चर्चाको शिखरमा महिला उम्मेदवार, ‘हेभिवेट’ नेताको चेपुवामा पर्ने त्रास !

३३ % महिला अधिकार संविधानमा मात्रै सिमितः महिला उम्मेदवारको संख्या न्यून

खुमा वली  

काठमाडौं । संविधानमा राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एकमा महिला हुनैपर्ने व्यवस्था छ । सभामुख वा उपसभामुखमध्ये एक महिला हुनैपर्छ । हरेक राजनीतिक पार्टीले ३३ प्रतिशत सिटमा नघटाई महिला सिट सुरक्षित गर्नु पर्ने पनि व्यवस्था छ ।

संविधानका धारा ३८ महिलाको हक (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । स्थानीय चुनावको हकमा स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार (क) नेपाली नागरिक, (ख) २१ वर्ष उमेर पूरा भएको, (ग) नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको र (घ) कुनै कानुनले अयोग्य नभएको व्यक्ति गाउँ या नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष र सदस्य हुन सक्नेछ ।

तर, आसन्न मंसिर ४ गते हुने निर्वाचनमा कुनै पनि राजनीतिक दलहरुले यो नियम लागु गरेको पाएको छैन । नेकपा (एमाले)को कुल उम्मेदवार १३९ मध्ये महिला ११ जना छन् । साथै काँग्रेसको ९१ जनामा महिला उम्मदेवार जम्मा ५ जना छन् । त्यसै गरि नेकपा (माओवादी)का ४६ मध्ये महिला उम्मेदवार ८ जना छन् भने, एकीकृत समाजवादी पार्टीका २० उम्मेदवार मध्ये जम्मा १ जना मात्रै महिला छन् । के यहाँ महिला समानता देखियो त ? महिला उम्मेदारहरुको संख्या थोरै भए पनि चुनावी सरगर्मीको रापतापमा महिला नै सक्रीय देखिएका छन् ।

ललितपुर ३ मा पम्फा र तोसिमाको लडाई
बुधबार(कात्तिक १६) गते निर्वाचान आयोगले खारेज गरिदिएको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी सर्वोच्च अदालतले कायम राख्न भन्दै आदेश जारी गर्यो । उनले लाभको पदमा बसेरै उम्मेदवारी दिएको भन्दै आयोगले खारेज गरिदिएको उम्मेदवारी सर्वोच्च अदालतले थामिदिएको हो । यस क्षेत्रमा गठबन्धनका तर्फबाट मओवादीकी नेता पम्फा भुसालाई उम्मेदवार बनाएको छ ।

माओवादीलाई छाडेकोमा ललितपुर काँग्रेस भने असन्तुष्टि छ । तर यो क्षेत्रको प्रतिनिधिसभा सदस्य लिएको माओवादीले काँग्रेसको भोट पाउन भने सहज छैन । प्रतिस्पर्धी एमाले काँग्रेसमा देखिएको असन्तुष्टिको लाभ उठाउने दाउमा छ । एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अमृत खड्का पार्टीको भोट सुरक्षित गर्ने र काँग्रेसका असन्तुष्ट मतदाताको भोट तान्न चाहन्छन् ।

२०६४ सालमा ललितपुर ३ बाट संविधानसभामा निर्वाचित भुसालले ०७४ को चुनावमा एमालेको मद्दतमा नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यलाई हराएकी थिइन् । अहिले एमालेसँग प्रतिस्पर्धा गर्न कांग्रेसको समर्थन लिएकी छन् ।

रोल्पाकी ओनसरीलाई काठमाडौं २ ले पत्याउला ?
एमालेको बलियो क्षेत्र मानिएको काठमाडौ-२ मा माओवादी नेता ओनसरी घर्तीलाई त्यति सहज देखिएको छैन । कांग्रेस र माओवादी दुवै कमजोर रहेको यस क्षेत्रमा एमालेले यसपटक मणिराम फुयाललाई उम्मेदवारका रुपमा अगाडि सारेको छ । पूर्व सभामुख भएपनि उनका लागि यो क्षेत्र असहज बन्नुमा माओवादीको बलियो संगठन नहुनु नै हो ।

