हामी सबै मरणशील प्राणी हौँ, मृत्यु हाउगुजीको विषय होइन !

दियो पोस्ट  

नुवाकोट, भिरकुनाका सन्तोष सरील आफ्नो पहिलो कवितासंग्रह ‘मृत्यु उत्सव’ लिएर आउँदैछन् । आफैँले पाँचदेखि १० कक्षासम्म पढेको श्री नवजीवन मा.वि.मा शिक्षक रहेका सरीलले करिब एक दशकदेखि शिक्षण पेसा अँगाल्दै आएका छन् ।
विज्ञान, कानुन, शिक्षा र जनप्रशासनको विद्यार्थी रहेका सरीलको लेखनको सुरुवात पाँच कक्षादेखि भएको हो । ‘शिक्षा’ शीर्षकमा लेखेको पहिलो कवितामार्फत उनी दोस्रो भएका थिए । विभिन्न संस्थाहरूले गरेको प्रतियोगितामा प्रथम एवं द्वितीय हुँदै आएका सरील दुई दशकदेखि साहित्य साधनारत छन् ।
प्रस्तुत छ, दियोपोस्टका लागि सन्तोष सरीलसँग राजु झल्लु प्रसादले गरेको कुराकानीको सम्पादित अंश;

पहिलो कविता कृति ‘मृत्यु उत्सव’को लागि तपाईँलाई बधाई । तर कविता नै किन ?
धन्यवाद । हामीकहाँ एउटा भनाइ बारबार सुनिन्छ, ‘कविता लेख। सुनाऊ । तर किताब निकालेर किन खर्च गर्छौ ? कसले पढ्छ र ?’ म उनीहरूलाई जवाफ दिन चाहन्थे । यसो भन्नु भनेको त ‘बिहे गर तर बच्चा जन्माउन पाउँदैनस् ‘भने जस्तो भएन र ? कविताको पाठक छैनन् भने बनाउने हो तर कवितासंग्रह निकाल्न हतोत्साहित गर्ने चाहिँ होइन । बिउ नरोप्दै रोप्ने हातलाई बाँध्न खोज्नेहरूका लागि जवाफ हो- ‘मृत्यु उत्सव ।’

मृत्यु उत्सव ठ्याक्कै के हो ?
कविता संग्रह हो । प्रेम / अध्यात्म / जीवन भोगाई / दुख / रहर एउटा नेपाली समाजको चित्रण।

कति कविता छन् ?
अहिले ५० भन्दा माथि छ, थोरै तलमाथि हुन सक्छ । केही लामा कविताहरू छन्, केही छोटा कविताहरू छन् ।

तपाईँका लागि कविता के हो ?
कुनै पनि सृजना सर्जकको दृष्टिकोण हो । जुन विषयमा म लेखिरहेको छु- त्यो विषयमा रहने मेरो दृष्टिकोण नै सृजना हो, यसलाई कविले कविता भन्ला, उपन्यासकार उपन्यास र चित्रकारले चित्र ।

तपाईँको लेखनको स्विचीङ प्रोसेस के हुन्छ, प्रेरणा कहाँदेखि आउँछ ?
हामी सामाजिक प्राणी हौँ, हामीले यही समाज देख्छौँ, भोग्छौँ । यसका स-साना कुराहरूसँग पनि हाम्रो सम्बन्ध स्थापित भइरहेको हुन्छ । यसक्रममा विभिन्न घटनाक्रमहरूसँग हाम्रो उठबस भइरहेको हुन्छ, कति घटनाले छुन्छ र लेखिन्छ । कतिले छोइहाल्दैन, लेखि हाल्न सकिन्न । र, अर्को कुरा- मलाई छुने घटनाले अर्को व्यक्तिलाई पनि छुन्छ या सम्बोधन गर्छ कि जस्तो लाग्छ । मलाई जे कुराले छोएको छ, अरूलाई पनि छुन सक्छ भन्ने मान्यतामा विश्वास राख्छु । र, लेखन भन्ने कुरा- ऊर्जा रहेछ, आयो लेखिहाल्छु । आएन थन्किरहन्छु ।

