सागको पूर्व सन्ध्यामा आइजीपी सर्वेन्द्र खनाल विमानस्थलको छड्के निरिक्षणमा !

दियो पोस्ट  

काठमाडौ, १३ मंसिर । १३ औँ दक्षिण एशीयाली खेलकुद प्रतियोगिता (साग)को पुर्व सन्ध्यामा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के निरिक्षण गरेका छन् ।

शनिबार बिहान एक्कासी छड्केमा पुगेका आईजीपी खनालले १३ औं दक्षिण एसियाली खेलकुद सागको सुरक्षालाई मध्यनजर गर्दै विमानस्थल सुरक्षामा कार्यरत प्रहरीहरुलाई निर्देशन समेत दिएको बताइएको छ। छड्के निरीक्षणका क्रममा आईजीपी खनालले सुरक्षा उपकरण र साधन स्रोतबारे जानकारी लिएका छन् ।

विमानस्थलमा सुरक्षालाई अझ प्रभावकारी बनाउन आईजीपी खनालले सुझाव समेत दिएका छन् । केही दिन यता चिनिया नागरिकहरुले सुन तस्करी गरिरहेको समाचार आइरहेका बेला आईजीपी खनालले अवैध तस्करी र आपराधिक क्रियाकलाप रोक्नका लागि कुनै पनि कसर बाँकी नराख्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएको एक प्रहरी अधिकारीले वताए ।

आईजीपी खनालले शुक्रबार मात्र मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता तथा १४ गते हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका लागि मातहतका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका थिए ।