हुम्लामा टिपर दुर्घटना, ४ जनाको मृत्यु

दियो पोस्ट  

सिमिकोट । हुम्लामा भएको टिपर दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट नेपाल खाद्य सँस्थानको चामल ल्याएर सदरमुकाम सिमिकोट आउँदै गरेको लुख ३२६९ नम्बरको टिपर बुधबार सिमकोट डाँडा लाग्नामा दुर्घटना भएको थियो ।

दुर्घटनामा नाम्खा गाउँपालिका(१ हेप्का गाउँका ४५ वर्षीय छिरिङकार्मा लामा, ३५ वर्षीय नरी लामा, खार्पुनाथ गाउँपालिका १ प्युसका बबरजंग शाही र स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी सिमकोट ६ का बक्त रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

३ जनाको घटनास्थलमै र बक्त रोकायाको उपचारका क्रममा हुम्ला जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हो ।

घाइते हुनेहरुमा सर्केगाड ३ उनापानीका अंग फडेरा, सिमकोट ६ का खगेन्द्र रावत, रामकुमार सुनार, नरवीर सुनार, अकिल रोकाया, कमल भण्डारी, सिमकोट ७ डाडाँफायाका सन्तोष सुनार, नाम्खा गाउँपालिका १ हेप्का नुटुप लामा, नाम्गेल तामाङ, सिउधर तामाङ र खार्पुनाथ ५ का धनसिंह सुनार रहेका छन् ।

दुर्घटनामा घाइतेमध्ये नाम्गेल तामाङ, सन्तोष सुनार खगेन्द्र रावत र अंग फडेरा अवस्था गम्भीर छ । चालक आनन्द तामाङसहित डिचिन तामाङ र उनकी छोरी सन्ध्या पाण्डे भने सामान्य घाइते छन् ।

कर्णाली प्रदेका सामाजिक विकासमन्त्री दल रावल र प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको पहलमा घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । बिहीबार सदरमुकाम सिमकोटबाट ११ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

मन्त्री रावलका अनुसार घाइतेलाई उपचारका लागि नेपालगञ्ज भेरी अञ्चल अस्पताल पठाइएको छ । उपचारका लागि प्रदेश सरकारले थप सहयोग गर्ने प्रतिबद्धतासमेत उनले गरे ।

दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि नेकपा हुम्लाले एक लाख सहयोग सहयोग गरेको छ । नेकपा कर्णली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले उक्त रकम जिल्ला समन्वय समितिका हुम्लाका संयोजक दानबहादुर रावतलाई हस्तान्तरण गरेका थिए ।

यस्तै मन्त्री दल रावलले व्यक्तिगत रुपमा १० हजार रुपैयाँ सहयोग गरेका छन ।