प्रगतिशील विचारधारा मान्ने मानिसहरुले प्रकृति, मानव समाज, सामाजिक क्रियाकलाप र सामाजिक शक्तिहरुको विश्लेषण मार्क्सवादको ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी मान्यताको आधारमा गर्ने गर्दछन् । मार्क्सवादका कुनैपनि मान्यता मनोगत र आदर्शवादी नभई वैज्ञानिक, वस्तुगत र पद्धतिसंगत विश्वदृष्टिकोणमा आधारित छन् ।
चेतनशील मानिसले जुनकुराको तथ्य र प्रमाण हुँदैन ती मनोगत र काल्पनीक हुन भन्ने कुरा बुझ्नु पर्दछ । साथ–साथै जुन कुराको तथ्य र प्रमाण हुन्छ ती यर्थाथ, वस्तुगत र वैज्ञानिक हुन भनी बुझ्नु पर्दछ । मानिस र पशुबीचको फरक भनेकै सचेतन चेतना मुख्यपक्ष हो । यदि मानिसको दिमागबाट चेतना झिकिदिने हो भने मानिस र पशुमा कुनै पनि फरक पाँइदैन । कतिपय मानिसहरुको चिन्तन गर्ने पद्धति, विश्वदृष्टिकोण आदिमा अज्ञानता वा अन्य कारणले गर्दा वस्तु, घटना र इतिहासलाई एकाङ्की रुपमा हेर्ने गर्दछन । विश्वका हरेक चीज एकको दुई विभाजन भएको हुन्छ जस्तोः राम्रो–नराम्रो, दिन–रात, उज्यालो–अँध्यारो, सकरात्मक–नकरात्मक, पोजेटिभ–नेगेटिभ, जीत–हार, विजय–पराजय, जन्म–मुत्यु, चोर–साधु, आक्रमण–रक्षा, अगाडि–पछाडि, सफलता–असफलता, प्रश्न–उत्तर, क्रान्ति–प्रतिक्रान्ति आदि इत्यदि ।
यसरी मार्क्सवादले यस्ता तमाम विषयवस्तुको सकरात्मक र नकरात्मक दुवै (द्वन्द्वात्मक भौतिकवादी) कोणबाट वस्तु र घटनाको समिक्षा गरेर वैज्ञानिक निष्कर्ष निकाल्ने काम गर्छ । माथि उल्लेख गरे जस्तै मार्क्सवाद र संशोधनवादलाई पनि समदुरीमा राखेर हेर्नु अवैज्ञानिक र मनोगत हुन जान्छ । मार्क्सवाद र संशानेधनवाद भनेको विपरित चीज हो यसलाई कदापि समदुरीमा राखेर हेर्न मिल्दैन । मार्क्सवाद र संशोधनवादलाई मित्रशक्तिको रुपमा हेर्ने गरिन्छ, वास्तवमा यो कुनै मार्क्सवादी समझदारी होईन साथै यो मानवीय चेतना पनि होइन् । मानिसको दिमागमा संशोधनवाद खराब हो भन्ने न्यूनतम मान्यता रहेको हुन्छ तर संशोधनवादीहरुले आँफूलाई पूँजीवादी नभनी कम्युनिष्ट भनेकाले जनतामा गहिरो भ्रम सिर्जना हुने गरेको छ ।
मार्क्सवादको विकास हुनु अगाडि युरोपियन कम्युनिज्म र समाजवाद सुधारवादी विचारको रुपमा विभन्नि दार्शनिकहरुले उठाँउदै आएका थिए । युरोपियन समाजवाद समानता र न्यायपूर्ण समाजभित्र वर्गसंघर्ष विरुद्ध वर्गसमन्वय, क्रान्तिकारी रुपान्तरणका विरुद्ध, शान्तिपूर्ण सहअस्तित्व, वर्गविलोपिकरणको विरुद्ध वर्गअस्तित्व, समानताका विरुद्ध शोषण जस्ता सुधारवादी विचारको जगमा उभिएको थियो ।
