प्रदेश प्रमुख तिलक परियार दम्पत्तिको संघर्षकथा : चन्द्राले सुनेको तिलकको मृत्युको त्यो खबर !

दियोपोस्ट संवाददाता

रीता बुढाथोकी
काठमाडौं, १४ मंसिर । चन्द्रा परियार, ६३ । बाल्यकाल देखि नै विद्रोही स्वभावकी थिइन् । रोल्पाको खुमिल गाबिस, वडा नं. ३ मा जन्मिएकी उनी बुवा दलजित परियार र आमा पम्फा परियारका तीन छोरीहरु मध्ये माइली छोरी हुन् । छोरा नभएका कारण छोरीको विवाह नगरिदिने आमा बुवाको इच्छा थियो । यदि गर्नै परे घरज्वाँइ राख्ने पक्षमा थिइन् आमा । चन्द्रा पनि आमाको कुरामा केही हदसम्म सहमत थिइन् ।


त्यतिबेला चन्द्राका बुवा भरतीय सैनिकबाट अवकाश पाइ स्वदेश फर्किएका थिए । आमाले गोठभरि भैँसी र बाख्रा पालेकी थिइन् । घरमा दुध दहिको कमी थिएन । पेन्सनपछि बुवा गाउँमै बस्न थाले । उनकोे ‘सैनिके गफ’ सुन्न गाउँभरिका मान्छे घरमा भेला हुन्थे । घरमा आउने आगन्तुकलाई आमाले दुध, दही, मही खुवाएर पठाउँथिन् । प्राय जसो नयाँ–नयाँ मान्छे बुवालाई भेट्ने भन्दै घरमा आइरहन्थे । एक दिन भुमी सुधार कार्यालयका हाकिम घरमा दहि खान आए । आमाले हाकिमलाई पनि दही खान दिइन् । बुवाले हाकिमको घर, थर, पेसा बारे सबै सोधपुछ गरे । रोल्पाकै परियार थरका हामिक रहेछन् । ‘परियार’ थर भनेपछि हाकिमप्रतिको बुवाको धारणा एकाएक बदलियो । पहिलो भेटमै बुवाले हाकिमलाई बढो माया देखाए ।

SONY DSC


जाँड रक्सी नखाने, पढेलेखेका, मिजासिलो स्वभावका ‘हाकिम’ घरमा आउने क्रम बाक्लिदैँ गयो । हाकिमले बुवासंग राजनीतिका कुरा गर्थे । समयक्रमसँगै हाकिम त्यो परिवारका एक सदस्य जस्तै भइसकेका थिए । जागिरको क्रममा खुमिल पुगेका हाकिमलाई चन्द्राको घर पनि आफ्नै घर जस्तै लाग्थ्यो । त्यसैले पनि उनी बेला बेलामा दुध दही खाने बहानामा त्यहाँ गइरहन्थे । यो क्रम करिब एक वर्षसम्म चलिरह्यो ।

‘चन्द्रा निकै रुपमती थिइन् । चिटिक्क मिलेको जीउडाल, गोरो वर्ण, कम बोल्ने तर, अन्याय नसहने । चन्द्राकोे रुपको प्रशंसा गाउँभरि हुन्थ्यो । उनलाई गाउँकै दुइ/चार जना तन्नेरीले मन नपराएका पनि होइनन् । वल्लो पल्लो गाउँबाट उनकाे हात माग्न आउनेको पनि कमी थिएन । घरज्वाँइ बस्न तयार नभएर होला, चन्द्रालाई मन पराउनेहरु पनि रित्तै फर्किन्थे ।


२०३३ साल ताकाकाे कुरा हाे । चन्द्रा २१ वर्ष वर्षकी थिइन् । चन्द्राले घर छाडेर भागेको हल्ला गाँउभरी चल्यो । “कहाँ गइ होली, कोसंग भागि होली” भन्ने चिन्ताले आमालाई सतायो । छोरी हराएको पीडाले आमाले केही दिन खाना खाइनन् । त्यसको भोलि पल्टै गाउँमा अर्को हल्ला पनि चल्यो । भूमिसुधारका हाकिम पनि भागेछन् । बुवा स्वभावैले कडा । चन्द्राले बुवाको सैनिक अनुशासनको पर्खाल नाघेर भाग्नु त्यो समयको महानता थियो । उनलाई लिएर भाग्ने व्यक्ति थिए हाल प्रदेश नम्बर २ का प्रमुख तिलक परियार ।


‘त्यही हाकिमले छोरी भगाएछ,’–बुवा आमाले अड्कल काटे । ‘जे भए पनि केटा पढेलेखेकै छ, जाँड रक्सी खाँदैन, जागिरे पनि हो, मेरो छोरी नपढेको भए पनि ज्वाँइ चाँही पढेकै परे भनेर बावु आमाले चित्त बुझाए,’ चन्द्राले विगत सम्झिइन् ।


चन्द्रालाई भगाएर तिलक रातारात भारततर्फ हानिए । दाङ्गको घोराही, तुलसीपुर, कोइलावास हुदैँ रेल चढेर उनीहरु दिल्ली पुगेका थिए । ‘उहाँसँग विहे गर्छु भनेर कहिल्यै सोचेँकी थिइन, त्यो पनि भागेर जाने कुरा त मनमै थिएन । तर, मेरो भागमा भागेरै विहे गर्न लेखेको रहेछ, बुवाको इच्छा नहुँदा नहुँदै पनि मैले भगेर विहे गरेँ,’ चन्द्राले आफ्नो बिगत कोट्याइन् ।

SONY DSC

०००


पहिलो पटक घर छोडेर भागेकी चन्द्रालाई दिल्ली शहर निकै नौलो र अनौठो लाग्यो । त्यो शहर, जहाँ उनले बुझ्ने भाषा थिएन । हिन्दी भाषा नबुझेर कैयौँ पटक टोलाउथिन् । त्यसैले पनि दिल्ली शहरमा उनलाई सबै कुरा बिरानो लाग्यो । जे होस्, उनीसँग माया गर्ने जीवन साथी थिए । उनकै मायामा सबै अप्ठ्यारा बिर्सिन्थिन् ।


चन्द्राले घरवाट निस्किने बेला ७ तोलाजति सुन लिएर गएकी थिइन् । त्यही सुन बेचेर उनीहरुले कोठामा आफुलाई चाहिने बन्दोवस्तीका समान किने । अनि शुरु भयो तिलक र चन्द्राको बैवाहिक जीवन यात्रा ।


दिल्लीमा तिलक कारखानाको काममा लागे । विहानको खाना खाएर उनी काममा जान्थे । चन्द्रा भने दिनभरि एक्लै कोठामा बस्थिन् । मनको कुरा साट्ने मान्छे दिनभरि कोही हुँदैनथेँ । अनजान ठाउँमा कहाँ जानु ? उनी आफैसंग कुरा गर्थिन्, आफै लजाउथिन् अनि आफै चित्त बुझाउँथिन् । एवम् प्रकारले परदेशमा उनको दिनचर्या बित्दै थियो ।