शीर्षकबारे सोध्न मन लाग्यो, ‘मृत्यु उत्सव’ कसरी ? ‘जन्म उत्सव’ मनाउने परिपाटीमा तपाईँ ‘मृत्यु उत्सव’ लिएर आइरहनु भएको छ ?
मृत्यु भन्नासाथ हामी डराउने गर्दछौँ । हामी भौतिकवाद (संसार)मा नै रुमल्लिइरहेका मृत्यु डरको विषय हो । जीवनप्रतिको लोभ, लालसा र आशक्तिले हामीलाई तानिरहेको छ । यिनै कारण हामी मृत्युदेखि पर भागिरहेका छौँ । तर, मृत्यु एउटा मुक्ति हो, स्वतन्त्रता हो । मृत्यु हाउगुजीको विषय होइन भन्ने मलाई लाग्छ । जीवनलाई सहजतासाथ ग्रहण गरेजस्तै मृत्युलाई पनि  सहजतासाथ ग्रहण गर्न सकिन्छ, किनकि अन्ततोगत्वा त्यो हुनु नै छ । हामी सबै मरणशील प्राणी नै हौँ ।

सङ्ग्रहमा आध्यात्मिक या मृत्यु चिन्तनसँग सम्बन्धित कविताहरू मात्रै हुन् ?
होइन, सामाजिक अवयवहरूलाई खोतल्ने प्रयास गरेको छु । देश, प्रकृति, प्रेम, व्यङ्ग्य, सामाजिक रीतिस्थितिबारे कविताहरू लेखेको छु ।

नयाँ पुस्तालाई लिएर अग्रज पुस्ता, पब्लिकेसन एवं मिडियाको व्यवहार कस्तो पाउनुहुन्छ ?
नयाँका सृजना स्थापितको बराबर भए सुनमा सुगन्ध भयो तर नयाँ अनुहार र पुराना अनुहारलाई एउटै पावरको चस्माले हेरिनु हुँदैन। हामीकहाँ यो प्रयास भइरहेको छ, जुन नोक्सानदायक छ । अर्को पाटो चाहिँ, मिडियाले/पब्लिकेसनले पुराना र स्थापितलाई मात्र धेरै महत्त्व दिइरहेका छन् । नयाँ भन्ने बित्तिकै उनीहरूको व्यवहार नै फरक पाइरहेको छु । त्यसो गर्न नहुने हो किनभने भोलि रुख हुने त त्यही बिरुवाहरू नै हुन् ।

‘लेख्नका लागि पढ्नुपर्छ’ या ‘पढ्नेले लेख्छन्’ भन्ने गरिन्छ । अझ, ‘लेखन भनेको अध्ययनको सहउत्पादन हो’ भन्ने भाष्य छ । तपाईँको मत ? तपाईँ किन लेख्नुहुन्छ ? तपाईँ किन पढ्नुहुन्छ ?
लेख्नेले पढ्नुपर्छ। त्यो पनि फरक फरक विधा । मलाई लाग्छ, अध्ययनले हाम्रो सोचाइको आयतन बढाइदिन्छ। म त अझ चलचित्र पनि हेर्ने सुझाव दिन चाहन्छु। एउटा पूर्ण सृजनाले सन्तुष्टि दिन्छु । मैले अघि पनि भनिसकेको छु कि मैले घटनालाई कसरी लिन्छु , त्यही आधारमा शब्दहरू बुन्छु । लेख्नु र पढ्नु ध्यानमा बस्नु जस्तै हो मेरो लागि ।

आज कविता लेखिरहेकाहरू ज्यादा अराजक एवं अप्रसांगिक छन् भनिन्छ, समकालीन पुस्ता साहित्यको नाममा ‘हतारको लतपत’ लेखिरहेको छ भन्ने छ नि ?
तत्कालका लागि कसैलाई पनि सामाजिक सञ्जालले भयङ्कर बनाइदिन्छ। त्यो कविता होस् या अन्य विधा । आजका मानिसलाई हतारो त छ नै तर हिलोबिच कमलको फूल पनि फुलिरहेका छन् ।

अग्रज कविहरूको दाँजोमा हामीकहाँ छौँ ? समकालीन पुस्ता के लेख्दै छ ? के लेख्न छुटाइरहेको छ ?