यो क्षेत्र एमालेपछि कांग्रेसको राम्रो मत रहेको स्थानीय तहको निर्वाचनले देखाउँछ । कांग्रेसको धेरै मत रहेको ठाउँमा माओवादीबाट उम्मेदवार रहेपछि कांग्रेसका असन्तुष्टि देखिन्छ । यस्तो असन्तुष्टिको फाइदा यसपटक एमालेले उठाउन पनि सक्नेछ । ओनसरी टुरिस्ट उम्मेदवार भन्दै यसपटक आलोचित छिन् । रवि लामिछानेको पार्टीबाट उठेकी सोविता नयाँ पार्टीर्की नयाँ युवा अनुहार हुन् । स्वतन्त्रको पक्षमा लहर देखिने र कांग्रेसको भोट पनि क्रस हुने अवस्था आए सोविता पनि यसपटक चुनौती दिन सक्नेछिन् ।

निक्कै चलाखी गरेर रविले पनि पार्टीको नाम स्वतन्त्र राख्न सफल भएका छन् । यही स्वतन्त्रको बलमा रविको पार्टीले कति चुनौती दिन सक्ला यो मतदाताको मुडले नै निर्धारण गर्छ । एमाले र माओवादीको परीक्षण भइसके पनि नयाँ दलका रुपमा स्वतन्त्र पार्टीको जनमत पहिलोपटक परीक्षण हुन लागेको छ ।

काठमाडौं ९ मा कल्पना धमलालाई कति सहज ?
आगामी मंसिर ४ गते हुने संघीय संसदको निर्वाचनमा धमला तेस्रो पटक प्रतिस्पर्धामा छिन् । यसपटक उनलाई नेकपा (माओवादी केन्द्र)ले काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा उठाएको छ । उनिसँग नेकपा एमालेका कृष्णलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । हेट्रिक हान्ने दाउमा रहेका श्रेष्ठसँग धमलाको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । केपी ओली नेतृत्वको सरकारमा पटक पटक मन्त्री समेत भईसकेका श्रेष्ठलाई कल्पनाले गठबन्धनको भरमा समेत पछि पार्न नसक्ने स्थानीयको भनाइ छ ।

दाङमा २ रेखा शर्मालाई गठबन्धनको भर
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्ने हो भने सत्ता गठबन्धनकी उम्मेदवार रेखा शर्मा सहज अवस्थामा छिन्। तर एमाले नेताहरु शंकर पोखरेलको व्यक्तित्वका कारण चुनाव जित्ने दाबी गर्छन्। लुम्बिनी प्रदेशको राजधानी दाङमा राख्ने निर्णय गराएकाले त्यसको फाइदा पोखरेललाई मिल्ने उनीहरुको तर्क छ ।

अर्कोतर्फ विगतमा सामान्य प्रशासन मन्त्री भएकी रेखा पहिलोपटक प्रत्यक्ष तर्फको निर्वाचन लड्न लागेकी हुन्। रोल्पा र प्यूठानसँग सीमा जोडिएको दाङमा दुवै जिल्लाबाट बसाइँ सरेर आएकाहरुको बाक्लो उपस्थिति छ। आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादीनिकट छन्। त्यसको लाभ रेखालाई मिल्ने देखिन्छ। त्यस्तै नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्र भएकाले कांग्रेसको मत ट्रान्सफर हुदाँ रेखालाई जित निकाल्न सहज हुने देखिन्छ।

दाङ ३ मा कोमल ओलीलाई कति सहज ?
गत कात्तिक १५ गते बबई गाउँपालिका वडा नम्बर १ गंगटेको सरस्वती जनता माविमा वलीले विद्यार्थीहरूसँग छलफल गरिहेको तस्बिर सार्वजनिक भएपछि एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं ३ बाट उम्मेदवारी दिएकी कोमल वली विवादमा तानिएकी छन् ।

चुनावका बेला विद्यार्थीहरूसँग छलफल गरेपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। यता स्थानीय चुनावका आधा÷मा हेर्दा कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार गिरी बलिया देखिन्छन्। त्यसका लागि उनलाई माओवादी र एकीकृत समाजवादीका मतदाताले समेत भोट दिनुपर्छ। एमालेका नेतारकार्यकर्ता वलीले महिला भोट र आफ्ना प्रशंसकको भोट पाउने दाबी गर्दै आएका छन्।

