पूर्वप्रधानमन्त्री खनाललाई पाराजित गर्दै इलाम-१ मा एमालेका महेश बस्नेत निर्वाचित

दियो पोस्ट  

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल गृहजिल्ला इलामबाट पराजित भएका छन्। मतगणना सकिँदा खनाल २,६०० बढी मतले पछि परे पनि निर्वाचन आयोगले अन्तिम परिणामको औपचारिक घोषणा गरिसकेको छैन। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल आफ्नै पूर्व पार्टी सहकर्मी महेश बस्नेतसँग पराजित भएका हुन्। यो प्रतिनिधिसभा निर्वाचनमा पराजय भोग्ने खनाल एक्लो पूर्व प्रधानमन्त्री हुन्। प्रधानमन्त्री शेर बहादुर देउवा सहित पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव नेपाल निर्वाचित भइसकेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र लोकेन्द्र बहादुर चन्दले भने यो निर्वाचनमा उम्मेदवारी दिएनन्। नेकपा एमालेका पूर्वअध्यक्ष समेत रहेका खनाल गत वर्ष पार्टी विभाजन हुँदा एकीकृत समाजवादीमा गएका थिए। इलाम क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत राजकुमार दाहालले प्रत्यक्षतर्फको मतगणना सकिए पनि निर्वाचन परिणामको घोषणा भने नभइसकेको जानकारी दिए। ‘प्रत्यक्षतर्फको मतगणना सकिएको छ। तर समानुपातिकतर्फ गन्न बाँकी करिब २३,००० मतगणना सकिएपछि मात्रै अन्तिम परिणाम घोषणा हुन्छ,’ दाहालले भने।