अहिले सिमान्तकृत समुदायका मुद्दामाथि कलम चलाउनु फेसन जस्तो बनेको छ

केवल बिनाबीसँग ‘स्रष्टा संवाद’ :

दियो पोस्ट  

बझाङका उन्मुक्त अभियन्ता केवल बिनाबी  हाल काठमाडौंमा बसोबास गर्दै आइरहेका छन्।

 प्रस्तुत छ, लेखक एवं गीतकार बिनाबीसँग कुराकानी गरेर दियो पोस्टका लागि राजु झल्लु प्रसादले तयार पारेका सामाग्री;

केवल बिनाबीसँग ‘स्रष्टा संवाद’ :

‘यादहरूको सङ्ग्रालय’को लागि बधाई दाजु । ‘किताब  निकालेर के हुन्छ यार’ पनि भन्नुहुन्थ्यो..!

-धन्यवाद !  बन्दुक बम बारुद पड्काएर त परिवर्तन नहुने सत्ता र समाजको चरित्रलाई  हाम्रा कविताले के नै लछारपाटो लगाउँछ लागेकै हो ।

सत्ताको सोपानमा लेन्डुपहरू नै विराजमान छन् । यतिबेला ‘यादहरूको सङ्ग्रालय’ किन लेखियो ? यसको पृष्ठभूमिबारे थोरै कुराहरू बताइदिनुहोस् न ।

कोरोना कहर नआएको भए यो कृत्ति कहिल्यै नआउन पनि सक्थ्यो । कोरोना सङ्क्रमित भएकै बेला मैले लेखेका गीत अनि कविताको माया लागेर आयो।  कतै म रहिन भने  पनि यी कविताहरूले समाज परिवर्तनको लडाइँ लड्थे कि? मैले हारेको युद्ध जित्ने कोही जन्माउँथ्यो कि? भन्ने लागेर यो कृती प्रकाशन गर्ने हतारो गरियो।

अर्को पनि प्रश्न, नातिले बेलुन पड्काउँदा समेत झस्किने सुप्रिमोहरूले कला-साहित्यलाई कुन अर्थ लिइरहेको पाउनुहुन्छ?

म एक दशक बेसी त्यही पार्टीमा बिताएँ। जनयुद्धमा के थियो- म बाहिर रहेको मान्छेले आंकलन गर्नु अपमान हुन सक्छ। जबदेखि म पार्टीको झन्डा बोकेर एक कार्यकर्ता बने-कला र साहित्यको क्षेत्र पार्टी भित्रको उत्पीडित अनि दोस्रो दर्जाको सङ्गठन जस्तो पाएँ। पार्टीभित्रको सांस्कृतिक मोर्चालाई विचार दिने स्तरमा विकास गर्नुपर्नेमा कलाकार वा साहित्यकारलाई कुनै कार्यक्रममा नेताको भाषण सुरु नहुन्जेल मनोरञ्जन दिने माध्यमको रूपमा विकास गरेको पाएँ। कुनै कलाकार या साहित्यकार जति नै नाम चलेको किन नहोस्- पार्टीको एउटा सेल कमिटीको संयोजकको अगाडि समेत निरीह पात्र जस्तो हुनुपर्ने अवस्थाको सृजना थियो/छ।

हामीलाई मन पर्दैनन् तर कला र साहित्यकै उत्थानको कुरा गर्दा महेन्द्र जस्तो भिजनरी मान्छे अहिलेसम्म यो देशले पाएको छैन।

आजभोलि ‘कविता कम, कवि धेरै भए’ भन्ने हल्ला छ। कुरा कसो हो ? समकालीन कविताहरूको गुणात्मकतालाई लिएर तपाईंलाई बोल्ने मुड छ? नेपाली कविताको भविष्यतर्फ  पनि मेरो इशारा रह्यो।

कवि धेरै हुनु भए भन्ने हल्ला चल्नु राम्रो कुरा हो, राम्रै मान्नुपर्छ। सोसल मिडियाले गर्दा प्रकाशनमा जटिलता रहेन। धेरैको पहुँचमा पुग्ने भएर यस्तो हल्ला चलेको हुन सक्छ। कुनै समय छन्दमा मात्र कविता लेख्ने चलन थियो । बहुत नियममा बाँधिएर कविताको उडान भर्न सजिलो थिएन। अहिलेको पुस्ताले लेखेका कविताहरू राम्रा छन्,  राम्रो हुनेमा विश्वास राख्दछु।

वस्तुतः कवित्वलाई दुर्लभ मानवीय गुण मानिन्छ। तपाईँमा यो गुण कसरी आयो? सँगसँगै, तपाईँको लेखनको मूल स्रोत के हो? लेखनतर्फ तपाईँको अभिरुचि कसरी बढ्यो?