फरक समयबिच तुलना गर्नु त्यति उपयुक्त ठान्दिन म ।  लेखनीलाई लेखकको सोच, हुर्केको वातावरण साथै व्यक्ति, समाज र राष्ट्रको आर्थिक र सामाजिक अवस्था जस्ता कुराले पनि फरक पार्छ । अनि पाठकको चेतनाको स्तरले पनि प्रभाव पार्छ कि! एकाध बाहेक अहिलेको पुस्ता क्षणिकको वाहवाही बटुल्ने ध्याउन्नमा लेखिरहे जस्तो लाग्छ । समकालीन पुस्ता बोक्राहरूको बयानमा भुलिरहेजस्तो पनि लाग्छ । हरेक विषयको गुदी चाख्न र चखाउन सकेका छैनन् । र, म पनि राम्रोकै कोसिसमा लागिरहेको नै छु ।

तपाईँका प्रिय पाँच कवितासंग्रहहरू ?

यो साह्रै गाह्रो प्रश्न भयो । सबैका सबै सृजनाको आफ्नै विशेषता रहन्छ । मन त सबै नै पर्छन् । तर केही पढिरहन मन लाग्ने पुस्तकहरूमा :
कविता सङ्ग्रहहरूतर्फ:
१. यो जिन्दगी खै! के जिन्दगी
२. घुम्ने मेचमाथि अन्धो मान्छे
३. आमाको सपना
४. मुनामदन
५. सगरमाथाको गहिराई ।

आख्यान र गैर आख्यानतर्फ चाहिँ ?

पढेका मध्ये राम्रा लागेका आख्यानहरूमध्ये;
१. पागल बस्ती
२. चपाइएका अनुहारहरू
३. सेतो बाघ
४. सुम्निमा
५. शिरीषको फूल ।

र,  गैरआख्यानहरूमध्ये,
१. वेदमा के छ?
२. वीरगन्ज
३.भुइँया
४. विचार विज्ञान
५. सिकाउने शैली ।

पछिल्ला किताबहरूलाई केवल ‘लेखकको एकाङ्गी अनुभूतिमा सीमित भएको’ आरोप लागिरहेको छ । तपाईँको मत ?
अचेल बजार हल्लामा चल्छ।  तर हल्लाले एकपटक मात्र काम गर्छ। अनि कुनै एउटा पुस्तक चलेपछि त्यस्तै लेख्दा चल्दो रहेछ कि भन्ने सोच पनि हाबी भएको हो कि जस्तो लाग्छ।

मैले त सक्काएँ, तपाईँको पो केही प्रश्नहरू छन् कि ?
आफ्ना कुराहरू राख्न दिनुभएकोमा धन्यवाद । यहाँ चलेकालाई मात्र स्थान दिन खोज्छन् । बामे सर्दै गरेकोलाई महत्त्व दिनुभयो ,आभारी छु।

***

-प्रस्तुत छ, सन्तोष सरीलका तीन कविताहरू :

(१). मक्किएको मगज

बिहान ,
शुद्ध लेखिएको प्याकेटको दूध
ताजा लेखिएको पाउरोटी
पसलेले तोकेको मूल्य
दुःखको दुई गाँस
छिमेकी दम्पती को भनाभन
अफिस नपुगुन्जेल नेपथ्य मगजमा मच्चिरहन्छ।

छिटो आइपुगेका इमानदार फाइलहरू
टेबलमा टास्सिरहन्छन् ।
ढिलो आइपुगेका छट्टु फाइलहरू
कोठा कोठामा वेगमा बत्तिन्छ ।
एक कुटिल मुस्कान..
एक कन्सिरी कनाई…
हाकिमको बदलिएको वडि ल्याङ्ग्वेज-
घर नपुगुन्जेल मगजमा मच्चिरहन्छ।