SONY DSC


एकदिन तिलकले ‘मेरा साथीहरु’ भन्दै केही मान्छेलाई घरमा लिएर आए । सबैसँग परिचय गराइदिए । मोहन बिक्रम, निर्मल लामा, गोबिन्द थापा…. सबैले आ–आफ्नो परिचय दिए । ‘श्रीमानका साथी’ भनेर उनले सबैलाई खाना पकाएर खुवाइन् । उनीहरुले राजनीतिक कुरा गरे । चन्द्राले अड्कल काटिन्, ‘पक्कै पनि यीनीहरु राजनीति गर्ने मान्छे होलान् ।’ त्यो दिनदेखि दिनहुँ जसो नयाँ–नयाँ मान्छे आउने क्रम बाक्लिदैँ गयो । पारीजात, मनमोहन अधिकारी, मोहन बैद्य लगायत कैयौँ मान्छे आइरहे । उनीहरु कोठामा बसेर राजनीतिक कुरा गर्थे । घरमा साथीहरु जम्मा पारेर तिलकले बैठक बसाल्थे । तिलकले कारखानाकाे काम भन्दा राजनीतिक भेटघाट र बैठकहरुमा धेरै समय दिन्थे । महिनामा जम्मा हप्ता–दश दिन मात्र काममा जाने भएकाले घरखर्च जुटाउन मुस्किल हुन थाल्यो । यसरी प्रवासमै अभावकाे सामना गर्नु पर्याे चन्द्राले ।


पुराना कम्युनिष्ट नेता खोपीराम आचार्य (मोहन बैद्यका ससुरा) त्यतिबेला दिल्लीमै बस्थे । उनले आँखा देख्दैनथे । चन्द्रा दिनभरि कोठामा एक्लै बस्ने भएकाले बैद्यले ससुरालाई चन्द्राको कोठामा ल्याएर राखिदिएका थिए । चन्द्राले खोपीरामलाई लामो समयसम्म खाना पकाएर खुवाइन् । हातमा डोह्राएर दिसा पिसाव गराउँथिन् । कपडा धोइदिन्थिन् । खोपीरामले निकै गहकिला कुरा गर्थे । राजनीतिक दर्शन र शास्त्रका कुरा सुनाउँथे । खोपीरामका कुरा सुनेर चन्द्रा छक्क पर्थिन् । उनकै कारण चन्द्राभित्र राजनीतिक चेतना पलाएको थियो । गाउँकी सोझीसाझी अनपढ केटी केही महिना भित्रै एकाएक राजनीतिक प्रशिक्षण दिन सक्ने भइसकेकी थिइन् ।


पहिलो पटक आमा

दिल्ली गएको एक वर्षपछि पहिलो सन्तानको रुपमा चन्द्राले छोरी जन्माइन् । त्यसपछि उनीमाथि सन्तानप्रतिको जिम्मेवारी थपियो । सानी दुधे नानी काखमा च्यापेर उनी दिल्लीमा बस्ने नेपालीहरुलाई भेट्न पुग्थिन् । उनीहरुलाई राजनीतिक प्रशिक्षण दिन्थिन् । नेपालबाट कम्युनिष्ट नेताहरु दिल्लीमा गएर कार्यक्रम गर्थे । उक्त कार्यक्रमको सबै चाँजोपाजो तीलक र चन्द्राले मिलाउँथे । चन्द्रा एक महिना अघिदेखि नै प्रचार प्रसारमा जुट्थिन ।


चन्द्रालाई कार्यक्रमको स्वंयमसेवक बनाइएको हुन्थ्यो । भिड व्यवस्थापन गर्ने उनको दायीत्व थियो । केही भिजिल्यान्तेहरुले गुण्डा प्रयोग गरेर कार्यक्रम बिथोल्न खोज्थे । चन्द्राले ति गुण्डालाई नियन्त्रणमा लिएर कुट्थिन । उनी निकै बलियी र आँटीली पनि थिइन् । कैयौँ पटक उनको कुटाइ खाएर ति गुण्डाहरु भागेका थिए ।


चन्द्राले गुण्डालाई कुटेर भगाएको हल्ला दिल्ली भरि नेपाली बस्तीहरुमा फैलियो । घटनापछि मोहन बिक्रम, मोहन बैद्य र निर्मल लामाले चन्द्राको खुलेरै प्रशंसा गरे । त्यसपछि नेताहरुले उनलाई एरिया कमिटी सदस्य (क्षेत्रीय सदस्य) बनाउनु पर्छ भनेर प्रस्ताव राखे । उनी क्षेत्रिय सदस्य भइन् । यसरी प्रत्यक्ष राजनीतिमा चन्द्रा अब्वल देखिइन् ।


पहिलो छोरी तीन वर्षकी थिइन् । चन्द्रा दोस्रो पटक गर्भवती भइन् । बच्चा जन्मिने समय नजिकिँदै थियो । त्यतिबेला कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ बिरामी भएर उपचार गर्न दिल्ली गएका थिए । श्रेष्ठ दिल्लीकाे अस्पतालमा आएको खबर सुन्नासाथ तिलक एकाविहानैै घरबाट निस्किए । भारतमा राजनीतिमा क्रियाशिल भएको आरोपमा तिलक त्यहाँको प्रशासनको नजरमा थिए ।

तिलक अस्पताल नपुग्दै बाटैबाट पक्राउ परेछन् । यता, विहानैदेखि सुत्केरी ब्यथाले च्याँपेर चन्द्रा छटपटाई रहेकी थिइन् । श्रीमान पक्राउ परेकोबारेमा उनी बेखबर थिइन् । छोरी सम्हालिदिने कोही थिएन । ‘अहिलेको जस्तो फोनको सुबिधा भएको भए फोन गरेर आफुलाई परेको समस्याका बारेमा भन्न सकिन्थ्यो । त्यतीबेला फोन भन्ने थाहा नै थिएन ।’, चन्द्राले त्यो दिन सम्झिइन् । चन्द्रा डेरामा एक्लै छटपटाउदैँ थिइन्, त्यसैबेला तीलकका साथीले उनी पक्राउ परेको खबर लिएर आए । एकातिर प्रसव पीडा खपिनसक्नु थियो दूर्भाग्य यता श्रीमान पक्राउ परेको खबर ।

भान्सामा दाल चामल केही पनि थिएन । प्रसव पीडा र श्रीमान आउने प्रतिक्षामा रुँदै दिन बिताइन् । ‘नानी कसले सम्हालिदेला ? सुत्केरी कसरी उम्काउने होला, मलाई यस्तो अप्ठ्यारोमा छोडेर कहाँ जानु भए होला ?’ चन्द्रा सम्झिन्छिन्,‘जस्तो पर्ला उस्तै सहुँला भनेर बसेँ ।’ तर सुत्केरी ब्यथाले च्याप्न थालेपछि उनी चिच्याउन थालिन् । पल्लो कोठामा बस्ने छिमेकी महिलाले उनी रोएको सुनिछन् ।

हिन्दी भाषामा ‘क्या हुआ ? भन्दै ढोकाबाट चिहाइन् । चन्द्रा प्रसव पीडाले छट्पटाइरहेकी थिइन् । उनको पीडामा ती छिमेकी महिलाले साथ दिइन् । एकछिन पछि छोरा जन्मियो । प्रसव ब्यथा र भोकले आक्रान्त बनेकी उनी र नवजात शिशुलाई सम्हाल्ने कोही थिएन । ती छिमेकीले दाल र चामल ल्याएर उनको कोठामा राखिदिएर गइन् । तर कसले पकाएर देला ? उनी रुँदै बच्चा काखमा च्यापेर बसिरहिन् ।


चन्द्रा जर्वजस्ती उठ्ने प्रयास गरिन, रक्तश्रावका कारण उठ्न सकिनन् । घस्रेर भान्सामा गइन् । मट्टीतेलको स्टोभ बाल्न खोजिन्, हात काँपेर थरथराए । लामो प्रशव पीडा, नवजात शिशुसँगै अर्को ठूलो छोरीपनि एक्लै सम्हाल्नु पर्ने वाध्यता, त्यसमाथि भोकले पेटमा घण्टी बजाइरहेको थियो । उनको शरिर सुन्निएको थियो । स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै गयो । बिस्ताराबाट ओर्लिन पनि सकिनन् । जेल परेका श्रीमानको प्रतिक्षामा दुई दिन बिते । दुई दिन पछि बल्ल श्रीमान आए । चन्द्राको अवस्था देखेर तिलक आत्तिए । त्यसपछि तुरुन्तै अस्पताल लिएर गए ।


