सुजुकी गाडीका सेवाग्राहीमाथि भूमिगत कम्पनि मार्फत अबैध ‘मिटरब्याज’ अशुली, प्रहरी मौन !

diyopost.com
दियो पोस्ट  शुक्रबार, मंसिर ०३, २०७८ | २१:११:४८

काठमाडौं । त्रिपुरेश्वर चोकबाट (कालिमाटी तर्फ) युनाइटेड ट्रेड टावर अगाडी सेतो कलरको भव्य महल छ । महलको छैटौं तलामा एकातर्फ गल्फ लुब्रिकेन्ट्सको कार्यालय छ । अर्को तर्फ न कुनै बोर्ड छ न त कम्पनि रजिष्टार कार्यालयको प्रमाण पत्र । तर, निष्फिक्री धन्दा चलिरहेको छ ।

केहीदिन अघि दियोपोस्टको टोली उक्त कार्यालयमा पुग्दा एक जना सेवाग्राही आफू नराम्ररी ठगिएकोमा गुनासो गर्दै थिए । ‘मैले किस्ता नियमित बुझाइरहेको छु । तर, मैले थप ५३ हजार बुझाउनुपर्ने कारण के हो ?,’ किस्ता बुझाउन आएका ती सेवाग्राही झोँक्किदै थिए,‘राष्ट्र बैंकले कोरोना कालमा पेनाल्टी नलिनु भनेको छ । तर यहाँ त त्यो पनि सुनुवाई भएन ।’

जवाफमा त्यहाँका कर्मचारीले भन्दै थिए,‘हामीलाई राष्ट्र बैंकको निर्देशिका लाग्दैन । यस्तो कुरा सरकारलाई भन्नु हामीलाई नभन्नु ।’

निराश भएका सेवाग्राही कर्मचारीले भनेकै रकम तिर्न बाध्य हुन्थे । १० प्रतिशत भन्दा बढी ब्याज र दिनगन्तिको हिसाबले पेनाल्टी बुझाएर उनीहरु फर्किएका थिए ।

राष्ट्र बैंकबाट स्विकृत लिएका वित्तिय संस्थाले मात्रै ब्याज र पेनाल्टीको कारोबार लिन पाउने पाउने कानुनी व्यवस्था छ । ‘हायर पर्चेच’ कारोबार गर्न पनि राष्ट्र बैंकको स्विकृति लिनुपर्छ । तर, भेटिएका सेवाग्राहीले उपलब्ध गराएको कागजात हेर्दा यो कम्पनि न त कुनै बैंक हो न त कनै सहकारी वा फाइनान्स कम्पनि । अर्थात केएमसी अटोमोबाइल्स कम्पनि । अर्थात नेपालको एक मात्रै डलर अर्बपति विनोद चौधरीका भाई अरुण चौधरीले भूमिगत शैलीमा चलाएको कम्पनी । यो कम्पनिले मिटरब्याज उठाइरहेको अनौठो प्रमाण भेटिएको छ ।

 

नेपालमा सुजुकी मोटरको आधिकारीक डिलर्स सिजि अटोकर्प हो । सोही डिलर्सले सुजुकी फाइनान्स भन्दै कम्पनि मार्फत अवैध रुपमा मिटरब्याज शैलीमा ठगी धन्दा चलाउँदै आएको पाइएको हो ।

सुजुकी गाडी किन्ने सेवाग्राहीले सुजुकी फाइनान्सको नाममा केएमसी अटोमोबाइल्स कम्पनिलाई ब्याज बुझाउँदै आएको पाइएको हो । राष्ट्र बैंकका एक अधिकारीका अनुसार यसरी कम्पनिले नै ब्याज लिनु ठगी हो । हायर पर्चेचको कारोबार गर्ने गरि राष्ट्र बैंकबाट अनुमति लिएको संस्थाहरुको सुचीमा समेत यो कम्पनि छैन । अर्थात यसले गैरकानुनी हिसाबले मिटरब्याज उठाइरहेको छ ।

 

धादिङका पुरुषोत्तम सापकोटाले सुजुकी कमपनिको गाडी फाइनान्स गराएका छन् । उनलाई शुरुमा सुजुकी फाइनान्स भनेर फाइनान्स गराइएको थियो । उनले ८ लाख रुपैयाँको फाइनान्स गराएका छन् । तर, उनले ८ लाखको सावाँ ब्याज गरेर १३ लाख रुपैयाँ छुट्टै बुझाउनुपर्छ । सापकोटाले लकडाउन अवधिमा समेत नियमित किस्ता बुझाउँदै आएका थिए ।

गत वर्ष सरकारले लकडाउन घोषणा गर्यो । उक्त लकडाउन अवधिमा अनावश्यक पेनाल्टी नलिन भन्दै राष्ट्र बैंकले सर्कुलर नै गरेको थियो । तर, त्यही सर्कुलरलाई पछ्याएर घरबाहिर समेत निष्कन नपाएका सापकोटाले पनि किस्ता बुझाएनन् । केएमसी अटोमोबाइल्सले लकडाउन अवधिमा केही बोलेन । उनले लकडाउन खुलेपछि नियमित बुझाउँदै आए । यता कम्पनिले भने उनले बुझाएको किस्ता रकमलाई लकडाउन अवधीमा किस्ता नबुझाएको भन्दै पेनाल्टीमा ‘कन्भर्ट’ गर्दैै आयो । उनले जति पटक किस्ता बुुझाए त्यो रकम सबै पेनाल्टीमा मात्रै जोडियो । किस्ता समयमा नआएको भन्दै पेनाल्टीमा दिन दोगुणा रात चौगुनाको दरले पेनाल्टी असुलियो ।

