पूर्वमाओवादी निकट लक्ष्मण पन्त, ओम शर्मासहित १० नेताद्वारा प्रचण्डसँग सम्बन्ध विच्छेद

दियोपोस्ट संवाददाता  

काठमाडौँ । तत्कालीन नेकपा (माओवादी केन्द्र) को प्रवास संगठनमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका १० जना नेताहरूले नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँगको सबै संगठनात्मक सम्बन्ध तोडेको घोषणा गरेका छन्। पार्टी नेतृत्व व्यक्तिवादी, सत्ताकेन्द्रित र विचलित भएको आरोप लगाउँदै उनीहरूले बुधबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी पार्टीबाट सम्बन्धविच्छेदको घोषणा गरेका हुन्।

भारत प्रवास इन्चार्ज लक्ष्मण पन्त र एसिया प्रवास संगठन इन्चार्ज ओम शर्मासहितका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफूलाई सत्ताको केन्द्रमा राखिराख्न मात्र एकताको ’तुरुप फ्याँकेको’ आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ’हामीले पार्टीभित्र लोकतन्त्र, पुनर्गठन, नातावादको अन्त्य र आर्थिक पारदर्शिताको मुद्दा उठाउँदै आए पनि त्यसलाई सम्बोधन गर्नुको साटो आफू केन्द्रित पुनर्गठनका नाममा नेपाली कम्युनिस्ट पार्टी गठन गरियो।’

उनीहरूले हालैको एकतालाई राजनीतिक रूपमा अप्रासंगिक भइसकेका केही पात्रहरूलाई जोडजाम गरेर फेरि एकपटक आफूलाई कुर्चीमा पुरÞ्याउने भित्री उद्देश्यबाट प्रेरित रहेको दाबी गरेका छन्।

’एकताको नाममा वृद्धाश्रम खोलिएको छ। भ्रष्टाचारको मुद्दा खेपिरहेका अभियुक्तहरूलाई सारथि बनाएर जग हँसाउने काम भइरहेको छ,’ विज्ञप्तिमा थप उल्लेख छ।

विज्ञप्तिमा पार्टी नेतृत्वमाथि आर्थिक अपारदर्शिता, परिवारवाद र कम्युनिस्ट आचरणविपरीतको भड्किलो जीवनशैली अपनाएको जस्ता गम्भीर आरोपहरू पनि लगाइएको छ। ’पार्टी स्थापनाकालदेखि आजसम्म आयव्ययको कुनै विवरण प्रस्तुत गरिएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ’नेतृत्वको जीवनशैली कम्युनिस्ट आचरण विपरीत अत्यन्त भड्किलो छ, जसका कारण कम्युनिष्टहरूको नैतिक धरातल कमजोर बन्न पुगेको छ।’

नेताहरूले पार्टीको विधानमा २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि ७०० भन्दा बढीलाई मनमौजी तरिकाले नियुक्ति गरिएको र हाल ३००० भन्दा बढीको केन्द्रीय समिति बनाउने प्रपञ्च रचिएको भन्दै संगठनात्मक अराजकता बढेको बताएका छन्।

पार्टी परित्यागको घोषणा गर्नेहरूले अब ’प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ मा आबद्ध भएर अगाडि बढ्ने जनाएका छन्। उनीहरूले विगत दुई दशकदेखि सत्ताको शीर्षस्थानमा रहेर मुलुकलाई दिशाहीन बनाउने पुराना नेताहरूप्रतिको मोह त्यागी नयाँ दृष्टि र कार्यक्रमसहितको जनमुखी वामपन्थी आन्दोलनमा सहभागी हुन अन्य नेता–कार्यकर्तालाई आह्वानसमेत गरेका छन्।

सम्बन्धविच्छेदको घोषणा गर्नेहरू अन्तरमहादेशीय कोषाध्यक्ष सागर पोखरेल, नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका प्रवक्ता दिल निशानी मगर पनि छन् । यस्तै रामहरि पुडासैनी, धर्मराज खतिवडा, ईश्वर पौडेल, बाबुराम सापकोटा र इन्जिनियर प्रतीक पोखरेलले पनि पार्टी छाडेका छन्। उनीहरू माओवादी केन्द्रको प्रवासअन्तर्गत भारत, एसिया, युरोप, अष्ट्रेलियालगायतका क्षेत्रमा विभिन्न जिम्मेवारीमा थिए।

सिफारिस