सुत्केरी अवस्थामै घरको सबै काम उनी आफैले सम्हाल्न थालिन् । तिलक विहानैै कारखाना र संगठनको काममा जान्थे । विहानै घरबाट निस्केका उनी एकैचोटी राती घर फर्किन्थे । दिन भरि तीलकका साथीहरु घरमा आउथेँ । उनीहरुलाई खाना पकाएर खुवाउनु, बच्चा सम्हाल्नु उनी एक्लैलाई निकै कठिन थियो । तर, उनीे त्यो कठिनाइसंग अभ्यस्त बन्दै गइन् । ‘दिल्ली नेपाली एकता समाज’ गठन गरेर तिलक परियारले त्यहाँको राजनीति सुरु गरेका थिए । होटलमा काम गर्ने नेपाली बालबालिकाको उद्धार गरेर नेपाल पठाइदिने, दुख पाएका नेपालीलाई सहयोग गर्ने भएकाले पनि नेपालीका माझ उनी निकै लोकप्रीय थिए । उनलाई सबैले विश्वास गर्थे ।


चन्द्रा आफै पनि मजदुरका पक्षमा आवाज उठाउँथिन् । दुधे नानी बोकेर नेपालीहरुका घर–घरमा पुगेर संगठन बनाउँथिन् । नेपाली महिलाहरुलाई आफ्नो अधिकारको बारेमा सचेत बनाउँथिन् । अन्याय नसहन सुझाव दिन्थिन् । दिल्लीमा बस्ने नेपाली महिलाहरुको नेत्तृव उनी आफैले गरेकी थिइन् ।

०००


चन्द्रा र तिलक दिल्ली बस्न थालेको तीन वर्ष भइसकेको थियो । घरबाट निरन्तर चिठ्ठी आउन थाल्यो । ‘बुहारी र नाती नातिनी नेपाल लिएर आाउनु’ भनेर बुवाले चिठ्ठी पठाएका रहेछन् । त्यसलगत्तै २ जना काखे बच्चा च्यापेर उनीहरु नेपाल फर्किए । त्यतिबेलासम्म तिलकका बुवा आमा लगायत स–परिवार रोल्पाबाट बसाइ सरेर बाँकेको कोहलपुर आइसकेका थिए ।
नेपाल आएपछि तिलक केहीदिन घरमै बसे । श्रीमती र बालबच्चालाई आफ्ना बुवा-आमाको साथमा छोडेर तिलक पूनः दिल्ली फर्किए । बालबच्चाकाे स्याहार सुसार, सासु ससुराकाे अटन खटन, खेती पाती, घरको काम चन्द्राको काँधमा आइलाग्यो ।


दिल्लीबाट कोहलपुर आएपछि उनका अशैह्य दुखका दिन सुरु भए । केही दिनमै सासु सुसुराले उनीमाथि वचन लगाउन सुरु गरे । ‘भागेर आएकी बुहारी, काम गर्न नजान्ने, भनेको नमान्ने, जिद्धी स्वभावकी’, …. दिनहुँजसाे यस्तै–यस्तै आरोप खेपिरहिन् । अन्याय नसहने बानीका कारण उनी घर परिवारबाटै आलोचित बनेकी थिइन् । केही सवाल गर्याे भने ‘पोथी बास्यो’ भनेर ससुराले कैयौँ पटक बचन लगाए । सुरुका केही दिन राम्रै भएपनि बिस्तारै उनलाई घरबाट अलग्याउने योजना भइरहेको थियो ।

‘सबैको आँखाको कसिंगर भएर बस्नु भन्दा बेग्लै बस्न पाए आफ्नै दुख गरेर खाने थिएँ,’ उनलाई लाग्यो । केही दिनपछि ससुराले छुट्याएर अलग्गै बस्ने बन्दोबस्त मिलाईदिए । अलिकती खेती गर्ने जग्गा र फुसको छाना सहितको बाँसको भाटामा हिलो छ्यापेर बनाइएको दुई कोठे घर उनको हिस्सामा पर्यो । चन्द्रा साना बच्चालाई लिएर त्यही घरमा बसाई सरिन् । घर नजिकै जंगल थियो । जंगली जनावर र सर्पको डर उत्तिकै थियाे । उनी कैयौँ रात चैनको निद्रा निदाउन सकिनन् ।


तिलक प्रत्येक वर्ष नेपाल आउँथे । नेपालमा पनि उनी राजनीतिक गतिविधिमा संलग्न हुन्थे । शायद ! राजनीतिको बाटो बाँगोटिङ्गो भएर होला, तिलक स्वंयमको जिन्दगी पनि कहिल्यै स्थिर भएन । विभिन्न खाले मुक्ति आन्दोलनमा सहभागी भएको आरोपमा उनी प्रवासमै कैयौँ पटक जेल परेका थिए । नेपाल फर्केपछि पनि उनी जेल पर्ने क्रम रोकिएन । २०४६ सालको जन आन्दोलनताका तिलक आफ्नै गृह जिल्ला बाँकेबाट आन्दोलनमा सहभागी थिए । त्यतीबेला पनि उनी कैँयाैँ पटक जेल परे ।


जेल परेका श्रीमानलाई छुटाउन चन्द्रा बच्चा बोकेर चौकी धाउँथिन् । ‘उहाँ निर्दोष मान्छे हो, मान्छे मार्नु भएको छैन, कसैको चोरी गर्नु भएको छैन, कसैको छोरी चेली बिगार्नु भएको छैन, गल्ती गरेको प्रमाण देखााउनुस् न, बिना कारण निर्दोष मान्छेलाई किन थुन्नुहुन्छ?’ चन्द्राले आफूले तत्कालिन प्रहरीलाई आफ्नो श्रीमान छुटउन गरेको आग्रह सम्झिइन् । यसरी उनले प्रहरीबाट श्रीमानलाई छुटाएर ल्याएकी थिइन् ।


०००

जेलबाट छुटेपछि तिलक दिल्ली फर्किए । छ महिना पछि घर फर्किन्छु भनेका श्रीमान २ वर्षसम्म फर्केनन् । छोरा छोरीले बुवा खोज्न थाले । किन नआएका होलान ? उनी निकै आत्तिइन् । वर्षायाम सुरु भयो । घरको छाना चुहेर रात भरि सुत्न सकिनन् । बच्चाहरु रातमा कटौँरा थापेर बसे । घरको छानो टालिदिने कोही भएनन् । एवम प्रकारले हिउँद पनि सुरु भयो ।


वर्षैपिच्छे सुत्केरी हुँदा शरिर निकै गलिसकेको थियो । एक मुठी ताकत जुटाउन पनि हम्मे हम्मे पर्थ्याे । गलेको जिउ । त्यतिबेलासम्म उनी तीन छोरा र चार छोरी सहित सात सन्तानकी आमा भइसकेकी थिइन् । धेरै सन्तान जन्माउनु एउटी महिलाका लागि कम चुनौतिपूर्ण कार्य थिएन । त्यो भन्दा ज्यादा चुनौति थियो उनीहरुलाई एक्लैले हुर्काउनु । त्यसमाथि गाइभैँसी, खेतिपाती, घर ब्यवहार त छँदैथियाे ।

