काठमाडौं । गत मंसिर ४ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो । यो सँगै अझै मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म नतिजा आइसकेका निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट चुनाव लडेका ९ जना उद्योगी व्यवसायीमध्ये ८ जनाले चुनाव जितेका छन् । नेकपा एमालेबाट निर्वाचनमा सहभागी सबै व्यवसायीले यसपटक पराजित भएका छन् । एमाले यसपटक देशभरबाट ३ जना व्यवसायीलाई प्रतिनिधिसभा निर्वाचनको टिकट दिएको थियो । उसो त यसपटक अरु दलको तुलनामा कांग्रेसले धेरै उद्योग व्यवसायीलाई उम्मेदवार बनाएको थियो ।
यी हुन् निर्वाचित व्यवसायीहरुः
अर्बपति बिनोद चौधरी
उद्योगपति बिनोद चौधरी परासी–१ बाट चुनाव जितेका छन् । यसअघिको संसदमा समानुपातिकतर्फबाट सांसद रहेका उनी यसपटक भने प्रत्यक्षतर्फबाट सांसदमा चुनिएका हुन्। चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । उनले ७ हजार १ सय ८७ मतले पराजित गरेका हुन् ।
राजेन्द्र बजगाई
पर्यटन व्यवसायी राजेन्द्र बजगाईले गोखरा–१ बाट चुनाव जितेका छन् । बजगाई ३३ हजार ४२८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत पाएका छन् ।
मोहन आचार्य
निर्माण व्यवसायी मोहन आचार्यले रसुवाबाट चुनाव जितेका छन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । उनीहरुबीचको मतान्तर ९ हजार ६२१ छ ।
टेकबहादुर गुरुङ
मनाङबाट व्यवसायी टेकबहादुर गुरूङ प्रतिनिधिसभाका लागि निर्वाचित भएका छन् । मनाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालका अनुसार टेकबहादुरले २५७५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरूङले २२४७ मत पाए।
योगेश गौचन
मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका छन् । ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन् ।
सुनिल कुमार शर्मा
मेडिकल व्यवसायी सुनिलकुमार शर्मा मोरङ ३ बाट चुनाव जितेका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । शर्माले ४८ हजार ६ सय ३१ मत ल्याउँदा ढकालले २५ हजार ८ सय ९५ मत पाएका छन् । ०७४ को चुनावमा भने ढकालले शर्मालाई १ हजार ९ सय ७ मतले हराएका थिए ।
कान्छाराम तामाङ
रामेछापबाट निर्माण व्यवसायी कान्छाराम तामाङ निर्वाचिन बनेका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् । कांग्रेस रामेछापको जिल्ला सभापति समेत रहेका तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे । कान्छाराम क वर्गका ठेकेदार समेत हुन् ।
किसान श्रेष्ठ
ग्यास व्यवसायी कृष्णकुमार श्रेष्ठ बारा निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठ विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका श्रेष्ठ करिब १० हजार मतान्तरले विजयी भएका हुन् श्रेष्ठले २९ हजार ५०५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार एकवाल मियाँले १९ हजार ४३९ मत प्राप्त गरे ।
धनबहादुर बुढा
डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन् । उनले ११ हजार २२५ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत पाए ।
शिशिर खनाल
काठमाडौं-६ प्रतिनिधि सभा सदस्यमा शिशिर खनाल निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका खनालले १४२०४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा ९एमाले० सर्वेन्द्र खनालले ८९११ मत ल्याए भने नेपाली कांग्रेसका भीमसेन दास प्रधान ८८०५ मतसहित तेस्रो भए।
विक्रम पाण्डे
चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । उनले ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा। भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९ मत पाए ।
वीरेन्द्र महोतो
सिरहा-४ बाट जनता समाजवादी पार्टीका उम्मेदवार व्यवसायी डा। वीरेन्द्र महतो निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् । जसपाका महतोले २४ हजार १०२ मत पाउँदा जनमत पार्टीका साहले १६ हजार २९४ मत ल्याए ।
यो पनि
संसद छिर्ने दाउमा ‘विवादास्पद व्यापारी’ : कालोधनको कारोबारीदेखि भ्रष्टाचारले डामिएकासम्म !