पहिलो कुरा त यो दुर्लभ गुण हुँदै होइन। त्यस्तो प्रचार गरिएको हो। जति बेला सीमित मान्छेले पढ्न लेख्न पाउँथे, अझ जब संस्कृतमा कविता लेख्नुपर्थ्यो- त्यस्तो बेलाको कुरा होला यो।

जहाँसम्म मेरो कुरो छ- मेरो लेखनको मूल स्रोत समाज हो, भोगाइ हो। देशमा चलेको  परिवर्तनको आन्दोलनको राप र तापले लेखन्तर्फ रुचि बढेको हो।

तपाईँले लेख्नु भएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ? त्यो रचना उपलब्ध हुन् सक्छ?

सरि, मैले बिर्सेँ!

कला-साहित्यले वर्गीय स्वरूपको प्रतिनिधित्व गर्दछ, गर्नुपर्दछ। यस हिसाबले तपाईँले रुचाउनुभएको कवि, लेखक या कलाकार?

पास /गोर्की, भूपी शेरचन, भूपाल राई !

महेन्द्रीय मानक, ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ पाराका कविताहरू कत्तिको पढीरहनुभा’छ ? कवितामा राष्ट्रवाद,आमा, परदेशका तथाकथित सेन्टिमेन्टहरू जोडेर हरेक वर्ष पुरस्कारको कुम्लोकुटुरो समाइराख्ने कवि र आयोजक संस्थाबारे बोल्ने मुड छ? मेरो इशारा ‘प्रज्ञा कविता महोत्सव’तर्फ मात्रै चाहिँ रहेन है।

राजा महेन्द्रले आफ्नो सत्ता टिकाइ राख्न राजनीतिज्ञ आर्थिक अनि सांस्कृतिक रूपमा धेरै काम गरेका थिए। आजका नेतृत्वले या हामीले महेन्द्रलाई जति नै सरापे पनि सिक्न पर्ने कुराहरू छन्। दस वर्षे शासनकालमा महेन्द्रले गरेका कामको र बहुदलपछि राजनीतिक पार्टीले गरेका कामको तुलना गर्ने हो भने हामी छर्लङ्ग हुन्छौँ।

बहुदल हुँदै गणतन्त्रमा देश पुग्दा पनि एक भाषा, एकल संस्कृति अनि एकल जातीय  सत्ताको महेन्द्रीय  तामझामबाट देश मुक्त हुन सकेको छैन। प्रज्ञाले दिने पुरस्कारको कुरा गौण हो ।

हामीकहाँ ‘झरीबारे लेख्न झरीमा रुझ्नै पर्छ’ भन्ने महाशयहरूको हालीमुहाली छ। यस  हालीमुहालीबिच समकालीन ‘दलित साहित्य’ या नेपाली साहित्यमा ‘दलित चेतना’ कस्तो पाउनुहुन्छ? दलित साहित्यमा समस्या/कमीकमजोरी पनि देख्नुहुन्छ? गैरदलित लेखकहरूका अनुसार, ‘दलित साहित्य वेदनाहरूको बिम्ब’ मात्रै बनिरहेको छ अरे..। के भन्नुहुन्छ?

स्वअनुभूति हुनु र भएर लेख्नु राम्रो कुरा हो । जसरी हजारौँ वर्षदेखि दलित समुदायको लागि अवसरहरूका ढोकाहरू बन्द प्राय रहे – त्यसको प्रभाव साहित्यमा पनि पर्ने नै भयो। नेपाली कथा होस या उपन्यास या चलचित्रमा दलित पात्रलाई सकेसम्म निरीह या हाँस्यपात्रको रूपमा  चित्रण गराएको देखिन्छ।  यो हुनुको कारण कथा लेख्नेको मनोविज्ञान मनोदशा हो।

यो समयमा दलित, महिला या कुनै सीमान्तकृत समुदायका मुद्दा माथि कलम चलाउनु फेसन जस्तो पनि बनेको छ। तर राम्रो कुरा- यी विषयहरू आजको साहित्य लेखनको केन्द्रबिन्दु बनेका छन्।

सँगसँगै अर्को प्रश्न पनि गरिहालेँ, ‘दलित आन्दोलन’लाई तपाईँ कसरी निहार्दै हुनुहुन्छ ? नेपाली समाजको जातीय बनावटको एउटा हिस्सा दलित समुदायको वर्तमान अवस्था कस्तो पाउनुहुन्छ?

