छात्रामाथि सामूहिक बलात्कार प्रकरण : पुर्पक्षका लागि थुनामा रहेका कराँतेका २ प्रशिक्षक दोषी ठहर

दियो पोस्ट  

विराटनगर । किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ ।

सामूहिक बलात्कार आरोपमा पक्राउ परेका कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरेको हो । दुवै जना ६ भदौ २०७९ देखि पूर्पक्षका लागि थुनामा थिए ।

करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि कैद सजाय निर्धारण भने कात्तिक २२ गतेको इजलासले गर्ने अदालत स्रोतले बतायो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक उनीहरुले विराट हेल्थ कलेजमा अध्ययनरत एक छात्रालाई विराटनगरस्थित एउटा होटलमा लगेर सामूहिक करणी गरेका थिए । सुरज विराट हेल्थ कलेजमा डिसिप्लेन इन्चार्ज पनि थिए ।

परीक्षामा सहयोग गर्ने बहानामा छात्रासँग नजिकिएका सुवेदीले पटक–पटक करणी गरेका थिए । सुवेदीले २०७९ जेठ अन्तिम साता छात्रालाई इच्छा विपरीत होटलमा लगेर आफ्ना नजिकका साथी राउतलाई पनि बोलाएका थिए ।