…..भाई टिकाको त्यो ‘भयानक रात’ जब आफ्नै दाईले ममाथि बलात्कार गरे !

diyopost.com
दियो पोस्ट  शनिबार, मंसिर ११, २०७८ | १७:४५:३५

आफ्नो दाईबाट नै बलात्कृत हुदाँको त्यो क्षणले अझै पनि मेरो मन निकै पोल्छ । मैले त्यो क्षण सम्झे भने म पागल बन्छु । यस्तो लाग्छकी यस्तो जिन्दगी किन बाँचीरहेकी छु ? बलात्कारको शिकार त बनिसकेकी थिएँ तर त्यसपछि झन् ठूलो चिन्ता महिनावारी रोकिदाँ भएको थियो । म संग आत्महत्या बाहेक अर्को विकल्प थिएन । र मैले त्यही बाटो रोजें ।

मेरो जन्म पाल्पामा भएको हो । म पाल्पामा नै हुर्के, पढें । घर नजिकै विद्यालय थियो । त्यहाँ ८ सम्म मात्र पढाई हुन्थ्योे र मेरो आमा त्यही विद्यालयमा पढाउनु हुन्थ्योे । ८ कक्षा सम्म मैले त्यही पढे । त्यसपछिको अध्ययन मैले बुटवलमा सुरु गर्ने भन्ने योजना थियो । आमाबुवाले पनि नाई नास्ती भन्ने कुरा भएन । फुपु दिदिको छोरा बुटवलमा नै भएकोले उहाँ सगैं बसेर पढने योजना भयो र म वैशाखको ५ गते बुटवल गँए । विद्यालय , साथीभाई , ठाउँ सबै नयाँ थियो मेरो लागि । छुटटै रौनक र उर्जा थपिएको थियो ममा ।

अध्ययन आफ्नै गतिमा अगाडि बढ्दै थियो । म ९ कक्षामा पढदै गर्दा मेरो पहिलो महिनाबारी भयो । उमेर त्यही १३÷१४ वर्ष हुँदो हो । दाइसंग बस्ने भएकोले के भन्ने ? कसरी भन्ने ? लाजले मैले भनिन । तर रगत मेरो कपडामा लागेको देखेपछि म लजाँउदै दाइसंग महिनाबारी भएको र आफूलाई डर लागेको बताएँ । दाइले त्यतिबेला मलाई निकै केयर गर्नु भएको थियो । उहाँले भन्नुभएको थियो, “ मलाई दाइ होईन् साथी सम्झेर सबै कुरा भन्दा हुन्छ । तिमीले अफ्ठयारो मान्नु पर्दैन ।” दाइले त्यसो भनेपछि म बिस्तारै दाइसंग खुल्दै गएँ । मलाई आवश्यक पर्ने प्याडहरु , भित्री लुगाहरु समेत दाइर्ले ल्याइदिनु हुन्थ्योे । म आफूलाई बुझने दाइ पाएकोमा खुशी लाग्थ्यो । मलाई केही समस्या भयो र म बिरामी भएको बेला सबैभन्दा धेरै दाइलाई चिन्ता लाग्थ्यो । मैले आमाबुवालाई भन्दा दाइलाई नै सबै कुरा शेयर गर्थे । घरमा बहिनीको सबै जिम्मा मेरो भयो भनेर दाइले आर्थिक जिम्मेवारी पनि आफैंले लिनुभयो । मलाई कहिल्यै कुनै चीजको कमी भएन । आफ्नै आमाले जन्माएको दाइ नभएतापनि मलाई दाइ नभएकोमा कहिल्यै दुख लागेन । फुपुको छोरा भएपनि उहाँले मलाई त्यस्तो महशुस हुन कहिल्यै दिनुभएन ।

 