चन्द्राले रातको चार बजे उठेर गोठको काम सकाउँथिन् । भैसी दुहेर बाल्टिन भरि राख्थिन् । उज्यालो नहुँदै दुध बेच्न बजार पुग्थिन् । खेतीपाती र घाँस दाउरामा कति बेला रात पर्थ्याे पत्ताे हुँदैनथ्याे । बेलुकी घर पुगेर चुलाे चाैकाे पनि गर्नै पर्ने । मानौँ, उनी एक यन्त्र मानव हुन् । शारिरिक परिश्रम र मानसिक पीडाले थिलाेथिलाे हुँदा पनि बिश्राम लिन नपाइने ।


जब खेतमा बाली लगाउने बेला हुन्थ्यो, त्यतिबेला उनी खेत जोत्ने मान्छे खोज्न गाउँभरि चाहार्थिन् । तर, उनको खेत जोत्न कोही तयार हुँदैनथे । त्यसपछि उनी आफैले खेत जोतेर बाली उतार्न कस्सिन्थिन् । ‘आइमाइ मान्छेले गाेरु जाेतेकाे’ भनेर कन्ला माथिबाट हेर्नेकाे ताँती लागेकाे हुन्थ्यो । उनी बेपरवाह खेत जाेतिरहन्थिन् । धान गहुँ, फापर, दाल जस्ता अनाजले भकारी भर्थिन् । तरकारी सबै आफ्नै खेतमा फलाउँथिन् । उनले गरेको मेहनत देखेर आफ्नाहरु नै डाहा गर्थे । ‘यो आइमाइ त जर्वजस्त रहिछ ।’, गाउलेहरुले उनको कुरा काट्थे ।


श्रीमान संम्पर्कमा नआएको पीडा, घर खेतको काम, आफन्तको अपमान, सात जना सन्तानको जिम्मेवारी वास्तवमा कहाँ सजिलाे थियाे र दैनिकी चलाउन । तर,पनि यसैगरि जसाेतासाे उनको दैनिकी चलिरहेको थियो । कहिलेकाँही मनमा अत्यन्तै पीडा बोध हुन्थ्यो । मनमनै दुःखी हुन्थिन् । अनि आफै सम्हालिन्थिन् । ‘आफैले रोजेर विवाह गरिस्, तैँ आफैले गरेको व्यवहार हो, दुख नपाउनु, दुख पाए पनि आफै सम्हाल्नुु,’ विहेपछि पहिलो पटक माइती जाँदा चन्द्राका बुवाले यही भनेका थिए । बुवाकाे बचन सम्झेर पनि उनले माइतीमा गएर आँसु झारिनन् ।

जनयुद्ध र भुमिगत जीवन


२०५२ फागुन १ देखि देशमा जनयुद्ध शुरु भयो । दुईवर्षदेखि सम्पर्कमा नआएका तिलक एकाएक नेपाल फर्किए । नेपाल आएको केही दिनमै उनी पार्टीको सम्पर्कमा आए र जनयुद्धमा होमिए । उनी पार्टीको पूर्णकालिन सदस्यको रुपमा भूमिगत भएका थिए । भूमिगत भएको केही महिनामै तिलक जेल परे । यसपटक पनि प्रहरीसंग अनुनय बिनय गरेर उनले श्रीमानलाई जेलमुक्त गराइन् ।


जेलबाट निस्के पछि तिलक पुनः भूमिगत भए । भूमिगत भएको दुई वर्षपछि २०५४ चैत्र २४ गते उनी दोस्रो पटक जेल परे । उनकाे अवस्था अज्ञात थियाे ।

दिन दुगुना, रात चौगुना भने झैँ तिलक जेल परेको २ वर्ष भइसकेको थियो । एकदिन माइला छोराले सोधे,– ‘आमा, सबैका बुवा घरमा आउँछन्, राम्रा राम्रा कपडा किनेर ल्याइदिन्छन्, तर हाम्रो बुवा कहिल्यै आउनु हुन्न, भन्नु न आमा हाम्रो बुवा कहाँ जानु भएको छ ?’ छोराको कुरा सुनेर चन्द्रा बिछिप्त भइन् । बाल मनाेबिज्ञानमा असर पर्ला भनेर उनले वास्तिवकता लुकाइन् । छाेराकाे गाला मुसार्दै भनिन्, ‘बाबु, तिम्रो बुवा त पैसा कमाउन इन्डिया जानु भएको छ, तिमीहरुलाई नयाँ–नयाँ कपडा किनेर ल्याइदिनु हुन्छ ।’ त्यसपछि छाेराले केही बुझे जस्ताे गरेर टाउकाे हल्लाए ।


त्याे दिन पनि उनी सधैजसो उनी रातको चार बजे उठिन् । घर र गोठको धन्दा सकाइन् । भैँसी दुहेर बाल्टिनमा राखिन् । झिसमिसेमै उनी दुध बेच्न बजार झरिन् । घर फर्किदाँ अझै उज्यालो भइसकेको थिएन । अध्यारैमा उनी मलको डोको बोकेर खेत तिर लागिन् । लगभग ५ डोको मल खेतमा पुर्याएकी थिइन् । पूर्वबाट घामका राता धर्साहरु देखा पर्न थाले ।


“झिससमिसेमै काम सकाउने भनेको, उज्यालो भइसक्यो”, उनले मनमनै असन्तुष्टि पोखिन् । काम सकाएर भान्सा सम्हाल्नु थियो । उनी मलको डोको बोकेर हतार गर्दै खेतमा दौडिइन् । एकजना चिनेजानेका ब्यक्तिले उनलाई बाटैमा रोके । ति ब्यक्तिले बिस्तारै केहीे कुरा सुनाएर । मलको डोको त्यही छोडेर उनी घर फर्किन् ।

घरको आगनबाटै चन्द्रा चिच्याइन्,–‘आज तिमीहरुको बुवा आउने रे, तिमीहरुलाई कपडा किनेर ल्याइदिनु भएको छ रे, म बुवालाई लिएर आउँछु, तिमीहरु मिलेर बस्नु है ।’ घर भित्र बसेका छोरा छोरीले आमाको कुरा सुने या सुनेनन् । चन्द्राले आफ्नो कुरा सकाएर सिधै देवरको घरतिर लागिन् । ‘आज हजुरको दाजुलाई छोड्ने भनेका छन् रे, लौ न तपाई पनि मसंगै हिड्नुस्, दाईलाई छुटाएर ल्याउनु परो ।’ उनले तिलकका भाइलाई आग्रह गरिन् । भाउजुको कुरा सुनेर देवरले जवाफ फर्काए, ‘मेरो त फुर्सद छैन, भाउजु तपाईं मात्र जानुस् ।’ यद्यपी देवरकाे कुराले चन्द्राकाे मन निकै कुँडियाे ।


तिलक बर्दियाको गुलरिया कारागारबाट छुट्ने भन्ने अपुष्ट खबर आएकाे थियाे । उनी गुलरिया जान हतारिएकी थिइन् । विहानैदेखिकाे चर्को घाम । मनकाे हुटहुटी र पीडा घाम भन्दा चर्काे थियाे । पछ्यौरीले निधारको पसिना पुछिन् । गाडीको प्रतिक्षा गरि रहिन् । गाडी नै आएन । चन्द्राले हँडेरै बर्दिया जाने बाटो सोझ्याइन् । किन–किन, उनलाई त्यो बाटो निकै टाढा लागि रहेको थियो । ‘खुइँय…… मेरो आफनो भन्नु पनि कोही रहेनछ, परेको बेला आफ्ना भनिनेहरु पनि काम नलाग्ने रैछन्,’ चौतारीमा बसेर उनले आफैसँग भनेकी थिइन् । लामो समयपछि श्रीमानलाई भेट्ने हतारो थियो । ‘कस्तो भए होलान्, मलाई चिन्छन् की चिन्दैनन् होला ?, उनले मलाई नदेखेको पनि २ वर्ष भयो, पुलिसले कुटेर कति दुख दिएको होला, ?’आफै भित्रको अनुत्तरित प्रश्नको पोको बोकेर उनी बर्दियातर्फ लागिन ।


