पत्रकार खेम भण्डारी ‘तुच्छ सजाय’को कैद भुक्तानका लागि जेल चलान

पत्रकार खेम भण्डारी ‘तुच्छ सजाय’को कैद भुक्तानका लागि जेल चलान

काठमाडौँ, मंसिर ३ । पत्रकार खेम भण्डारी जेल चलान भएका छन् । गत असारमा जिल्ला अदालत कञ्चनपुरले गरेको फैसला अनुसार ‘तुच्छ सजाय’को कैद भुक्तान गर्नका लागि भण्डारी जेल चलान भएका हुन् ।

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणलाई ट्वीस्ट एन्ड टर्न गरेर रहस्यमय बनाएको ठहर गर्दै जिल्ला अदालतका तात्कालिन न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले भण्डारीलाई एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय सुनाएको छ ।

मानसखण्ड दैनिकमार्फत भण्डारीले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणलाई तोडमोड गरेर प्रकाशन गरेको भन्दै अदालतले तुच्छ सजाय अन्तर्गत एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायको फैसला सुनाएको हो ।

एक रुपैयाँ जरिवाना र एक घन्टा थुनाको अदालतको फैसला पनि रोचक छ। ‘यस्तो सजाय पाएको व्यक्तिले मलाई सानो सजाय गर्यो भनेर मख्ख पर्नु भन्दा पनि म कति तुच्छ रहेछु जहाँ मेरो लागि सजाय पनि उपयुक्त भएन भनेर सोच्नु पर्नेहुन्छ’, फैसलामा भनिएको छ, ‘यदि सो कसुरदारले सोचेन भने पनि सो सजाय पायो भनेर सुन्ने व्यक्तिले सो व्यक्तिलाई तुच्छताको धारणा बनाउन सक्ने हुन्छन्। यस्तो प्रकृतिको सजाय निकै खतरनाक हुन्छ। बरु एक वर्ष कैद बस्न उपयुक्त हुन्छ। सही सद्दे मानिसलाई एक मिनेटको कैद वा एक दामको जरिवाना सामाजिक एवम् मानसिक रुपमा पीडादायक हुन्छ।’

पत्रकार भण्डारी एक घण्टाको जेल सजाय भोगेर मंगलबार नै जेलबाट फर्किसकेका छन् । उनले जेल जानुअघि सामाजिक संजालमार्फत समेत जानकारी गराएका थिए । ‘कन्चनपुर बारले मेरा बिरुद्ध हालेको अपहेलना मुद्दामा भएको फैसलामा मलाइ पुनरावेदनको मौका नै नदिइ पक्राउ गर्ने निर्देशन दिएको थाहा पाए’ उनले लेखेका छन् ‘त्यसैले म अहिले नै जिल्ला अदालत जादैछु ।’

Trending News