क्रिस्टियानो रोनाल्डो र डिफेन्डर टाइरन मिन्ज्सबीच हात हालाहालको स्थिति

- एजेन्सी  

एस्टन भिल्लाले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई हराएको छ। गएराति घरेलु मैदान भिल्ला पार्कमा भएको खेलम एस्टन भिल्लाले युनाइटेडलाई ३–१ गोल अन्तरमा हराएको हो।

सन् १९९५ यता घरेलु मैदानमा पहिलो पटक म्यानचेस्टर युनाइटेडमाथि जित निकाल्ने क्रममा लिओन बेली, लुकास डीग्ने र राम्जीले गोल गरे।

 

खेलको सातौ मिनेटमा बेलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि डीग्नेले गोल गर्दै एस्टन भिल्लाले पहिलो ११ मिनेटमै २–० को अग्रता बनाएको थियो।

तर पहिलो हाफको ४५ औं मिनेटमा युनाइटेडले आत्मघाती गोल उपहार पायो। लुक शाको प्रहार जेकाब राम्जीलाई लाग्दै गोल भएको थियो।
पहिलो हाफमा २–१ को अग्रता बनाएको भिल्लाले दोस्रो हाफको सुरूआती समयमा नै पुनः २ गोलको अग्रता कायम गर्‍यो।

खेलको ४९ औं मिनेटमा राम्जीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

खेलको अन्त्यतिर युनाइटेडको कप्तानी गरिरहेका क्रिस्टियानो रोनाल्डो र डिफेन्डर टाइरन मिन्ज्सबीच हात हालाहालको स्थिति बनेको थियो।

रेफ्रीले दुवैलाई चेतावनीस्वरूप पहेलो कार्ड देखाएका थिए।

 

यो जितसँगै भिल्ला रेलिगेसन जोनबाट बाहिर निस्किएको छ। १४ खेलमा १५ अंक जोड्दै भिल्ला १३ औं स्थानमा उक्लिएको हो। यता १३ खेलमा २३ अंक जोडेको युनाइटेड पाँचौ स्थानमा यथावत छ।

 

 

 

सिफारिस