जर्मन मजदूर आन्दोलनमा वर्नास्टाइन र लासालले संशोधनवादी कित्ताको नेतृत्व गरे भने कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले क्रान्तिकारी मार्क्सवादको विकासका साथै आविष्कार गरे । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले वैज्ञानिक विचारको विकास गर्ने क्रममा वर्नास्टाइन र लासाल जस्ता सुधारवादी र संशोधनवादी विरुद्ध भिषण संघर्ष गर्नु परेको थियो, भने लेनिनले पनि कार्ल काउत्सिकी, प्लेखानोभ, टाट्रस्की, बुखारिन जस्ता संशोधनवादी विरुद्ध संघर्ष गर्दै मार्क्सवादको रक्षा र लेनिनवादको विकास गर्नु भयो । त्यसैगरि माओले पनि तुस्यू, देङ्ग सियाओ पिङ्ग, वाङ्गमिङ्ग जस्ता संशोधनवादीको विरुद्ध संघर्ष गर्दै मार्क्सवाद–लेनिनवादको रक्षा र माओवादको विकास गर्नु भयो ।
विश्व कम्युनिष्ट आन्दोलनमा क्रान्तिसंगसंगै प्रतिक्रान्तिको जन्म भए जस्तै मार्क्सवादसंगसंगै संशोधनवादको पनि जन्म हुने गरेको छ । अन्तर्राष्टिय कम्युनिष्ट आन्दोलनमा संशोधनवादका पिताको रुपमा प्रुधोलाई चिनिन्छ । त्यसैगरि मार्क्सवाद पूरानो भएको अलाप गर्दै वर्नास्टाइनले पनि संशोधनवादीरपूँजीवादी विचारको पक्षपेषण र वाकलात गरेका थिए । संशोधनवादका विशेषताहरु दक्षिणपन्थी, उग्रपन्थी र मध्यपन्थीको रुपमा प्रकट हुने गरेको छ । संशोधनवाद मूलतः तीनवटा श्रोतबाट जन्म हुन्छ, जस्तो निम्नपूँजीवाद, उपभोक्तावाद र अवसरवाद । संशोधनवादीहरुको साम्राज्यवादी, पूँजीवादी, दलाल तथा नोकरशाहीहरुसंग घनिष्टता र निकटता रहेको हुन्छ ।
कम्युनिष्ट पार्टीको नाम र झण्डा बोक्दैमा कम्युनिष्ट हुन्छन भन्ने मान्यता नै शतप्रतिशत गलत र भ्रमपूर्ण छ । संशोधनवादी मार्क्सवादीका दाजुभाई नै हुन र वर्गमित्र पनि हुन भन्ने दृष्टिकोण नबदलेसम्म मार्क्सवादको रक्षा, प्रयोग र विकास गर्न सकिदैन । सच्चा कम्युनिष्टहरुले उनीहरु मित्रशक्ति हुन भन्ने भ्रम पाल्नाले कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षती भएको छ । मार्क्सवादीहरुले संशोधनवादसँग लड्दा प्रतिक्रियावादलाई फाइदा पुग्ने हो कि भन्ने भ्रम पर्न गएकाले सतर्कतापूर्वक आलोचना मात्र गर्दछन् । जब कम्युनिष्ट र संशोधनवादीकोबीचमा आलोचना गर्न सुरु हुन्छ तब पूँजीवादीहरुले कम्युनिष्टहरु एकआपसमै गाँड कोराकोर गर्दछन भनेर जनतामा ठूलो भ्रम सिर्जना गर्दछन् ।
संशोधनवाद भनेको सच्चा पूँजीवाद हो, यो कदापी मार्क्सवाद हुन सक्दैन । मार्क्सवादको आवरणमा पूँजीवादी सारतत्व लागू गरी श्रमजीवीवर्गमाथी ठगीधन्दा संचालन गर्नु नै संशोधनवाद हो । पूँजीवादीहरु खुल्ला रुपमा शोषणको स्वतन्त्रताको वकालत गर्दछन् भने संशोधनवादीहरु छद्यभेषी बनेर उही कुकर्म गर्दछन । कुरा प्रस्ट छ की पहिलो पंक्तिका मानिसभन्दा दोस्रो पंक्तिका मानिसहरू बढी अनैतिक छन्, जसले मार्क्सवादको आवरणमा पूँजीवादी शोषण र व्यक्तिगत स्वार्थका लागि जनताको मुक्ति र समाजवादको नारा लगाईरहेका हुन्छन ।
