देउवा, पौडेल, सिटौला र प्रकाशमानलाई शशांकको झड्का : सभापतिमा कोइराला परिवार भिड्ने पक्का !

दियो पोस्ट  


काडमाडौं, १८ कात्तिक कांग्रेसले वर्षेनी दशैंको अवसर पारेर गर्ने चियापान कार्यक्रममा यो वर्ष महामन्त्री डा. शशांक कोइरालाले दिएको एउटा अभिव्यक्तिको चर्चा जति हुनुपथ्र्यो त्यत्ति भएन । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले बिपीले दलहरुबीच मेलमिलापको लागि चियापान चलाएको अझै पनि नेपालमा दलहरुबीच मेलमिलापको खाँचो औल्याए । तर, उनै बिपीका कान्छा पुत्र शशांकको अभिव्यक्ति भने निक्कै फरक थियो ।
‘अझै नेपाली राजनीतिमा कोइरालाको लिगेसी आवश्यक छ,’ उनले भनेका थिए, ‘कोइराला परिवारबाट सभापतिमा दाबी रहन्छ । त्यसका लागि सल्लाह हुँदैछ ।’
उनले चियापानमा यस्तो भनेको विषयलाई धेरैले ख्याल गरेनन् । तर, खास समयमा खास खास रणनीतिक अस्त्र प्रयोग गर्ने शशांकाले योपटक चियापानमा यस्तो अस्त्र फ्याँकेका थिए ।

पूर्व संस्थापनलाई झट्का
१३ औं महाधिवेशनमा शेरबहादुर देउवाले पहिलोपटक कोइराला विरासत भत्काएर पार्टीमा आफ्नो प्रभुत्व जमाएका थिए । तर, यसबाट अत्तालिएका पूर्व संस्थापनका नेताहरु आपसमा विभाजित हुने भन्दा एक भएर देउवाविरुद्ध लड्नुपर्ने साझा बुझाइमा पुगेका छन् । कोइराला परिवारसहितका पूर्व संस्थापनका नेताहरु रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला कसैले पनि अहिले नेतृत्वका लागि दाबी नगर्ने तर, १४ औं महाधिवेशनको मुखमा मात्र कुनै एक नेतालाई अघि सार्ने सहमति गरेका थिए ।
तर, महामन्त्री शशांकले पौडेल, सिंह र सिटौलालाई झट्का दिंदै अझै कोइराला विरासत आवश्यक रहेको भन्दै तीनमध्ये एक कोइराला सभापतिमा अघि सर्ने प्रष्टै बताइदिएपछि नेताहरुमा आशंका उत्पन्न हुने देखिएको छ । किनकी केही दिन अघिमात्रै सुजाता कोइरालाले नेता कृष्णप्रसाद सिटौला र नेता प्रकाशमान सिंहसँग देउवाविरुद्ध मोर्चाबन्दी गर्ने तर अहिले नै कसैले पनि नेतृत्वमा दाबी नगर्ने सहमति गरेका थिए । तर, कोइरालाहरुले सहमति गरेको सहमतिको मसी नसुक्दै शशांकले शेखर र सुजातालाई पनि उपेक्षा गर्दै नेतृत्वमा दाबी बढाएपछि उनीमाथि नै पूर्व संस्थापनकले आशंका गर्ने ठाउँ देखिएको हो । अरुलाई नेतृत्वमा दाबी गर्न नदिने तर, आफै आकांक्षी देखिएपछि अब पौडेल, सिंह र सिटौला कसरी एक ठाउँमा उभिन्छ भन्ने प्रश्न पनि देखिएको छ ।

शशांकप्रति सुजाताकै आशंका
केही दिन अघि सुजाताले नेता प्रकाशमान सिंहसँगको भेटमा नेता शशांकको भूमिकाप्रति नै आशंका व्यक्त गरेकी थिइन् । सभापति देउवालाई बल पुग्ने गरी बोल्ने, पार्टीमा सभापतिलाई सहयोग पुग्ने गरी भूमिका खेल्ने गरेको भन्दै शशांक आलोचित छन् । कहीले हिन्दु राज्य बनाउने, कहिले संघीयतासहितका विषयमा प्रश्न उठ्ने शैलीमा अभिव्यक्ति दिंदा शशांक पार्टीभित्रै आलोचित छन् । पार्टीमा राजनीतिक विषयमा बहस गर्न नसक्ने तर, पदमा पुग्न अनेक छिद्र खोज्ने भन्दै उनी पार्टीभित्र एकदमैं आलोचित छिन् । चियापान जस्तो एकताको सन्देश दिनुपर्ने जमघटमा आफैं सभापतिको रेसमा रहेको प्रष्ट सन्देश दिएपछि उनलाई पौडेल, सिटौला र सिंहले आशंकाको नजरले हेर्ने र आफूहरु एक भएर उनीविरुद्ध मोर्चाबन्दी गर्न सक्ने अवस्था बढेर जाने कांग्रेस स्रोत बताउँछ ।