ । सो लामखुट्टेले चिकनगुनियाँ पनि सार्नेगर्छ । सो लामखुट्टे सफा पानीमा बस्ने र दिउँसै टोक्ने चिकित्सकले बताएका छन् । डेंगु भएको बिरामीलाई उक्त लामखुट्टेले टोकेर अन्य स्वस्थ मानिसलाई टोकेमा डेंगु सर्छ ।
काठमाडौंमा पानी अभावका कारण धेरै दिनसम्म पानी संकलन गरेर राख्ने, पानी ट्यांकी नछोपी राख्ने चलनले गर्दा डेंगुको महामारी फैलने खतरा रहेको निर्देशक लालले बताए । ‘यहाँ मानिसको आवतजावत पनि धेरै छ, लामखुट्टे पहिल्यै छ,’ उनले भने, ‘कोही डेंगु भएको मानिस यहाँ आयो र उसलाई उक्त लामखुट्टेले टोक्न भ्यायो भने त्यो लामखुट्टेले अन्यलाई सजिलै सार्न सक्छ ।’ महाशाखाले जिल्ला जनस्वास्थ्य कार्यालयहरू र स्थानीय निकायलाई आवश्यक सावधानीका लागि आग्रह गरेको उनले जानकारी दिए । शनिबारको नयाँपत्रिका दैनिकमा खबर छ ।