संशोधनवाद सारसंग्रहवादको रुपमा भ्रष्टिकरण भएको छ । यसले वर्गसंघर्षको परित्याग गरि वर्गसमन्वय बाटो पहिल्याई बाघ र बाख्रा एउटै खोरमा अटाउने वर्गसमन्वयवादी अवैज्ञानिक कुतर्क गर्दछ । मार्क्सवादको सिर्जनात्मक प्रयोगको नाममा सर्वहारा अधिनायकत्व छोडी पूँजीवादी अधिनायकत्वलाई निरन्तरता दिन अनेकौं बहाना बाजीगर्दै संसदीय फोहोरी अहालमा डुब्दछ । यसले शान्तिपूर्ण संक्रमणको नाराद्वारा श्रमजीवीवर्गमाथि वर्गघात गर्दै शोषणमूलक समाजको भत्किसकेको व्यवस्थालाई रंगरोगन गरी नयाँ बनेको हल्ला गर्दछ । साथसाथै, यसले सर्वहारा क्रान्तिलाई अस्वीकार गर्दै संसदीय अनैतिक फोहोरी खेलबाट नै वैज्ञानिक समाजवादमा पुग्न सकिन्छ भनि जनतालाई भ्रमित पार्दछ ।
संशोधनवाद भनेको छद्यम पूँजीवाद हो, खुल्ला पूँजीवाद सजिलै चिन्न र बुझ्न सकिन्छ भने छद्यम पूँजीवाद हरियो घाँसभित्र लुकेको हरियो साँप जस्तो हुन्छ, यसले खेतबारीमा काम गर्नेमाथि सजिलै आक्रमण गर्न सक्दछ । अन्य साँपहरु टाढैबाट चिन्न र सर्तक हुन सकिन्छ, त्यस्तै संशोधनवादीबाट पनि जनता नराम्रोसंग ठगिन पुग्छन । मार्क्सवादको मन्त्रोचरण गरेर मार्क्सवादमाथी छुरा धस्नु संशोधनवादको मूल विशेषता हो । यसले मार्क्सवादभित्र पूँजीवादको गर्भाधारण गराउछ र मार्क्सवाद र पूँजीवादको अनैतिक गर्भधारणबाट जन्मिएको अवैध सन्तान नै संशोधनवाद हो ।
संशोधनवादीहरु आफ्नो स्वाभीमान बन्दकी राखेर पूँजीवादी सरकारमा सामेल हुन्छन र जनतालाई समाजवाद र साम्यवादका सपना बाडेर पूँजीपतीवर्गको मतियार बनि मोजमस्ति, भोगविलास, ऐसआराम, भष्ट्रचार जस्ता घृणित कुकर्म गर्न पूँजीवादी भन्दा अगाडि हुन्छन । आँफूले वर्षौदेखि उठाउदै आएका वर्गीय मुद्धा भुलेर आफ्नै परिवार र नातागोताभित्र राजकीय अवसर दिलाउन अनैतिक रुपमा मरिमेटेर लाग्छन । संशोधनवादको भ्रमित विचारद्वारा श्रमजीवी जनता अलमलमा परेका छन । उनीहरुले को सच्चा कम्युनिष्ट हो, को ढोगी कम्युनिष्ट भनेर छुट्याउन गाह्रो परेको छ । मुख्यतयः मार्क्सवाद–लेनिनवाद–माओवादको विचार वर्गसंघर्ष, बलप्रयोग र निरन्तर क्रान्तिको कार्यदिशा बोकेका पार्टीहरुमात्र सच्चा मार्क्सवादी कम्युनिष्ट पार्टी हुन ।
आधुनिक संशोधनवादका जन्मदाता सोभियत कम्युनिक्ष्ट पार्टीका नेता निकिता ख्रुश्चेभ हुन । उनले मार्क्सवाद–लेनिनवादको झण्डामुनि वर्गसमन्वयवादी विचारको जगमा आधुनिक संशोधनवाद लागू गरे । ख्रुश्चेभले सर्वहारा अधिनायकत्व र बल प्रयोगको सिद्धान्तलाई लात हान्दै ‘सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको सत्ता र शान्तिपूर्ण संक्रमण’को पूँजीवादी नाराद्वारा प्रतिक्रान्तिको नेतृत्व गरेका थिए । उनले समाजवादको ठाउँमा पूँजीवाद, वर्गसंघर्षको ठाउँमा वर्गसमन्वयवाद, सर्वहारा अन्तराष्ट्रवादको ठाउँमा सामाजिक फाँसीवाद, मार्क्सवादी विचारको ठाउँमा संशोधनवादी पूँजीवादी विचारधारा र समूहिक र राजकीय स्वार्थको ठाउँमा व्यत्तिगत तथा नीजि स्वार्थ जस्ता बिजातीय कर्मद्वारा सोभियत संघ विघटनको जग बसालेका थिए । लेनिनको नेतृत्वमा सोभियत जनताको भिषण त्याग, बलिदान र संघर्षद्वारा स्थापित सर्वहारावर्गको सत्तालाई सजिलै प्रतिक्रान्ति गरी पूँजीवादी मेशिनरीमा बदल्न ख्रूश्चेभी संशोधनवाद सफल भएको थियो ।
