काठमाडौं । अबको २० दिनमा आम निर्वाचन हुँदै छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तामझाम देशभर देखिन्छ । सबै दलहरुले आ–आफ्नो उम्मेदवार टुंगो लगाईसकेका छन् । आसन्न निर्वाचनमा नेपालि काँग्रेस र माओवादी केन्द्रसहित ५ दलको सत्ता गठबन्धन र राप्रपा एमालेसहित ४ दलको अर्को महागठबन्धनबिच प्रतिस्पर्धा हुने देखिन्छ । त्यस्तै यो पटकको संघिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको लर्को पनि लामै छ ।
गत बैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएसँगै संघीय निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारको संख्या बढेको हो । प्रयस निर्वाचनमा सुरक्षाको जिम्मेवारी लिने अझ भनौ निर्वाचनको सुरक्षार्थ फ्रन्टलाईनमा बसेर काम गर्दै आएका पुर्वप्रहरीहरु समेत यो पटक चुनावी मैदानमा होमिएका छन् । दशकौँसम्म सुरक्षा निकायमा काम गरी उच्च पदबाट अवकाश पाएका प्रहरी अधिकारीहरू चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)सहितका प्रहरी अधिकारी चुनावी दौडमा लागेका हुन् ।
नेपाल प्रहरीका पुर्व प्रहरी महानिरिक्षक(आईजीपी) सर्बेन्द्र खनाल, धुर्वबहादुर प्रधान, पुर्व प्रहरी नायव महानिरिक्षक (डिआईजी) नवराज शिलवाल, रमेश खरेल र सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त नायव महानिरिक्षक (एआईजी) ठाकुर माहेन श्रेष्ठ जस्ता उच्च अहोदाका पेन्सनधारीहरु चुनावी मैदानमा उत्रिएका हुन् । सुरक्षा निकायमा रहँदा राम्रो ख्यति कमाएका वा चर्चित पात्रहरु राजनीतिक खेलमा कत्तिको टिकाउ होलान् ? जनताले उनिहरुलाई कत्तिको विश्वास गर्लान् ? पछिल्लो समय यस्तै प्रश्नहरु जनमानसमा गुञ्जिएको छ ।
कसको सम्भावना कति ?
गत ०७६ साल माघमा प्रहरी महानिरिक्षकबाट अवकाश पाएका सर्वेन्द्र खनाल नेकपा (एमाले)बाट चुनाव लड्दै छन् । साढे दुई वर्षअघि प्रहरी महानिरीक्षक पदबाट अवकाश पाएका सर्वेन्द्र खनाल नेकपा (एमाले)बाट चुनाव लड्दै छन् । गत असोज ६ मा एमाले प्रवेश गरेका उनले काठमाडौं–६ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका उम्मेदवार भीमसेनदास प्रधानसँग प्रतिस्पर्धा गर्दै छन् । काठमाडौं– ६बाट नै दुईपटक जित हासिल गरेका छन् । २०७० सालको संविधान र २०७४ सालको प्रनिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए । प्रधान उमेरले ६९ वर्षका भए । खनाल प्रधानभन्दा १३ वर्ष कान्छा छन् । प्रधानको अगाडी खनाल राजनीतिमा काँचा देखिन्छन् ।
पूर्वआइजिपी ध्रुवबहादुर प्रधानले पश्चिम नवलपरासी–२ मा उम्मेदवारी दर्ता गरेका छन् । उनी राष्ट्रिय प्रजातान् त्रीक पार्टी (राप्रपा)बाट चुनावी मैदानमा होमिएका छन् । उनले गठबन्धन दलका उम्मेदवार देवेन्द्रराज कँडेल र एमालेका दीपेन्द्र अधिकारीसँग प्रतिस्पर्धी गर्ने छन् । करिब २० वर्ष सक्रिय राजनीति गर्दा पनि उनी एक पटक पनि सांसद् बन्न भने सकेका छैनन् ।
विगत पाँच वर्षयता सक्रिय राजनीतिमा विताईसकेका नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाल यसपटकको निर्वाचनमा पनि ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् । ललितपुर–१ मा यसपटक पनि नेपाली कांग्रेसका उदयशमशेर राणा र एमालेका नवराज सिलवालबीच नै भिडन्त हुने भएको छ । अघिल्लो निर्वाचनका बेला देशभर वाम गठबन्धन भएको थियो । जसकारण सिलवालले २६ हजार ९५१ मत पाएका थिए भने कांग्रेसका राणाले २० हजार ७२९ मत पाएका थिए । उनीहरुबीच करिब ६ हजार भोटको मतान्तर रहेको थियो । तर, यसपटक कांग्रेस र माओवादीबीच सहकार्य भएको छ ।
नेपाल प्रहरीमा रहँदा निकै चर्चा कमाएका रमेश खरेल पनि चुनावी मैदानमा होमिएका छन् । प्रहरीमा रहँदा गुण्डा राजको अन्त्य गरेको भन्दै चर्चा कमाएका खरेलले काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका हुन् । उनले उम्मेदवारी दिएको क्षेत्रमा कांग्रेसबाट प्रकाशमान सिंह, राप्रपाबाट रवीन्द्र मिश्र तथा घन्टी चुनाव चिह्नमा पुकार बम प्रतिस्पर्धामा छन् । राजनीतिमा विगत लामो समयदेखि सक्रिय रहेका प्रकाशमान सिंह उनिमाथि भारि पर्ने देखिन्छ । विगत लामो समयदेखि सोही क्षेत्रबाट निर्वाचित भई पटक पटक सांसद् बनेको सिंह र पत्रकारीताबाट राजनीतिमा हाम फालेका रविन्द्र मिश्रलाई पन्छाएर खरेल अगाडी आउन सक्ने समे स्थानीयको आकंलन छ । ‘प्रकाशमान पटक पटक सांसद् बने तर केही गरेनन्, रविन्द्र मिश्र अस्थिर छन्, उनलाई भोट दिने आधार नै छैन, यो पटक मेरो भोट रमेशलाई नै हो ।’काठमाडौं–१ निवासी रविन्द्र महर्जनले भने ।
सशस्त्र प्रहरीका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ पनि राजनीतिमा उत्रिएका छन् । काठमाडौं– ४ मा उनी राप्रपाको उम्मेदवारका रूपमा प्रतिस्पर्धामा होमिएका हुन् । यो क्षेत्रमा सत्तारूढ गठबन्धनबाट कांग्रेसका गगन थापा र एमालेबाट डा. राजन भट्टराई उम्मेदवार छन् । हेभिवेट नेताहरुसँग प्रतिस्पर्धामा रहेका श्रेष्ठ निर्वाचित हुने संभावना निकै न्युन देखिन्छ । नेपाली काँग्रेसका पपुलर नेता गगन थापाको अगाडी उनको जितको सम्भावना न्युन देखिन्छ ।