नेपालमा प्रजातान्त्रिक आन्दोलनको सेरोफेरोसँगै दलित आन्दोलनको सुरुवात  भएको हो। देश प्रजातन्त्र हुँदै गणतन्त्रसम्म पुग्दा पनि छुवाछुतको कारण ज्यान गुमाउनेको सङ्ख्यामा झन् वृद्धि भएको देखिन्छ। विभेदको प्रकृति फेरिएको छ, प्रवृत्ति फेरिएको छैन। दलित आन्दोलनका अगुवाहरूको अवसरवादी चरित्र अनि पदलोलुपताले  ती फगत सत्तासीन सरदारका गुलाम बनेका छन्। दलित मुक्तिको वास्तविक आन्दोलन अझै उठ्न बाँकी छ।

जहाँसम्म दलित समुदायको अवस्थाको कुरा छ- त्यो आज पनि श्रमजीवी  सर्वहारा वर्ग हो । र वर्गीय हिसाबले सबैभन्दा पिँधमा रहेको वर्ग हो।

समकालीन नेपाली साहित्यले लेख्न छुटाइरहेको विषयवस्तुहरू के-के हुन् ? लेखिएकाहरूमा देखिएका समस्याहरू ? पछिल्ला किताबहरूलाई केवल ‘लेखकको एकाङ्गी अनुभूतिमा सीमित भएको’ आरोप लागिरहेको छ । तपाईँको मत ?

यो प्रश्न लेखक अनि साहित्यकार कति इमानदार छन् भन्ने कुरासँग जोडिएको हुन्छ। यहाँ त लेखकहरू उत्पादन गरिन्छन्। अझै पनि साहित्य सत्ताको स्तुतिगान गाउनेको  चङ्गुलमा छ। पाठ्यक्रममा तिनीहरूकै साहित्यको दबदबा छ। धेरै कुरा लेखिए पनि  समाजलाई पढाउन बाँकी छ।

लेखिएका सबै किताब अनि लेखक माथि दोष थुपार्नु जायज नहोला । लेखक जब बजारको बन्छ,  ऊ ;निलो चोली’ पनि लेख्न थाल्छ। यसमा त लेखक सजक बन्नुपर्छ।

‘लेखक बजारमा त पुग्यो तर लेखकभन्दा बजार बलियो हुन् पुग्यो ।’ के म सही छु ? लेखक आफ्नो अस्मिता/नैतिकतामा बाँच्न नसकेको कि बजार तानाशाही हुँदै गएको ?

लेखकले बजारको लागी लेख्ने होइन ।

अब अलि रमाइला प्रश्नहरू गर्छु है- उमेरको नदी बग्दै गइरहेछ नै, साँच्चै जिन्दगी के रहेछ हँ दाजु ?

जन्म र मृत्युबिचको समयको अनुभूति ।

तपाईँले खोजेका किताबहरू कत्तिको भेटिएका छन् ? तपाईँ कस्ता किताबहरू खोज्दै हुनुहुन्छ ? पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबैभन्दा मन परेका पुस्तकहरू?

धेरै जसो भेटेको छु। दर्शनशास्त्र,  समाजशास्त्र, राजनीतिक शास्त्र अनि साहित्यका किताबहरू खोज्ने गरेको हुन्छु। पुस्तक छनौटको मेरो आधार विचार हो । अनि साथीहरूको रेकमेन्डेसन पनि हो ।

पढेकामध्ये आमा-उपन्यास (गोर्की) , घुम्ने मेचमाथि अन्धो मान्छे (भूपी) ,नयाँ घर (आहुती), छापामारको छोरो-कथा सङ्ग्रह ।

‘लेख्नका लागि पढ्नुपर्छ’ या  ‘पढ्नेले लेख्छन्’ भन्ने गरिन्छ । अझ, ‘लेखन भनेको अध्ययनको सह उत्पादन हो’ भन्ने भाष्य छ ।तपाईँको मत ? तपाईँ किन लेख्नुहुन्छ ? तपाईँ किन पढ्नुहुन्छ ?

पढ्ने भनेको मस्तिष्क लाई रिचार्ज गर्ने कुरा हो अनि अपडेट हुने कुरा हो । कहिलेकहीँ कुनै लेख या कविता कथा या उपन्यास पढ्दै गर्दा  तरङ्ग आउँछ अनि लेख्ने विषयको गर्भाधान हुन्छ।

TATA ADD