काठमाडौं । ठगी अभियोगमा पक्राउ परेका सिभिल समुहका अध्यक्ष ईच्छाराज तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जना विरुद्ध १ हजार ६१ जनाले जाहेरी दिएका छन् । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले गत असोज १८ गते तामाङसहित १२ जनालाई सुन्धाराबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका तामाङसहित सहकारी सञ्चालक विरुद्ध मंगलबारसम्म विगो रकम ४ अर्ब ४५ करोड ३२ लाख ३४ हजार ९ सय ३६ रुपैयाँ पुगेको सिआइबीमा प्रवक्ता प्रहरी उपरिक्षक श्याम कुमार महतोले जानकारी दिए ।
उनका अनुसार मंगलबार मात्रै ४४ जनाले तामाङसहित सहकारीका उच्च अधिकारी विरुद्ध जाहेरी दिएका थिए । मंगलबार नै २० करोड रुपैयाँको विगो थप भएको छ । प्रवक्ता महतोका अनुसार पीडितहरु सिआइबी कार्यालय आउने क्रम अझै पनि जारी छ ।
सिभिल सहकारीका तत्कालिन अध्यक्ष तामाङ, हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित २८ जना विरुद्ध सहकारीका निक्षेपकर्ताहरुले ठगीको उजुरी दिएका थिए । अध्यक्ष तामाङले सहकारीको ८ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।
उक्त रकम उनले सिभिल होम्स मार्फत घर जग्गामा लगानी गरेर व्यक्तिगत सम्पत्ति आर्जन गरि विदेशमा समेत लुकाएको आरोप छ । उनी विरुद्ध सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको छ ।