जिन्दगी सधैं सोचेको जस्तो कहाँ हुँदो रहेछ र ? कहिले कसो सोच्दै नसोचेको कुरा आफूमाथि हुदाँ के गरौं भन्ने हुन्छ । तिहार नजिकै आउदै थियो । यसपालिको तिहारमा दाजु बहिनी घुम्न जाने योजना बन्यो । म इलाम कहिल्यै पुगेको थिइन । इलाम चियाबारी घुम्ने र घोडासवार गर्ने रहर पुरा हुने भएपछि म खुशी नहुने त कुरा नै भएन । एसएलसी फलामे ढोका भन्ने छाप आमामा थियो त्यसैले घुम्नु भन्दा पढेर बस्ने भन्नुभएको थियो तर म जिद्दी कहाँ मान्थे र जाने नै निधो गरी सकेकी थिएँ । दाइ लगायत दाइका धेरै साथीहरु सँगै इलाम जाने योजना बन्यो र हामी तिहारको ३ दिन अगाडि इलामको यात्रामा लाग्यौँ ।
त्यो कालो दिन !

मलाई थाहा थिएन, इलाम यात्रा मेरो जिन्दगीको कालो दिन बन्छ । यदि थाहा हुँदो हो त म कहिल्यै जाँदैनँथेँ । इलाम पुगेपछि हामीले एउटै होटलमा ५ कोठा लिएर बस्ने व्यवस्थापन गर्यौं । जाडोको महिना हामी आगो ताप्दै भोलिको घुम्ने योजनाको बारेमा कुरा गर्दै थियौं । योजना बनेपछि हामी खाना खाएर आ आफ्नो कोठामा सुत्न गयौं । दाइ र म एउटै कोठामा सुत्ने भयौं । म दाइ संग तिहार कसरी मनाउने भन्ने योजना बनाँउदै थिएँ । दाइ पनि अब यहीँ हुनेभो यसपालिको तिहार भन्दै म सुतेकै बेडमा आएर पल्टनु भयो । कोठामा २ वटा बेड थियो तर दाइ मेरै बेडमा पल्टिँदा मलाई अच्चम लागेन । किनकि दाइ मलाई कहिलेकसो जिस्काउने, कपाल लुछ्ने गरिराख्नु हुन्थ्योे । तर मलाई दाईको त्यतिबेलाको व्यवहार अलि फरक लाग्यो । दाइले धेरै जाडो छ कान्छीसंगै सुतौं भन्नुभयो ।

 

मैले हुन्छ भने र अर्के तर्फ कोल्टे फेरेर निदाएँ । मैले घडी त हेरिनँ, तर रात निकै छिपिएको थियो । दाइले मलाई अंगालो हाल्दै मेरो छातीमा हातले थिचेपछि म झसङ्ग भएँ । ब्युँझे । दाइले बिस्तारै बिस्तारै आफ्ना हातहरु मेरो छातीमा र यौनाङ्गमा पुर्याउनु भयो । म चिच्याउँदै दाइलाई गाली गर्न थाले । दाइले गरेको व्यवहारले मलाई रुँदारुँदै भक्कानो छुट्यो । दाइले मलाई बिस्तारै सम्झाउन लाग्नुभयो । “कान्छी घरमा कसैलाई नभन है । हाम्रो पारिवारिक सम्बन्ध टुट्छ । फेरि तिमी आजसम्म संगै बसेको छौ यतिका समय त केही भएन र किन भनेनौं भन्ने पनि हुन्छ । म त केटा मान्छे हो केहि समय नराम्रो भन्छन् तर तिमी केटी मान्छे कसैले बिहे गर्दैन । म तिमीलाई बिहे नै गर्छु तर कसैलाई नभन है कान्छी” । म दाइका कुराहरु सुनेर केही सोच्न सक्ने अवस्थामा थिइन् । एकातर्फ म रुँदै थिए अर्कोतर्फ दाइ मलाई दुख दिँदै हुनुहन्थ्यो । त्यो रातभर दाइले मेरो शरिरको हरेक भागहरु दुखाउनु भयो । मलाई सेक्सको बारेमा स्वास्थ्य विषय पढ्दा केही कुराहरु मात्रै थाहा थियो तर मलाई त्यति धेरै दुख्छ भन्ने थाहा थिएन । म पीडाले बेस्सरी चिचाउन खोज्दै तर दाइले मेरो मुख हातले बन्द गर्दै आफ््नो इच्छाहरु पुरा गर्नुभयो । त्यो अध्याँरो रात मेरो जिन्दगीको भयानक रात बन्नपुग्यो ।