गुलरिया पुग्न अझै पाँच घण्टा पैदल हिड्नु पथ्र्यो । चन्द्रा भने आफ्नै सुरमा हिडिरहेकी थिइन् । त्यतीबेलै यात्रुले खचाखच भरिएको बस आयो । उनी त्यही बसमा झुण्डिएर गुलरिया कारागार पुगिन् ।

कैदीहरु आफ्नो बन्दोबस्तीका सामान पोको पारेर आफन्तको प्रतिक्षा गरेर बसिरहेका थिए । कैदीहरुको भिडमा उनले आफ्ना श्रीमानलाई खोजिन् । तर, उनले आफ्नो श्रीमानलाई कतै देखिनन् । उनकाे मनमा शंका पैदा भइसकेको थियो । ‘पक्कै पनि केही गडबडी भएकाे हुनु पर्छ ।’ उनले मनमनै अड्कल काटिन् ।

“तिलक परियार नाम गरेको कैदी कहाँ हुनु हुन्छ होला?” चन्द्राले जेलरलाई सोधिन् । जेलरले ‘थाहा छैन’ भनेर उम्किन खोजे । कारागार बाहिर गाडी उभिएको थियो । सबै कैदीहरुलाई गाडीमा राखेर कतै लैजान खोजिएको उनले चाल पाइन् । तिलक पनि त्यही गाडीमा प्रहरीको घेराबीचमा थिए । तिलकले गाडीभित्रैबाट चन्द्रालाई देखे । उनी केही बोल्न सकेनन् । चन्द्रा जर्वजस्ती गाडीमा उक्लिइन् । एकजना प्रहरीले उनलाई गाडी भित्र जानबाट रोके । उनी गाडीमै झुण्डिइन् । गाडी चल्न सुरु गर्यो । निकै परसम्म उनी झुण्डिएरै पुगिन् ।


एकजना पुलिसले उनलाई गाडीबाट ओर्लिन भने । चन्द्राले मानिनन् । ‘माओवादी त फटाहा हुन्छन्, यो बुढी पनि माोवादीकी मान्छे हो रे । ए बुढि ! गाडी बाट उत्रेर हिडेर जाउ,’ एक अधबैँसे पुलिसले उनलाई गाडीबाट ओराल्न खोज्दै थिए । चन्द्राले ओर्लिन इन्कार गरिन् । उनलाई प्रहरीले जर्वजस्ती गाडीबाट जमिनमा हुत्याइदियो ।

गाडी आफ्नै गतिमा कुद्यो । उनी गाडीको पछि–पछि दौडिइन् । गाडी धेरै पर पुग्याे । हद काेशिस गर्दा पनि उनले गाडी भेट्न सकिनन् । फतक्कै खुट्टा गले । मुटुको धड्कन बढ्यो । फाेक्साे नै मुखमा आउला जस्ताे भयाे । स्वास फेर्न गाह्रो भयो । घाँटी सुकेर थुक निल्न समेत मुस्किल भयाे । उनी लत्थ्रक्क गलेर खुल्ला जमिनमा ढलिन् ।


निकै बेर पछि उनले बिस्तारै आँखा खोलिन् । चारै तिर हेरिन् । सुनसान थियाे । गाडी कता पुग्यो थाहा छैन । कपडामा धुलाे टाँसिएकाे थियाे । धुलो टक्टक्याउँदै उनी बिस्तारै उठिन र हिड्ने कोसिस गरिन् । पटक्कै पाइला अघि बढेनन् । ‘उहाँलाई कहाँ लिएर गए होलान् ? कतै मारिदिने पो हुन् की ?’ मनमा अनेक शंका– उपशंका उब्जिए ।


उनी बस चढेर पुन: नेपालगन्ज पुगिन् । जिल्ला प्रशासन कार्यालय नेपालगंज पुगेर आफ्नो समस्या सुनाइन् । ‘मेरो श्रीमानलाई यतै ल्याएको छ कि, यहाँ हुनु हुन्छ भने लौ न मलाई भेटाइदिन पर्यो’, चन्द्राले प्रहरीसँग विनय गरिन् । उनको कुरा सुनेर त्यहाँका कर्मचारीले सान्तवना दिए, ‘चिन्ता गर्नु पर्दैन, उहाँहरु सकुशल हुनु हुन्छ ।’ त्यसपछि उनले केही सुखको स्वास फेरिन् । तर,रिहा किन गरिएन भन्ने चिन्ताले उनलाई छाडेन । झमक्क साँझ पर्यो । सबै कर्मचारी घर गए । उनी पनि घरतिरकाे बाटाे लागिन् ।

SONY DSC


रात निकै छिप्पिसकेको थियो । गाडी चढ्ने पैसा थिएन । कोहलपुरसम्म हिडेरै घर पुग्नु थियो । विहानैदेखिकाे भोकाे पेट पछ्याैराले कसिन् र पाइला अघि बढाइन् । अध्यारोमा एक्ली महिला देखेर उनी माथि गिद्धे नजर लगाउनेहरु पनि प्रशस्तै थिए । रक्सीले मात्तिएका मान्छेहरु उनीसंग ठोक्किन आइपुग्थे । उनलाई यी कुराको कुनै परवाह थिएन । ‘विहानै झिसमिसेमा छोडेका बच्चाहरु के गर्दै होलान्’, यही चिन्ताले उनी हतार गर्दै दौडिइन् । रातको करिब ११ वजेतिर उनी घर पुगिन् । घर पुग्दा बच्चाहरु भोकै बिछ्यौनाले मुख छोपेर सुतिरहेका थिए ।


‘छोरा छोरी त आफ्नै काखमा छन्, तर उहाँ कहाँ हुनु हुन्छ होला? कतै दुश्मनले जंगलमा लगेर हत्या गरे कि ?’ उनको मनमा एक किसमको भयले जरा गाड्यो । राती बिछ्यौनामा पल्टेर सोँचमग्न भइन् उनी । आफ्नै बिगतलाई फर्केर हेरिन् । जिन्दगी कहाँ बाट कहाँ पुग्यो ? ‘आफ्ना मान्छेहरुले फर्केर हेर्दैनन् । दुख पर्दा ‘के भयो?’ भनेर सोध्ने कोही छैनन् । यदी उहाँलाई नै दुश्मनले मारिदियो भने, मलाई कसले साथ देला ?,’ चन्द्रा आफ्नै बिगत सम्झेर रोइन् ।

छोरा छोरी निदाइरहका थिए । रुदाँ रुदैँ रात बित्यो । झिसमिसे उज्यालो भयो । अझै पनि आँसु रोकिएनन् । उठेर रुँदै गोठ गइन् । उनलाई देखेर भैँसी पनि उठे । एक हातले आँसु पुछ्दै अर्को हातले भैसी मुसारिन् । बोलिन्, “आखिर, मेरो दुख सुखका साथीहरु तिमीहरु त रैछौ ।”

