पोखरा विमानस्थलमा ठूलो ‘घोटाला’ : ‘कामचोर’ चिनियाँ कम्पनीलाई नेपालले बुझाउँदैछ २५ करोड !

सुदीप विश्वकर्मा  

काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चरम अनियमितता भएको पाइएको छ । चिनको एक्सपोर्ट ईम्पोर्ट (एक्जिम) बैंकको ऋण सहित २२ अर्ब लगानीमा निर्माण सम्पन्न हुँदै गरेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा नेपाली पक्ष र चीनियाँ पक्ष दुवैले चरम लापरबाही गरेको तथ्य भेटिएको हो ।

दियोपोस्टको सम्पर्कमा आएका एक चिनियाँ सुपरभाइजरका अनुसार यो विमानस्थल निर्माणमा चिनिया पक्ष र नेपाली पक्षले चीनको निर्माण सम्बन्धी कानुन मात्रै उलंघन गरेका छैनन् अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मापदण्डहरु समेत ठाडो उलंघन गरेका छन् ।

निर्माण सम्पन्न भएर परिक्षण उडानको क्रममा रहेको विमानस्थल निर्माणको ठेक्का चिनिया कम्पनि सिएएमसीईले पाएको थियो । उक्त ठेक्काको अनुगमन तथा सुपरभिजनका लागि चिनिया वाणिज्य मन्त्रालयले चाइना आईपिपिआर ईन्टरनेश्नल ईन्जिनरिङ कर्पोरेशनलाई नियुक्त गरेको थियो । ‘सहायक कम्पनिले आफ्नो मूल कम्पनिमाथि कसरी निगरानी र सर्वेक्षण गर्नसक्छ,’ एक चिनियाँ सुपरभाइजर भन्छन्,‘यो नै हास्यास्पद छ । यति ठूलो अन्तर्राष्ट्रिय परियोजनाका लागि कसरी सहायक कम्पनिले निगरानी गर्न सक्छ ? यो विवादास्पद छ ।’

स्रोतका अनुसार एक्जिम बैंक अफ चाइनाले यो बारेमा नेपाल सरकार र नागरिक उडयन प्राधिकरणलाई जानकारी गराउनु पर्ने थियो । तर, सबैपक्ष मिलेर यो घटना लुकाएको आरोप छ । विगत ५ वर्षदेखि नै यो घटना लुकाएर राखेको ती चिनियाँ नागरिकको भनाई छ ।

नेपाल सरकारले नेपाली जनताको करबाट चिनियाँ कम्पनि आइपिपिआरलाई २५ करोड रुपैयाँ भन्दा बढी रकम बुझाइरहेको छ । तर, उक्त कम्पनिले पोखरास्थित विमानस्थलमा कुनै पनि अनुगमनको काम गरेको छैन । आईपिपिआरले के–के काम गर्यो भनेर कुनै लेटर समेत नेपाल सरकारले पाएको छैन । यस्तोमा सरकारले चीनलाई यतिका रकम तिर्नु परेको छ ।

स्रोतका अनुसार आइपिपिआरको प्रतिनिधि भन्दै सन् २०१९ मा झ्याङ नाम गरेका व्यक्ति सुपरभाइजर बनेर आएका थिए । उनी नेपाल आएपछि एक पटक पनि कुनै बैठकमा बसेनन् । उनी निर्माणाधिन पोखरा क्षेत्रिय विमानस्थल समेत पुगेनन् । २ वर्षसम्म काठमाडौंमा बसे । उनले अंग्रेजी समेत बोल्न जानेका थिएनन् ।

 

त्यस्तै २०२० जनवरीमा आएका ली नाम गरेका सुपरभाइजर १० महिनासम्म बसे तर, उनी आइपिपिआरका प्रतिनिधि हुन् भनेर प्रोजेक्टमा समलग्न भएको कसैलाई पनि थाहा समेत भएन । उनीपनि विमानस्थल समेत नपुगी चीन फर्किए ।
अप्रिल २०२१ मा अर्का टिम लिडर बनेर आएका यानले पनि अंग्रेजी बोल्न जान्दैन थिए । उनी अहिले पनि कार्यारत छन् ।

 

ठेकेदार कम्पनिको डिजाइन अनुसार प्रोजेक्टको सुपरभिजन र मनिटरिङका लागि भनेर नागरिक उडयन प्राधिकरणले नै आइपिपिआरलाई रकम दिनु परेको छ । सम्झौता अनुसार २८ लाख अमेरिकी डलर आइपिपिआरलाई नेपाल सरकारले बुझाउनुपर्नेछ । त्यसमध्ये केही रकम उसले लगी पनि सकेको छ । तर, पोखरास्थित नागरिक उडयन प्राधिकरणका पोखरास्थित प्रमुख विनेश मुनकर्मी भने त्यस विषयमा एक्जिम बैंक चाइनालाई नै थाहा हुने बताउँछन् ।
‘आइपिपिआरले एक्जिम बैंकको फन्ड (ऋण रकम)लाई सुपरभिजन गर्ने हो । काम राम्रो भए नभएको, फन्ड राम्रोसँग युटिलाइज भएको नभएको क्वालिटी होइन डकुमेन्टेशनको पार्टमा हेर्ने हो । २५ करोड रुपैयाँ नेपाल सरकारले उनीहरुलाई तिर्ने होइन,’ उनले भने,‘नेपाल सरकारले म्यानेजमेन्ट फि भनेर तिर्ने जस्तो लाग्छ । मलाई भन्दा एकाउन्टलाई नै थाहा छ । हामीले एक्जिम बैंकले लिने हो । आइपिपिआर हामीले बोलाएर आउने होइन । आइपिपिआरले सिफारिस नगरेसम्म क्यानले पैसा दिँदैन ।’

सम्बद्ध स्रोतका अनुसार आईपिपिआरले समेत सुपरभिजनका लागि अर्को कम्पनिलाई ठेक्का दिएको छ । तर, उक्त कम्पनिले पनि एक्जिम बैंकबाट सन् २०२० देखि पैसा पाउन सकेको छैन ।

आइपिपिआरकै एक पूर्व अधिकारीका अनुसार हालसम्म यति ठूलो भनिएको पोखरा विमानस्थलमा जम्मा ५ जना इन्जिनियरले काम गरिरहेका छन् । निर्माणका क्रममा चरम लापरबाही भएको छ ।

 

राष्ट्रिय गौरवको आयोजना भनिएको यो विमानस्थलको २५ सय मिटर रन वे निर्माण गरिएको छ । १२ हजार वर्ग मिटरको टर्मिनल बिल्डिङ बन्दैछ । यो भवन र रनवे निर्माणमा समेत ठूलो प्राविधिक अनियमितता भएको ती चिनियाँ अधिकारीले दियोपोस्टलाई बताए । सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीइलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने समय सिमा तोकिएको भएपनि विभिन्न कारण देखाउँदै निर्माण सम्पन्न हुन सकेको छैन ।