डिजिटल अखबारका आँखा का दृश्य
अनेक अखबार
अनेक आँखा
अनेक दृष्टि
सत्य त एउटै हुनुपर्ने
रगत जस्तै सबैका लागि रातो।
अखबार भन्दा एउटै खबरको रूप धेरै।

छिनछिनमा बदलिरहने कस्तो जिब्रो
नेता – नेता भन्दा केही बढी अभिनेता लाग्छ
कसरी जानेको होला रङ फेर्न?
कसरी सकेको होला इमान बेच्न?
कसरी बनेका होलान् , कामै नगरी सम्पन्न?
भोकको हत्या नगरुन्जेल अदृश्य – दृश्य मगजमा मच्चिरहन्छ।

बिस्तारामा आराम गर्न खोज्दा
हजारौँ बिरामहरुले सम्झन्छन् –
दुखेको जोर्नीहरू
चस्केको कोखा
दुखेको टाउको
तातेको शरीर
अरू………..
अरू………

भित्रभित्रै जीर्ण भएर पनि
परिवारलाई पूर्ण खुसी दिनुछ।
एउटा विश्वासको थुङ्गो
शहीदलाई समर्पण गर्नुछ।

ननिदाउन्जेल आँखा मा आमा मुस्कुराउँछिन्।

***

(२). सिल्भरसोर्ड
सुन न .. मायाको बगैँचा ।
गुलाब झैँ
फक्रिएको तिम्रो जवानी

तिम्रो रङ्गीचङ्गी प्रेमले
यो मन चङ्गा बनाएको छ।
धागो जसरी चुँडिएर
धड्कन मुटुको लट्टाइबाट
तिम्रै धड्कन बनूँ भन्छ
उडेर तिमीतिरै आऊ भन्छ
तिम्रै अङ्गालोमा अल्झिरहन खोज्छ ।

तिम्रै प्रेमको सुवास
सास बनेर
फोक्सो भरिएको छ ।
रगतमा घुलेर
ऊर्जा दिइरहेछ
प्रत्येक कोषलाई
अक्सिजन बनेर।

मेरो मखमली प्रेम आजन्म फुलिरहनेछ
तिम्रै नाममा ।

जसरी फुलिरहेछ हारम को रुखमा
हरेक नयाँ वर्षमा एउटा मङलसुत्र
किन इन्कार गर्छौ ?
शताब्दी देखि को
प्रेम स्वीकार गर्न
मालिनी ,
चिनेनौ?
म तिम्रै सहलेश हु।

हरेक धैर्यताको अन्त्यपछि
फेरि अर्को धैर्यता फुलाउनेछु।
सिल्भरसोर्ड बनेर
कुरिरहनेछु।

भनन…
अझै
कति शताब्दी कुर्नु पर्छ ?

***
(३). भोक

चौरासी व्यञ्जन को अघि छु
तर भोको छु।

भातका सितामा गरिबिको चिप्रा देख्छु।
मासुका हड्डीहरू- अभावको कङ्काल लाग्छ
चटनीमा चोटहरूको भूगोल पाउँछु
सब्जीमा निरीह भई सपनाहरू गलिरहन्छन्
सलादका टुक्राहरूमा टुक्रिन्छन्-
आस्थाका अवशेष
परिकारहरूबाट परिबन्धमा परेका
प्रेतात्माहरूको आर्तनाद बाफ बनेर उड्छन्।

बाच्नका लागि खानु र बचाएर खानु
बढी खाएर मर्नु र खान नपाएर मर्नु
उस्तै सुनिन्छ तर कति फरक छ-
अघाएको डकार र रित्तो पेटको हुङ्कार

तिमिलाई थाहा छ-
संसारको शक्तिशाली हतियार भोको पेट हो ।

सम्बन्धित खबर