नक्कली सुन देखाएर पैसा लुट्ने समूहमा दुई प्रहरी हवल्दार
काठमाडौं, मंसिर १३ । नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ । घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हवल्दार भएको खुलेको हो ।
महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सिआरभी टोलीले राति ११ बजेतिर लुटपाटस्थलनजिकै एक केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको थियो । प्रहरीले औपचारिक रूपमा दुई हवल्दारको नाम सार्वजनिक नगरे पनि स्रोतले उनीहरू महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शालिग्राम विक र बालाजु वृत्तमा कार्यरत मोहन बम रहेको बतायो ।
प्रहरी स्रोतले भन्यो, ‘बल्खुमा नक्कली सुन देखाएर नगद लुटपाट घटनमा प्रहरी हवल्दारकै संलग्नता देखिएको खुलेको छ । त्यसमध्ये एक ललितपुर परिसर र अर्का बलाजु वृत्तका हवल्दार हुन् ।’
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेस थापाले पनि प्रहरी संलग्नता रहेको सूचना प्राप्त भएको बताए । ‘सुन देखाएर लुटपाटमा प्रहरीको संलग्नता भएको भन्ने मैले पनि सुनेँ । मातहतका निकायलाई घटनामा जोसुकै संलग्न भए पनि अनुसन्धान गरेर कडा कारबाही गर्न भनेको छु,’ डिआइजी थापाले भने, ‘घटनामा संलग्न रहेछन् भने उनीहरूविरुद्ध फौजदारी मुद्दा चल्छ । मैले निर्देशन दिइसकेको छु ।’
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले भने घटना अनुसन्धानकै क्रममा रहेकाले केही बताउन नमिल्ने बताए । नक्कली सुन देखाएर लुटपाट गरिएको भने साँचो भएको उनको भनाइ छ ।
हवल्दारद्वय हत्कडीसहित पुगेका थिए
नक्कली सुन बेचेर पैसा लिने समूहको योजना थियो । सुन नकिने लुट्ने तयारी पनि थियो । प्रहरी स्रोतका अनुसार समूहको नेतृत्व हवल्दारद्वय शालिग्राम विक र मोहन बमले नै गरेका थिए । उनीहरू हत्कडीसहित कारोबारस्थल पुगेका थिए । उनीहरूकै संलग्नतामा बा.१०च ८९९२ नम्बरको टाटा डिआई गाडीमा एक केजी नक्कली सुन ल्याइएको थियो । सुन तौलिने इलेक्ट्रिक तराजु र धातु काट्ने कैँची पनि गाडीभित्रै थियो । खरिद गर्नेले नक्कली सुन थाहा पाएर किन्न आनाकानी गरेपछि समूहले धम्क्याएर लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले तीनजनाको नाम मात्रै सार्वजनिक ग-यो
प्रहरीले भने पक्राउ परेका तीनजनाको मात्रै नाम सार्वजनिक गरेको छ । ललितपुर सानेपाका २८ वर्षीय गोपाल विक, ललितपुर पाटन बंगलामुखीका २७ वर्षीय सञ्जयकुमार तिरुवा र दाङ राप्ती–२ का २७ वर्षीय शिव कुमालको नाम सार्वजनिक गरेको हो । लुटिने व्यक्तिको नाम भने सुरक्षाका कारण सार्वजनिक नगरिने प्रहरीले जनाएको छ ।
लुटपाटमा प्रहरी संलग्नताको सूचना पाएँ
डिआइजी शैलेस थापा
प्रमखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी
सुन देखाएर भएको लुटपाटमा प्रहरी संलग्नता भएको भन्ने पनि सूचना आयो । मातहतका निकायलाई घटनामा जोसुकै संलग्न भए पनि अनुसन्धान गरेर कडा कारबाही गर्न भनेको छु । घटनामा संलग्न रहेछन् भने उनीहरूविरुद्ध फौजदारी मुद्दा चल्छ । मैले निर्देशन दिइसकेको छु ।