उनका अनुसार लकडाउन अवधिमा सिजि एलर्टको नाममा उनलाई एउटा सन्देश आएको थियो,‘किस्ता नियमित गर्नु ।’ नियमित किस्ता तिररहेका उनलाई सिजि एलर्टबाट आउने सन्देश प्रवाह थिएन । तर, पेनाल्टीको तिर्न आउनु भन्दै कम्पनिले बोलाएपछि उनी पुग्दा थाहा पाए त्यही म्यासेजलाई आधार बनाएर केएमसी अटोमोबाइल्सले उनलाई बेवास्ता गरेको आरोप लगायो । उनले प्रत्येक महिना समयमै किस्ता बुझाएको भौचर बुझाए । तर, कम्पनि मान्न तयार भएन । उनले पेनाल्टी बझाउनै पर्ने कर्मचारीको अडानपछि उनले बुझाए ।

 

आश्चर्य के थियो भने उनले सुजुकी कम्पनिको गाडी खरिद गरेका थिए । सुजुकी फाइनान्समा गाडी फाइनान्स गराएका उनले किस्ता भने केएमसी अटोमोबाइल्स कम्पनिलाई बुझाइरहेका छन् । उनलाई सन्देश पठाउने कम्पनि भने सिजि एलर्ट थियो ।

अर्का सेवाग्राही सुरेश चौलागाँई पनि किस्ता तिर्न भन्दै उक्त भूमिगत कार्यालय पुगेका थिए । उनले पनि २९ लाख बराबरको ऋण स्विकृत गराएर फाइनान्स गराएका थिए । उनलाई भने ब्याज समेत करिब ११ प्रतिशतको हाराहारीमा थियो । उनले पनि नियमित किस्ता बुझाएपनि कम्पनिले अनावश्यक रुपमा पेनाल्टी जोडेर असुली गरेको बताए । ‘अब हामीले सामुहिक रुपमा आवाज उठाउनुपर्छ । मिडियामा गएर बोल्नुपर्ने भयो । कोरोनाकालमा राष्ट्र बैंकले जारी गरेको निर्देशीका समेत पालना भएन,’ उनले भने,‘कोरोनाकालको पेनाल्टी जोडेर २ लाख रुपैयाँ बुझाएपछि उन्मुक्ति पाएँ ।’

 

अर्का एक सेवाग्राहीले पनि किस्ता रकम नियमित बुझाएपनि उक्त रकम लकडाउन अवधिको पेनाल्टीमा गणना गरि किस्ता नबुझाएको भन्दै ठगी परेको गुनासो गरे ।

त्यहाँ आउने सेवाग्राहीले लेटरहेड र कम्पनिको विवरण नै नभएको स्टेटमेन्ट पाउने गरेका रहेछन् । तर, पैसा बुझेपछि रिसिप भने केएमसी अटोमोबाइल्सको दिने गरिएको छ । उक्त रिसिपमा उल्लेखित नम्बरमा फोन गर्दा ‘चौधरी टावरमा स्वागत छ’ भन्दै एक महिलाले उठाइन् ।

‘यो झम्सिखेलस्थित चौधरी टावर हो । त्रिपुरेश्वरमा हाम्रो रिफाइनान्स डिपार्टमन्ट छ । त्यहाँको प्रमुखलाई बुझ्नु न,’ उनले भनिन् ।

उनले रिफाइनान्स डिपार्टमेन्टको प्रमुख विनोद पौड्याल रहेको भन्दै नम्बर दिइन् ।

पौड्याललाई सम्पर्क गर्दा कम्पनि राष्ट्र बैंकमा दर्ता नभएको बताए । कम्पनिले कुनै पनि ब्याजको कारोबार नगरेको भन्दै उनले झूट बोले । तर, दियोपोस्टले फेला पारेको स्टेटमेन्टमा ११ प्रतिशत र १२ प्रतिशतसम्मका ब्याजको कारोबार गरेको स्पष्ट देखिन्छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार वित्तिय संस्थाले मात्रै ब्याजको कारोबार गर्न पाउने कानुनी व्यवस्था छ । गाडी कम्पनिहरुले हायर पर्चेच कारोबार गर्दा राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ ।

को हुन् सञ्चालक ?

 

कम्पनिको सञ्चालक को हुन् भनेर पौड्याललाई प्रश्न गर्दा उनले कार्यालयमै आएर सम्पर्क प्रश्न गर्नुपर्ने सर्त राखे । दियोपोस्टले लामो खोजपछि फेला पारेको कागजातमा उक्त कम्पनिको मालिक अर्बपति व्यापारी विनोद चौधरीका भाई अरुण चौधरी रहेको फेला परेको छ । सोही तलाको अर्को ढोकामा तर्फ गल्फ लुब्रिकेन्ट्सको कार्यालय छ । उक्त कम्पनिको मालिक पनि अरुण नै हुन् । हाल सुजुकीको कारोबार अरुणका छोरा करण चौधरीले सम्हालेका छन् ।

 

सम्बन्धित खबर