आजै मुख्यमन्त्रीको सपथ लिन लागेका राजेन्द्र पाण्डे को हुन् ?

diyopost.com
दियो पोस्ट  बिहिबार, कार्तिक ११, २०७८ | १२:४०:१२

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको दल नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले आजै वागमती प्रदेशको मुख्यमन्त्री पदको सपथ लिने भएका छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको आह्वानसँगै गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एस)का गरी कुल ५९ सांसद हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गर्दै पत्र बुझाइसकेका छन् । सत्तारुढ एमालेले भने सरकार गठनका लागि दाबी नगर्ने भएको छ । जसका कारण पाण्डेको सत्तारोहण सहज हुने देखिएको छ । आज हेटौंडामा हुने संसदीय प्रक्रियाबाट उनी सोझै मुख्यमन्त्री नियुक्त हुनेछन् ।

को हुन् मुख्यमन्त्री पाण्डे ?

धादिङको संघीय क्षेत्र नम्बर १ प्रदेश १ बाट निर्वाचित पाण्डे प्रदेश सरकारको स्थापनासँगै वाग्मती प्रदेशको मुख्यमन्त्रीका रूपमा हेरिएका पात्र हुन् । तर, तत्कािलन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट डोरमणी पौड्याललाई अघि सारेपछि उनी पछि पारिएका थिए । नेकपा एमाले पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता भएका उनी स्थापना कालदेखि नै नेकपा एमालेको कुसल नेता हुन् । २०१३ साल जेठ २९ मा गजुरीमा जन्मिएका उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न भएका उनी सुरुमा शिक्षण पेसामा आबद्ध थिए ।

पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति भएका थिए । २०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य भए । धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका उनले स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्  । उनी अहिले नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष छन् ।

 

उनी २०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल पर्दा उनको भेट झापाली राजबन्दीसँग भएको थियो । त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उनी सक्रिय राजनीतिमा लागेका थिए । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उनलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो ।

 

जेल बस्ने क्रममा उनी २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य भएका थिए । त्यतिबेला उनी ४२ दिन जेल बसेका थिए ।पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हालेका थिए । उनले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गरेका थिए । हाल उनले सितापाइलामा मनमोहन अस्पताल सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित खबर