पहिलो पटक हेर्दा नै एउटी सानी बच्चीलाई अङ्गालेका एक व्यक्तिको यो तस्विर निकै राम्रो देखिन्छ ।
१९३३ मा खिचिएको यो तस्विर निकै राम्रो भए पनि यसको पछाडि लुकेको कहानी भने थोरै दुःखद छ । यो जर्मन तानाशाह र ६० लाख यहुदीहरुको मृत्युको जिम्मेवार एडल्फ हिटलर र यहुदी मुलकी एउटी सानी बालीका रोजा बर्नाइल निनाओको तस्विर हो ।
वरिष्ठ नाजी अधिकारीहरुको हस्तक्षेप हुनुअघि हिटलरले यी बच्चीसँग धेरै वर्षसम्म मित्रता कायम राखिरहे । तर पछि एकाएक यो मित्रता सकियो ।
मेरील्याण्डस्थित अलेक्जेन्डर हिस्टोरिकल आक्सन एजेन्सीको अनुसार हैनरिक हाफमेनले यो तस्विर खिचेका हुन् । यो तस्विर गएको मंगलबार अमेरिकामा ११ हजार ५ सय २० डलरमा लिलामी गरियो ।
लिलामी गर्ने बिल पैनागोपुलसले ब्रिटिस समाचारपत्र दैनिकलाई भने, ‘हिटलरद्वारा हस्ताक्षर गरिएको यो तस्विरलाई यसभन्दा अघि कसैले पनि देखेको नै थिएन ।’
यो तस्विरको खास कुरा के हो भने यसमा बालिका र हिटलरबीचको मित्रता एकदमै प्रिय र साँचो देखिएको छ ।
बिल भन्छन्, ‘हिटलर धेरैजस्तो बच्चाहरुसँग प्रचारको उद्देश्यले नै फोटो खिच्ने गर्थे ।’
हिटलरको प्रेम
हिटलरले २० अप्रिलमा आफ्नो जन्मदिनको दिन यी बच्चीसँग भेटेका थिए । अक्सन वेभसाइडको अनुसार रोजा र उनकी आमा कैरोलिन १९३३ मा बच्चीको जन्मदिनको दिन आल्पसस्थित हिटलरको निवास ‘बर्गोफ’ बाहिर भेला भएको भीडमा सामेल भएका थिए ।
हिटलरलाई सोही दिन रोजाको पनि जन्मदिन भन्ने थाहा भयो । अनि उनले रोजा र उनकी आमा कैरोलिनलाई आफ्नो घर आमन्त्रित गरे । यो तस्विर त्यहीँ नै खिचिएको तस्विर हो ।
केही समयपछि मात्र कैरोलिनकी आमा यहुदी हुन् भन्ने उनले थाहा पाए । तर यसले गर्दा हिटलर र रोजाको मित्रतामा केही असर परेन । हिटलरले नै यो तस्विर आफ्नो हस्ताक्षरसहित रोजालाई पठाएका थिए ।
उनले यसमा, ‘प्रिय रोजा निनाओ, एडल्फ हिटलर, म्युनिख, १६ जुन, १९३३,’ लेखेका थिए ।
तस्विरमा हेर्दा रोजाले पछि त्यसमा आफ्नो स्ट्याम्प लगाएको र त्यसमा कालो र सेतो फूल बनाएको जस्तो देखिन्छ ।
१९३५ र १९३८ को बीचमा रोजाले हिटलर र उनको नजिकका व्यक्ति विलहेम ब्रक्नरलाई कम्तिमा पनि १७ पटक चिठी लेखिन् । तर हिटलरका निजि सचिव मार्टिन बर्मनले रोजा र उनकी आमालाई हिटलरसँग अब कुनै प्रकारको सम्पर्क नराख्न आदेश दिए ।
फोटोग्राफर हाफमेनका भनाइअनुसार उनको यो आदेशबाट हिटलर खुसी थिएनन् । आफ्नो पुस्तक ‘हिटलर माइ फ्रेन्ड’मा हाफमेनले हिटलरले उनीसँग केही यस्ता मानिसहरु पनि छन् जसको प्रतिभा नै मेरो सार खुुसी बर्बाद गर्नु हो भनर आफ्नो निजि सचिवसँग असन्तुष्टि जनाएका थिए भन्ने उल्लेख गरेका छन् ।
दुःखदायी अन्त्य
हाफमेनको १९५५ मा प्रकाशित भएको यो पुस्तकमा दुदैको एउटा अर्को पनि तस्विर राखेका छन् । तस्विरको क्याप्सनमा, ‘हिटलरको प्रेम : उनले बच्चीलाई बर्गोफ (हिटलरको आवास) मा नै देख्न मन पराउँथे तर पछि कसैलाई थाहा भयो कि उनी आर्य वंशका थिइनन् ।’ लेखेका छन् ।
हिटलरको निजि सचिवको तर्फबाट रोजा र हिटलरको सम्पर्क बन्द गरिदिएपछिको अर्को सालदेखि द्वितीय विश्वयुद्ध शुरु भयो ।
६ वर्षपछि जब युद्ध सकियो ६० लाख यहुदी मारिइसकेका थिए ।
युद्धको क्रममा नै रोजाको पनि मृत्यु भयो । हिटलरसँग पहिलोपटक भेटिएको एक दशकपछि १९४३ मा म्युनिखको एउटा अस्पतालमा १७ वर्षको उमेरमा पोलियो लागेर रोजाको मृत्यु भएको थियो ।
बीबीसी हिन्दीबाट अनुवाद