श्रीमानलाई खोज्न कहिले नेपलगंज, कहिले कोहलपुर धाउने उनको दैनिकी बनेको थियो । तर, कतै पत्तो लागेन । घरको काम, श्रीमानको खोजी, बाल बच्चाको जिम्मेवारी, खेती पाती, गाइभैँसी, ओहो ! कता कता भ्याउनु एक्लो ज्यानले । उनी आत्तिएकी थिइन् ।

०००

एकदिन खेत जाने क्रममा एकजना ब्यक्तिले बर्दियाबाट छुटेका बन्दीहरु दाङ्ग प्रहरी कार्यालयमा भएको अपुष्ट खबर ल्याए । खबर सुन्नासाथ उनी दाङ्गको बसमा चढेर उतै लागिन् । जिल्ला प्रहरी कार्यालय दाङ्ग पुगेर उनले आफ्नो श्रीमानको अवस्थाका बारेमा सोधपुछ गरिन् । प्रहरीले तिलक परियार नाम गरेको कैदी नरहेको जानकारी दिए । उनलाई विश्वास लागेन । भनिन्, ‘म टाढादेखि आएको हो, म उहाँको श्रमती हुँ, उहाँ यतै हुनुहुन्छ रे, कृपया मलाई भेट्न दिनुस् न ।’ प्रहरीले भेट्न नमिल्ने भन्दै उनको हातमा समाएर हुत्याइदिए । उनी रिसले आगो भइन् ।


उनले आक्रोश ब्यक्त गर्दै भनिन्, ‘तिमीहरु पनि म जस्तै आमाले जन्माएका छोराहरु हौ, तिमीहरु पनि आफ्नी आमालाई हसाउँनका लागि नोकरी गर्दैछौ, एउटी आमालाई हसाँएर अर्को आमालाई रुवाउन मिल्छ र ?’ त्यसपछि प्रहरीले पारी पट्टिको कोठा देखाउँदै भने, ‘कैदीहरु राख्ने कोठा उता .छ, बाहिरबाटै हेरेर फर्किनु होला ।’ उनले झ्यालबाट हेरिन् । त्यहाँ दर्जनौ कैदीहरु थिए । तर, आफ्ना श्रीमानलाई कतै देखिनन् । चारै तिर हेरिन् । अगाडी देखेजति सबैजनासंग सोधपुछ गरिन् । तिलकको पत्तो लागेन । अनि, निरास भएर घर फर्किइन् । श्रीमानको लागि लगेको एक हातो केरा पनि घामले गलिसकेको थियो । प्लास्टिकको झोलामा झुड्याएर केरा र स्याउ आफुसंगै घर फर्काइन् ।


श्रीमानको खोजीमा थाहा पाएजति सबै ठाउँमा पुगिन् चन्द्रा । तर, कतै पत्तो लागेन । घर ब्यवहार सबै लथालिङ्ग भइसकेकाे थिए । समयमा घाँस खान नपाएर भैँसीले दुध दिन छाड्यो । त्यसपछि घरखर्च चलाउन निकै मुस्किल भयो । त्बयसपछि बच्चाहरु कोहलपुर बसपार्क नजिकै मकै पोलेर दिनभरीे बेच्न थाले । मकै बेचेर दिनमा सय–डेड सय जति कमाइ हुन्थ्यो । त्यही पैसाले केही हदसम्म घर खर्च चल्न थाल्यो ।

०००


चैत मासको हुरी एक तमासले चलिरहेको थियो । ‘मान्छे नै उडाउला जस्तो, कतै केही अनिष्ट हुने त होइन ?’ चन्द्राको मनमा चिसो पसिसकेको थियो । त्यसैबेला एकजना ब्यक्ति चन्द्रालाई खोज्दै आए । ‘यो घर तिलक परियारको हो ?’ ‘किन र हजुर ?’ चन्द्रा अकमकाइन् । ‘गए राती तिलक परियार लगायत केही माओवादीे जेलबाट भागेछन् । त्यही क्रममा दोहोरो भिडन्तमा परेर तिलक परियारको पनि मृत्यु भयो ।’ यती भनि सकेर ति ब्यक्ति आफ्नो बाटो लागे । श्रीमानको मृत्युको खवरले उनी झस्किइन् । ‘उहाँले के गल्ती गर्नु भएको छ र ? यस्तो हुनै सक्दैन ।’ उनी दृढ थिइन् ।


कैँयौ रात जस्तै त्यो रात पनि उनले छटपटीमै बिताइन् । ‘ओहो ! मेरो जिन्दगी ? यो के भइरहेको छ ? म माथि किन यती ठूलो बज्रपात ?’ उनले आफैमाथि प्रश्न तेर्साइन् ।’मेरो श्रीमानको हत्या ? यो त हुनै सक्दैन ।’ बिस्तरामा निदाई रहेका छोरा छोरीलाई एकटकले हेरिन् । ‘कठैबरा! पढ्ने बेलामा स्कुल जानु छैन, भोकमा एक गास खानु छैन, यही बेलामा बुवाकोे मृत्यु भयाे भन्छन्, बिचरा यीनीहरु कति अभागी रहेछन्, साँच्चिकै उहाँको मृत्यु भएको भए मैले एक्लै कसरी सम्हालुँला यि लालाबाला ?’, आफ्नो दुख र बच्चाहरुको भविष्य सम्झेर उनी रातै भरि रोइन् ।

रातभरि एक झप्को निद्रा आएन । मनमा नानाथरी तर्कना आइरहे । रात पनि निकै लामो लाग्यो । ‘कहिले उज्यालो होला’ भन्दै कोल्टे फेर्दै रात बिताइन् । ‘मनमा उज्यालो भए पो जीवन झलमल हुने रहेछ,’ उनी मनमनै बोलिन् । पारी छिमेकीका घरमा भाले बास्यो । उनी जुरुक्क उठिन् र सधै जसो गोठ गइन् । आफुले सन्तान जत्तिकै माया गरी सम्हालेका दुई वटा दुहुना भैँसी उनको संकेत पाउना साथ उठे । उनले भैँसीलाई मुसारिन् । भैँसीले चारै तिर गोब्र्याएका रहेछन् । गोबर सोहोरिन् । कुडो पकाएर भैँसीलाई दिइन् । तर, किन–किन अरु दिन जस्तो जाँगर नै चलेन ।

मनमा कुनै उत्साह छैन । मानौँ, उनको पोल्टाको खुसी लुटिएको छ । सबै उल्लास एक निमेषमै ढलेजस्तो, असन्तुष्टि र पीडाका संबेगहरु सल्वलाई रहेका थिए । निकै बेर गोठमै टोलाईन् । शुन्यतामा हराइन् । मनमा जस्तो सुकै पीडा भए पनि बाहिर हाँस्नु थियो । जिन्दगीको गाडी एक्लैले भए पनि हाँक्नु थियो । जुरुक्क उठिन र बाँकी काम फत्ते गर्न तर्फ लागिन् ।

गोठको धन्दा सकेर घर पुग्दा बच्चाहरु बिस्तारामा निदाइरहेका थिए । बच्चाहरुलाई बिस्तारै उठाइन् । ‘के भयो र आमा ?’ निरास मुद्रामा रहेकी आमालाई छोराले सोधे । चन्द्राले केही नभए जस्तो बहना गरिन् ।