संशोधनवादको नयाँ प्रयोग इन्डोनेसिया र चिलीको कम्युनिस्ट आन्दोलनमा प्रकट भयो । चिलीको कम्युनिष्ट पार्टीले ख्रूश्चेभको तीन शान्तिपूर्ण सिद्धान्तको आधारमा संसदीय व्यवस्थाबाट सर्वहारा अधिनायकत्व लागू गर्न सकिन्छ भन्ने विस्वास लियो । वास्तवमा संसदीय पूँजीवादी व्यवस्था र त्यसका आम मेशनरीले सर्वहारावर्गको होईन पूँजीवादीकै सेवा गर्छ भन्ने सामान्य समझदारी पनि नेतृत्वमा हुन सकेन । पूँजीवादी पुरानो बनिबनाउ बुर्जुवासत्ता पूर्ण रूपमा ध्वस्त नगरेसम्म त्यसले सर्वहारा अधिनायकत्व लागू गर्न सक्दैन भनिने कुरा इण्डोनेशिया र चिलीको कम्युनिस्ट आन्दोलनले पुष्टि गर्यो । निर्वाचन मार्फत सत्तामा पुगेको क्रान्तिकारी सरकारले सत्ताका संयन्त्रहरूलाई परिवर्तन गर्न खोज्यो तर साम्राज्यवादी र पुँजीवादीहरूका दलालहरूले त्यसलाई सफल हुन दिएनन् । अमेरिकी साम्राज्यवादको निर्देशनमा चिलीको सेना, प्रशासन तथा वित्तीय संस्थाहरूको आडमा कम्युनिस्ट सरकारले जनतामाथि भिषण दमन चलायो । त्यस दमनबाट लाखैंको संख्यामा नरसंहार मार्फत अमेरीकाले आफ्नो पूँजीवादी सरकार स्थापना गर्यो । त्यस घटनाले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति हुनका साथै विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ शिक्षा दियो ।
अन्तमा, नेपाली कम्युनिष्ट आन्दोलनमा हावी रहेको संशोधनवादले दुई तिहाईको सरकारको हवला दिदै जनतामाथि राज गरिरहदा समेत जनपक्षीय कुनै काम हुन सकेन र सुखि नेपाली समृद्ध नेपालको नाराभित्र देश र जनतालाई दोहन गरी विस्तारवादी र साम्राज्यवादीको डिजाइनमा सच्चा कम्युनिष्टहरुलाई बदनाम र धरपक्कड, प्रतिबन्ध जस्ता अभियान आगाडि बढे । यसले के पुष्टि गर्दछ भने सामन्तवादी र पूँजीवादी भन्दापनि संशोधनवादी अझै निरंकुश, तानाशाही, दमनकारी र हिंस्रक हुन्छन् ।
नेपाल लगायत विश्वभरि नै कम्युनिष्ट पार्टीप्रति जनताको आस्था र भरोसा निकै ठूलो छ । चुनाव जित्नको लागिमात्र कम्युनिष्ट पार्टीको नाम र झण्डा प्रयोग गर्ने गरेका छन तर, कम्युनिष्ट कर्म गर्न होईन । यदि जनहितको काम गर्ने भए सुविधाजनक दुईतिहाइको सरकार हुँदा समेत कुनै राम्रो काम हुन सकेन । यस्तो प्रकृतिको सरकार बन्दाको अवस्थामा बिना रोकतोक संविधानको समाजवादी पूनर्लेखन तथा संशोधन गरेर समाजवादी कार्यक्रम लागू गर्न सकिन्छ । संशोधनवादीहरु रचनात्मक हुँदैनन, उनीहरु ध्वंसात्मक हुने भएकाले समाजवाद होईन पूँजीवादलाई नै मजबुतीकरण गर्दछन भन्ने कुराको दह्रो पुष्टिकरण यही हो । संशोधनवादीहरूले सत्ताको समेत दुरुपयोग गरेर कम्युनिष्टहरुलाई बदनाम गराउने र मानिसहरूलाई भ्रष्ट बनाई जुन जोगी आएपनि कानै चिरेको भन्ने उखानलाई चरितार्थ गरिरहेका छन् । तसर्थ वर्तमान परिवेशमा संशोधनवादका विरुद्ध क्रान्तिकारी मार्क्सवादको झन्डा उठाउने काम धेरै चुनौतीपूर्ण छ ।