
काठमाडौं । गत भदौ २३ गते भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दै जेनजी पुस्ताले शान्तिपूर्ण विद्राहको कार्यक्रम आयोजना गरे । तर, तत्कालिन सरकारले विद्यालय पहिरनमै आएका बालबालिकामाथि गोली चलाएपछि १९ जनाको सोही दिन हत्या भयो भने त्यही दिन चलेको गोली लागेर हालसम्म ७३ जनाको मृत्यु भइसकेको छ । २४ गते भएको विद्रोहपछि तत्कालिन प्रधानमन्त्री केपी ओली बालुवाटारस्थित निवासबाटै हेलिकोप्टरमा भागे । आन्दोलनकारीले भ्रष्ट नेताको निवास जलाए । पार्टी कार्यालय जलाए । सिंहदरबार, शितल निवास, सर्वोच्च अदालत र संसद भवन समेत जलाइयो । ठूलो विध्वंशपछि बनेको अन्तरिम सरकारको पहिलो म्यान्डेट हो सुशासन । सुशासनका लागि जेजनीको म्यान्डेट पाएको चुनावी अन्तरिम सरकारलाई बद्नाम गराउनेगरि केही सचिवहरु लागेका छन् ।
तत्कालिन परराष्ट्रमन्त्री आरजु राणाको प्रीय पात्र भएपनि सहरी विकास मन्त्रालय सरुवा हुन सफल भएका सचिव गोपाल सिग्देलका कारण सरकार नै बद्नाम हुने बाटोमा पुगेको छ । जेनजी पुस्ताको रगतमाथि बनेको सरकारलाई बद्नामीको शिखरमा पुर्याउने गरि सिग्देलले एकजना बद्नाम र घुसिया कर्मचारीलाई सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक नियुक्त गरिदिएका छन् ।
२२ अर्ब खर्च गरेर पनि कुनै देखिने उपलब्धी नभएको आयोजना हो एकीकृत बागमती सभ्यता विकास समिति । यो समितिमा बसेर सबैभन्दा बद्नामी कमाएका कर्मचारी हुन् रविन्द्र बोहरा । उनै बोहरालाई अहिले सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक नियुक्ती गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको विश्व बैंकको सहयोगमा रहेको एनयुजीआइपी—युडीएसटी आयोजनाको परामर्शदाता छनोटमा बोहोराले चलखेल गरेका थिए । उक्त आयोजनाको मुल्यांकनको गोप्य मापदण्ड नै ईआरएमसी—उदय कन्सल्टेन्सीलाई दिएको खुलेको थियो । गोप्य राख्नुपर्ने प्राविधिक मुल्यांकन प्रस्ताव नै सेटिङ भएको कन्सल्नेन्सीलाई दिएर परामर्शदाता छनौट गरी राज्यलाई ८२ करोड रुपैयाँ घाटा पुर्याएको आरोप उनीमाथि छ ।
त्यस्तै बोहराले एडिबिीको सहयोगमा भवन विभागकै आरयुडीपी आयोजना प्रमुख रहँदा इआरएमसी, उदयलाई नै दक्षिणी करिडोरको २२ करोड र पूर्वि करिडोरको १८ करोड गरि प्रिपेड घुस लिएको आरोप छ ।
एडीबीको क्षेत्रीय सहरी आयोजनादेखि विश्वबैंक लगायतका दाताका अरबौं सहयोग रहेका सबै आयोजनामा रजगज गर्ने बोहरा सहरीमा अकूत सम्पत्ति आर्जन गर्ने सहसचिवमा पर्दछन् । यस्ता भ्रष्ट आयोजना प्रमुख जो मन्त्री र सचिव आए पनि सेटिङ गर्ने गरेका छन् ।
सचिव सिग्देलले यसअघिका निष्कलंक महानिर्देशक मचाकाजी महर्जनलाई हटाएर बद्नाम बोहरालाई ल्याएका हुन् । स्रोतका अनुसार बोहोरा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करोडौँ भ्रष्टाचारको उजुरी परेको छ ।