संकटकालपछिकाे संकट

२०५८ सालताकाको कुरा हो । देशभर संकटकाल लागु भयो । ति दिनहरु वास्तवमै संकटपूर्ण थिए । एकदिन उनी घाँस काट्न जंगल गएकी थिइन् । घरमा बच्चाहरु एक्लै थिए । त्यतीबेलै घरमा प्रहरी आए । आगनमा खेलिरहेका बच्चालाई सोधे, ‘तिमीहरुको आमा–बुवा कहाँ छन् ?’ बच्चाहरुले जवाफ दिए, ‘आमा घाँस काट्न जंगल जानु भएको छ, बुवा चाँही इन्डिया जानु भएको छ,’ सानो छोरा उत्तमले तोतेबोली बोल्दै भने । प्रहरी जंगिए । ‘माओवादीका बच्चाहरु साह्रै चलाख हुने रहेछन् यार ! हेर त, यती सानो बालकले पनि झुट बोलेको ?’, ‘ओई किन झुट बोलेको’, प्रहरीले उत्तमको कान निमोठिदिए । उनी रुन थाले । प्रहरीले बच्चाहरुलाई थर्काएर आफ्नो बाटो लागे ।

दिउँसोको घटना पछि बच्चाहरु त्रसित अवस्थामा थिए । घण्टौँसम्म आमा….आमा….. भन्दै रोए । धेरै बेरसम्म आमा घरमा नआएपछि बच्चाहरु आमालाई खोज्दै रुँदै घरबाट निस्किए । बच्चाहरु खेतको बाटो उक्लिदै गरेको पारी जंगलबाट चन्द्राले देखिन् । ‘यी त मेरै बच्चाहरु हुन्, कहाँ जान लागेका होलान?’ उनले मनमनै सोधिन । ‘पक्कै पनि केही गडबढी भएको हुनु पर्छ’, उनी बच्चाहरु हिडेको खेत नजिक आइन् । ‘कहाँ जान लागेको, के भयो, किन रोएको’, आमाले एकै स्वासमा सोधिन् । पुलिसले निमोठिदिएको कान देखाउँदै बच्चाहरुले घरमा भएको घटनाबारे सबै बेलि बिस्तार लगाए । उनको मन निकै कुँडियो ।

छोरा छोरीको अगाडी आँसु खसाल्न सकिनन् । यती मात्र भनिन्,’नरोउ, अब म आइसके, तिमीहरुलाई केही हुँदैन ।’ त्यो दिनदेखि चन्द्राले आफुहरु असुरक्षित महसुस गरिन् । त्यो रात देखि उनी सानो छोरालाई लिएर जंगलमै बास बस्न थालिन् ।

दिनभरि जंगलमा घाँस दाउरा गर्थिन् । साँझ परे पछि गोठमा घाँस राख्थिन् । ठुली छोरीले खाना पकाएर गोठमै ल्याइदिन्थिन् । खाना खाएर सानो छोरालाई काखमा च्यापेर पूनः जंगलमै गएर सुत्थिन् । कहिले रुखको चेपमा आड लगाएर सुत्थिन्, कहिले झाडीमा निदाउँथिन् । यो क्रम लगभग एक वर्षसम्म चलिरह्यो ।


घाम, पानी, झरि वादल सबै सामान्य भइसकेका थिए । हिउँदमा जमिन निकै चिसो हुन्थ्यो । राती आकाशबाट सितका थोपा खस्थे । सितका थोपाले कपाल भिज्थ्यो । जमिनको चिसो र सितको चिसोले जिउ सुन्निएर बिरामी परिन् । वास्तवमा जंगलको कष्टकर बसाई कल्पना भन्दा बाहिर थियो । उनले त्यो सबै सामना गरिन् ।

दिनहुँजसो प्रहरीले घरमा आएर बच्चाहरुलाई दुख दिन थाले । त्यसपछि सबैजना घर छोडेर जंगलमै बास बस्न थाले ।


एक रात । सबै जना सबेरै खाना खाएर जंगलमा बास बस्न गएका थिए । राती तीन बजेतिर एकाएक बन्दुक पड्केको आवाज आयो । घरमा आगोको मुस्लो देखियो । ‘कतै शाही सेना र माओवादीबीच भिडन्त भयाे कि?’ उनीहरुले अड्कल काटे ।

बिहान भयो । उनीहरु डराउँदै घर आए । पुलिसले घर जलाइदिएछन् । चन्द्राले दुध बेचेर जम्मा गरेको २५ हजार रुपैया टिनको बाकसमा राखेकी थिइन् । त्यो पनि लुटिएछ । माइतिले दिएको २ तोला सुन पनि प्रहरीले लुटेछन् । धानमा आगो लगाइदिएछन् । खोरमा बाँधेका खसी र बाख्रा पनि छैनन् । झुपडी नै भए पनि झरी लाग्दा ओत लाग्ने, घाम लाग्दा शितल दिने घर थियो । हरेक दुखमा साथ दिएको घर नै खरानी बनेको देखेर मनमा अथाह पीडा भयाे । बस्ने बास नै नभएपछि कहाँ गएर बस्ने ? मर्नु भन्दा बौलाउनु निको भन्ठानेर उनी बच्चाहरुलाई जेठाजुको घरमा छोडेर भूमिगत भइन् ।

०००


श्रीमानसंगको सम्पर्क


भूमिगत भएर सल्यान झरेको पाँच महिना भइसकेको थियो । यता तिलक जेलबाट छुटेर पार्टीको सम्पर्कमा आइसकेका रहेछन् । एक दिन सल्यानको नांगे भन्ने गाउँमा जेलबाट छुटेका साथीहरुलाई सम्मान गर्ने कार्यक्रम थियो । उनी पनि त्यही कार्यक्रममा सहभागी थिइन् । अन्य महिला साथीहरुले आफ्ना बच्चाहरुलाईसंगै लिएर आएको देखेर उनले आफ्ना बच्चाहरुलाई निकै सम्झिइन् । एकैछिनमा हृदय भरिएर आयो । उनी निकै बेर एक्लै रोइन् । “बच्चाहरु कहाँ के गर्दै होलान्, कस्तो अवस्थामा होलान्”, बाल बच्चाको यादले उनी निकै भाबुक बनिन् ।


जेलबाट छुटेका साथी कार्यक्रमस्थलमा आए । तिलक परियार पनि त्यही भिडमा देखापरे । एकाएक श्रीमानलाई आफ्नै आँखा अगाडी देखेर सुरुमा पत्याउनै मुस्किल भयो । पाँच वर्षपछि तिलकलाई देखेर चन्द्रा खुसीले गद्गद् भइन् । उनका आँखा रसाए । तिलक पनि भावुक बने । चन्द्राको हात समाएर भने, ‘नरोउ, हामी संसार बदल्न हिँडेका मान्छे, यती कमजोर हुनु हुँदैन, गरिवको सत्ता आएपछि सबै ठिक हुन्छ ।’ यति भने पछि तिलकले चन्द्राकोे आँसु पुछिदिए ।
कार्यक्रम सकिएपछि उनीहरु दुवैजना आ–आफ्नो कार्यक्षेत्र गए । ६ दिनपछि फेरि एउटा गाँउमा उनीहरुको भेट भयो । उनले बच्चाहरुलाई भेट्ने इच्छा प्रकट गरिन् । “त्यसो भए, कोही भरपर्दो साथी मिलाई दिन्छु, उसैसंग गएर बच्चाहरु भेटेर आउनु ,” तिलकले चन्द्रालाई अह्र्याए । उनले सहमतीको टाउको हल्लाइन् ।


केही दिनपछि बच्चाहरु भेट्न घर जाने भनेर सबैसंग हात मिलाएर उनी बिदा भइन् । उनीसंग एकजना साथी थिए । घर जानेक्रममा सल्यानको भुजियाबारीमा देहोरो भिडन्त भयो । ज्यान जोगाउनै मुस्किल भयो । धान बारीमा लुकेर मुस्किलले ज्यान जोगाइन् । रात भरि लडाइँ भयो । विहानै भएपछि बन्दुक पड्किन छोड्यो । त्यसपछि उठेर हिडिन् । सल्यानबाट २ दिनको बाटो हिडेर उनी घरमा पुगिन् ।