दाङ १ मा दुई महिला सहकर्मीबिच प्रतिस्पर्धा
यो पटकको निर्वाचनमा यस क्षेत्रमा तीन सहकर्मीको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणिलाई माओवादी, कांग्रेस, जनमोर्चा लगायतका पाँच दलको साथ छ भने एमालेकी शान्ता चौधरी एक्लै होमिएकी छन् । गंगाको दल हाम्रो नेपाली पार्टी भर्खरै खुलेको दल हो ।
२०७४ मा मेटमणि निर्वाचित भएका थिए । आफ्नै निर्वाचन क्षेत्रमा भएकाले उनलाई शान्ता भन्दा केही सहज देखिन्छ । शान्ता भने क्षेत्र परिवर्तन गरेर त्यहाँ पुगेकी हुन् । उनको निर्वाचन क्षेत्र २ हो । यही कारण शान्तामाथि प्रतिस्पर्धीले ‘टुरिष्ट उम्मेदवार’को आरोप लगाउन थालेका छन् ।

इतिहास रच्ने दाउँमा झाँक्री 
गुल्मी क्षेत्र नं २ मा पहिलेको नेकपा (एमाले) मा सहयात्रीको रुपमा काम गरेका दुई नेताबीच अहिले चुनावी प्रतिस्पर्धामा छन् । एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीबीच अहिले प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्पर्धा हुने भएको छ ।

तीनपटक निर्वाचन जितेका विष्टसँग भूगोलको राजनीति नगरेकी झाँक्रीको भिडन्त त्यति सहज भने छैन । तर, गठबन्धन सहयात्री दलहरूप्रति उनको भरोसा देखिन्छ । संगठनात्मक रूपमा कमजोर भएकाले गुल्मी–२ एसलाई सजिलो भने नहुने कांग्रेसका स्थानीय नेता कार्यकर्ताले बताउने गरेका छन् । यो क्षेत्र विष्टको प्रभाव क्षेत्र मानिन्छ ।

मकवानपुरमा डिनाको चर्चा
मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि कमल थापा, दीपक सिंह र महालक्ष्मी उपाध्याय डिनाले उम्मेदवारी दर्ता गरेका छन् । राप्रपा नेपालका अध्यक्ष थापा एमालेकै चुनाव चिह्न लिएका छन् भने कांग्रेस सहमहामन्त्री डिनालाई सत्ता गठबन्धनको साथ छ । सिंह भने राप्रपाका उम्मेदवार हुन् ।

स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा हेर्ने हो भने सत्ता गठबन्धन अगाडि देखिन्छ । प्रतिनिधिसभा सदस्य बन्न चौथो पटक चुनावी मैदानमा होमिएकी डिनालाई सत्ता गठबन्धनको साथ छ । तर, गठबन्धनको भोट सबै आफूतिर तान्न सहज मानिएको छैन ।

जनमोर्चाको गढ मानिएको प्युठानमा दुर्गा पौडेललाई कति सहज ?
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्युठानमा यसपटक एमाले भर्सेज बाम लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा हुने भएको छ । प्युठानमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट पोलिटव्यूरो सदस्य सूर्य थापा र बाम लोकतन्त्रिक गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको प्रतिस्पर्धा रहेको छ ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको जन्म थलो भएकाले पनि यो क्षेत्रलाई जनमोर्चाको गढ मानिन्छ । स्थानीय तहको मत परिणाम र अघिल्लो आम निर्वाचनको मत परिणामलाई हेर्दा नेकपा एमाले अन्तिममा देखिन्छ। अहिले गठबन्धनबाट साझा उम्मेदवार बनेकी उनलाई कांग्रेस र माओवादीको साथ रहेको छ।

बाबुरामपुत्री मानुषीलाई रामवीरको चुनौती
यो क्षेत्रमा गठबन्धनको तर्फबाट डा.बाबुराम भट्टराईकी पुत्री मानिुषी यामी भट्टराईले उम्मेदवारी दिएकी छन् । माओवादीको चुनाव चिह्न हँसिया हतौडा लिएर मानुषी पहिलोपटक संसदीय चुनावमा होमिँदैछन् । त्यसो त नेकपा (एमाले)मा बागी उमेदवारी परेका कारण यस निर्वाचन क्षेत्रले चर्चा पायो ।

