रेस्क्यु उडानको पैसा उठाउन वायु सेवा संघको सुचना, सिआइबीको नाम दुरुपयोग गरेर ‘धम्की’ !

दियो पोस्ट  

काठमाडौं । जघन्य अपराधको घटना छानबीनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो चर्चित छ । व्युरोकै सक्रियतामा वर्षौंदेखि नसुल्झिएको ठूला अपराधको घटनामा सफलतापूर्वक अनुसन्धान गरिरहेको छ । तर, एक संस्थाले भने आफ्नो पैसा उठाउन समेत ब्युरोको नाम लिएर धम्की दिएको छ ।

निजि हवाई सञ्चालकहरुको संस्था वायु सेवा सञ्चालक संघले टिकटको पैसा उठाउन सिआइबीको नाम दुरुपयोग गरेको हो । बुधबार प्रकाशित कान्तिपुर राष्ट्रिय दैनिकमा सुचना छाप्दै बायु सेवा सञ्चालक संघले यस्तो चेतावनी दिएको हो ।

 

हेलिकोप्टर चार्टर तथा रेस्क्यु उडानका लागि बुक गरि सेवा प्राप्त गरेका ट्रेकिङ एजेन्सी तथा केही व्यक्तिले लामो समयदेखि हेलिकोप्टर कम्पनिलाई बुझाउन बाँकी रहेको रकम नबुझाएको भन्दै संघले पैसुा बुझाउन चेतावनीसहित सुचना प्रकाशन गरेको छ । आन्तरिक उडानका लागि टिकट विक्रीको अनुमति पाएका ट्राभल एजेन्सीहरुले पनि टिकट बापतको पैसा समयमा भुक्तानी नगरेको संघको आरोप छ ।
सुचना प्रकाशित भएको मितिले एक महिना भित्र भुक्तानी नभए रकम तिर्न ढिलाई गर्ने आलटाल गर्ने ट्रेकिङ एजेन्सी, ट्राभल एजेन्सी र अन्य व्यक्तिको विवरण समेत संघमा ल्याउन सुचनामा भनिएको छ । एक महिना भित्र रकम नबुझाउनेहरुको कारोबार रोक्का गर्ने, बैंक तथा वित्तिय सस्थासँग समन्वय गरि कालोसुचीमा राख्ने प्रक्रिया अघि बढाउने चेतावनी समेत संघले दिएको छ ।

 

पैसा नतिर्नेलाई फौजदारी दायीत्व अन्तर्गत ‘सिआइबी’ मार्फत कारबाही गर्ने निर्णय समेत संघले गरेको छ ।

तर, नेपाल प्रहरीले संघले दाबी गरेजस्तो टिकटको पैसा उठाउने काम भने गर्दैन । लेनदेनसम्बन्धी मुद्दा हेर्न नमिल्ने कानुनी व्यवस्था नै छ ।

हाल वायु सेवा सञ्चालक संघको अध्यक्षमा रामेश्वर थापा छन् । उनी सिम्रिक एयरका मालिक हुन् । अन्नपूर्ण मिडिया नेटवर्क लगायत मिडियामा आवद्ध रहेका उनी आफै विवादित व्यक्ति हुन् । उनले नक्कली भौचर दिएर पोखराका शिव प्रसाद बास्तोलाको ३६ रोपनी जग्गा ठगेको समाचार दियोपोस्टले नै प्रकाशन गरेको थियो ।

सम्बन्धित खबर

ट्रेन्डिङ