घर पुग्दा बच्चाहरु मकै बारीमा काम गर्दै थिए । उनले परैबाट आफ्ना बच्चाहरु चिनेर बोलाईन् । ‘मेरी आमा आउनु भयो’ भन्दै बच्चाहरु मकैको डोको बारीमै छोडेर आमा भेट्न आए । लामो समयपछि आमालाई भेटेर बच्चाहरु रोए । ‘आमा मेरो कट्टु छैन, कपडा सबै फटिसके’ धुजा धुजा परेको कमिज देखाउँदै कान्छो छोरा आमाको काखमा लुटुपुटु गरे । उनले छोरालाई छातीमा टासिँन् । नरोउ भन्दै फकाइन् । बच्चाको अवस्था देखेर उनी पनि सम्हालिन सकिनन् । बच्चाहरुसँगै रोइन् ।


उनी गाउँ पुग्दा दुई जना बच्चाहरु पनि भूमिगत भइसकेका रहेछन् । सानी छोरी र सानो छोरा मात्र गाउँमा थिए । उनीहरु जेठाजुको घरमा बसेका थिए । हात खुट्टा चर्चरी फुटेका थिए ।

चारै तिर फाटेको मैलो कपडा देखर उनी बिछिप्त भइन् । नयाँ कपडा किन्नका लागि साथमा पैसा थिएन । पार्टीले किनिदिएको नयाँ पेटिकोट थियो । पेटीकोट काटेर कट्टु र कमिज बनाइदिइन् । नयाँ कपडा पाए पछि उनीहरु खुसी भए । कपाल काट्न हजाम कहाँ लिएर गइन् । नजिकैको खोलामा गएर नुहाइदिइन् । एकै छिनमा बच्चाको स्वरुप बदलियो । आमा त आखिर आमा नै हो । आमाको साथ पाउनासाथ बच्चा हँसिलो देखियो ।


चन्द्राले बच्चालाई स्कुल जानु भनेर अह्राइन् । तर बच्चाहरु भन्थे,– ‘हुँदैन आमा, म स्कुल गएँ भने माओवादीको बच्चा भनेर हेप्छन्, साथीहरुले पिट्छन्, स्कुल जानको लागि मसंग कपी किताव छैन, स्कुल जाँदा लाउने कपडा पनि छैन ।’ छोराको कुरा सुनेर आमाको आँखाबाट आँसुको वर्षा भयो । उनले छोरालाई फकाइन्, ‘चिन्ता नलेउ बाबु, हामी बाँचिम् भने पछि पढौला ।’

साँझ परेपछि उनी फेरि पार्टीको सम्पर्कमा आइन् । उनी लगभग ८ वर्ष भूमिगत भइन् । शान्ति प्रक्रियापछि श्रीमानसँग भेट भयो । साँइली छोरी पनि जनमुक्ति सेना भइसकेको थिइन् । कान्छी छोरी कमला र कान्छो छोरा उत्तम गाउँमै थिए । अरु सबै बच्चाहरु भूमिगत भइसकेका थिए । जनयुद्धपछि छिन्न भिन्न भएको परिवार ब्यवस्थापन गर्न चन्द्रालाई निकै मुस्किल भयो ।

०००

शान्ति प्रक्रिया र खुल्ला राजनीति


शान्ति प्रक्रियाको थालनी पश्चात माओवादी नेता कार्यकर्ताको खुल्ला जीवन शुरु भयो । तिलक परियार पनि शान्ति प्रक्रिया संगै राजधानी आए । चन्द्रा पनि श्रीमानलाई भेट्न काठमाडौँ आइन् । साथमा पैसा थिएन । कोहलपुरदेखि ट्रकमा बसेर काठमाडौँ आइन् ।


त्यतिबेला तिलक दलित मुक्ति मोर्चाको केन्द्रिय अध्यक्ष थिए । राजधानी आएपछि पनि उनले श्रीमानको राजनीतिलाई साथ दिइन् । वास्तवमा तिलकले प्राप्त गरेको राजनीतिक उचाइँमा चन्द्रा सतिसाल भएर उभिएकी थिइन् । पहिलो संबिधान सभाको चुनावमा तिलक परियार कोहलपुरबाट भारी मतका साथ बिजयी भए ।


तिलक परियारलाई तत्कालिन माओवादी हुँदै हालको नेकपा भित्र इमान्दार नेताको रुपमा बुझिन्छ । चन्द्राले पनि आफ्नो श्रीमानलाई निकै शालिन र आदर्श ब्यक्तिका रुपमा बुझेकी छन् । उनी भन्छिन्, ‘उहाँ अन्याय अत्याचार नसहने, सबैलाई सम्मान गर्ने, सहयोगी, प्रष्टवक्ता, इमान्दार र कर्मठ नेता हुनु हुन्छ ।’ त्यसो त, राजनीतिमै लागेका कारण विहान बेलुकीको जोहो जुटाउन नसकेका, अभावपूर्ण अवस्थाबाट गुज्रिनु परेका थुप्रै भोगाई उनीसंग छन् । उनी भन्छिन्, ‘उहाँ सभासद हुँदादेखि अहिलेसम्म भाडाकै कोठामा गुजारा गरिरहेका छाैँ, कान्छो छोरा बाहेक दुई छोराहरु बेरोजगार छन् ।’


खुल्ला राजनीतिमा आएपछि माओवादी नेताहरुको जीवन स्तरमा थुप्रै परिवर्तन आए । तर, आफुहरुको अवस्थामा कुनै परिवर्तन नआएको उनी बताउँछिन् । यद्यपी, भर्खरै मात्र मन्त्री परिषदको निर्णय अनुसार तिलक परियार प्रदेश नम्बर दुईको प्रमुखमा नियुक्त भएका छन् । नियुक्तिसंगै चन्द्रा पनि श्रीमानसंगै जनकपुर पुगेकी छन् ।

उनले श्रीमानको राजनीतिक कार्यभारलाई पूर्णता दिनका लागि सहयोग गर्ने बताइन् । प्रदेश प्रमुखको जिम्मेवारी पाएपछि जनकपुरमा सरकारी क्वाटर पाएका छन् । अहिले उनी श्रीमानका साथ जनकपुरमा क्वाटरमा बस्दै आएकी छिन् ।


पार्टीले आफ्नो श्रीमानको मुल्याङ्कन गरेर प्रदेश प्रमुखमा सिफारिस गरेको प्रति उनी खुसी छिन् । आम दलितको हितमा सरकारले सोच्नुपर्ने उनको भनाई छ ।

भन्छिन्, “मेरो श्रीमानलाई मात्र एउटा जिम्मेवारी दिएर पुग्दैन, म मात्रै केही समयका लागि सरकारी क्वाटरमा बसेर पनि पुग्दैन, हजारौँ घर र बास नहुनेहरु र विहानै बेलुकीको गास जुटाउन नसक्नेहरुका लागि पनि सरकारले सोच्नु पर्छ ।”

नेपालको राजनीतिमा दलितहरु मुलधारको राजनीतिमा आउन नसकेको प्रति उनको चिन्ता छ । “हामीलाई दलितको मात्र नेता बनाएर हुँदैन । नीति निर्माण गर्ने थलोमा दलितको उपस्थिति हुनु पर्छ । नत्र राजनीती गर्नु मात्र ठुलो कुरा होइन,’ उनी आफ्नो कथा टुङ्ग्याउँछिन् ।

सम्बन्धित खबर