०७० र ०७४ मा काठमाडौं–७ बाट निर्वाचित रामवीर मानन्धरले बागी उमेदवारी दिएका छन् । एमालेले यस निर्वाचन क्षेत्रमा श्यामकुमार घिमिरेलाई उमेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उमेदवारी दिएका हुन् । तर, गठबन्धन र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीयहरू बताउँछन् । यसले गठबन्धनलाई फाइदा हुने देखिएको छ ।

रवीन्द्रको क्षेत्रमा विद्याको इन्ट्रि
कास्की–२ मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् भने नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । एमाले पृष्ठभूमिका गठबन्धनका उम्मेदवार बराल र एमालेका उम्मेदवार भट्टराईबीचको चुनावी प्रतिस्पर्धालाई चासोका रूपमा हेरिएको छ ।

यसअघि २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता रवीन्द्र अधिकारी विजयी भएको यो क्षेत्रमा उनको निधनपछि भएको उपनिर्वाचनमा उनकी पत्नी विद्या भट्टराई विजयी भएकी थिइन् । तर, अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन बनेको छ ।

काठमाडौं ५ मा रञ्जु दर्शना पौडेल र पोखरेलका लागि चुनौती
यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार दिएकी दर्शना एमालेका उम्मेदवार ईश्वर पोखरेल र गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका प्रदीप पौडेलका लागि चुनौती बन्न सक्ने अनुमान गरिएको छ ।

पटकपटक मन्त्री भएका र यही क्षेत्रबाट निर्वाचित भएका पोखरेल यो निर्वाचनमा प्रश्न गर्ने ठाउँमा नभइ जवाफ दिने ठाउँमा छन् । अर्कोतर्फ, कांग्रेस उम्मेदवार पौडेल अहिलेसम्म संसदीय भूमिकामा पुगिसकेका छैनन् । ईश्वर पोखरेल परीक्षण भइसकेको व्यक्ति हुन् भने, प्रदीप पौडेल नयाँ व्यक्ति हुन् । पोखरेलले ओम्नीदेखि गोकर्ण फरेष्ट लिजसम्मका काण्डैकाण्डमा मुछिएका व्यक्ति समेत हुन् ।

मोरङ ३ मा रेखा थापाको क्रेज
यो क्षेत्रमा पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेता रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदै छ । २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । यसपटक पनि ढकाल एमालेबाट र कांग्रेसबाट शर्मा दोहोरिएका छन् । राप्रपाकी रेखा थापाको प्रवेशले चुनावी माहोल तताएको छ । जन्मथलो यही क्षेत्रमा भएकी उनले मतदातालाई रिझाउन गरिरहेको प्रयासले शर्मा र ढकाललाई चुनौती थपिने देखिन्छ ।

मोरङ २ः रिजालको टिकट खोस्ने कोइराला कति बलियो ?
नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यसपटक उनकी छोरी सुजाता कोइराला नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी छन् । यो क्षेत्रमा स्वतन्त्र तीनसहित १३ जना चुनावी मैदानमा छन् । तीमध्ये कोइराला र नेकपा –एमाले) का ऋषिकेश पोखरेललाई मुख्य प्रतिस्पर्धी ठानिएको छ । गत स्थानीय निर्वाचनको मतगणनाअनुसार यो क्षेत्रमा एमालेभन्दा सत्ता गठबन्धन चार हजार पाँच सय मतले अगाडि थियो ।

एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा पुष्पा भुसाललाई कति सहज ?
अर्घाखाँचीमा पुष्पा भुसाल र नेता टोपबहादुर रायमाझी आमने सामने हुने छन्। भुसाल र एमालेका रायमाझीबीच कडा टक्कर हुने देखिन्छ । भुसाल अघिल्लो निर्वाचन २०७४ मा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्। यता रायमाझीले २०६४ सालबाट लगातार चुनाव जित्दै आएका छन्। हाल उनी माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा छन् ।

सम्बन्धित खबर

ट्रेन्डिङ