 

भोलिपल्ट मलाई मेरो अनुहार शरीर सबै फेरिएको जस्तो महशुस भएको थियो । मैले सबैका अगाडि कसरी मुख देखाउने होला जस्तो लाग्दै थियो । दाइले सहज महशुस गर र फ्रेश भएपछि केही हुँदैन भन्नुभयो । म नबोली नुहाएर तयार भएँ । सबैले यात्राको मज्जा लिइरहेका थिए तर म भने राती भएको घटनाबारे सोच्दै थिएँ । सबैले मलाई ‘बहिनी बिरामी भएका हो र’ भन्दै सोधिरहेका थिए तर म केही नबोली रुन थाले । “आमाले नपढेर डुल्न गएको भन्दै गाली गर्नुभएको थियो । कान्छीलाई त्यही पीरले गर्दा नरमाइलो लागेको हो” दाइले नै बोल्नु भो । सबैले समझाए र म पनि बुझे जस्तो गरिदिएँ ।

यात्रा सकियो तर मेरो पागलपन सकिएन । म कति बेला, कहाँ, किन रुन्छु थाहा हुदँैन्थ्यो । मलाई एकान्त मनपर्न लाग्यो । विद्यालय जान छोडिदिँए । मेरो हर्कत देखेर घरका सबै अच्चम पर्थे । सबैले दाइलाई प्रश्न गर्थे,“के भयो बहिनीलाई ? तिमीलाई त सबै भन्छे यसले ?” दाइले ‘थाहा छैन मलाई’ भन्दै बस्नुहुन्थ्योे ।

एकदिन मैले निकै हिम्मत जुटाएर महिनाबारी नभएको कुरा दाइलाई बताएँ । दाइले घरमा म महिनाबारी नभएको र बान्ता गरीरहेको कुरा आमालाई सुनाए । अनि आमा मलाई हेर्न बुटवल आउनुभयो । मलाई दाइले गरेको क्रियाकलाप एकातिर थियो । अर्कोतिर आमाले झनै मैमाथि गाली गर्न थाल्नु भयो । आमाले भन्नुभयो ,“दाइलाई नसोधी को केटालाई भेट्न जान्थिस् ? अनि अहिले यो अवस्थामा पुग्दा पनि नमरेर किन बाँचेकी ? ।” आमाको यी शब्दहरुले म त्यही भिरालो जमिनबाट कतै कसे जस्तो हुन्थ्यो ।

“दाइले मलाई बिहे गर्छु भन्नुभएको हो र यो सब इलाम जाँदा दाइको कारण भएको हो,” बेस्सरी रुँदै मैले अमालाई यत्ति भनेँ । तर आमाले पत्याउनुभएन । मैले साँचो कुरा गर्दा पनि आमाले पत्याउनुभएन । आमाको म प्रतिको व्यावहारले म भित्र भित्रै मर्दै थिएँ ।

ज्युँदो लाश जस्तै लागेको जिन्दगीलाई पूर्णविराम दिने निर्णय गरें । मैले विभिन्न थरिका औषधि खाएर आफ्नो जिन्दगीलाई मृत्युको मुखमा धकेलीदिँए । अहिले यो भनिरँहदा म आफूलाई सम्हाल्न सकेकी छैन झन् त्योबेला मेरो अवस्था कस्तो थियो होला ? म तपाईंलाई कसरी बताउन सक्छु र खै । मैले औषधि खाएको दाइलाई नै पहिला थाहा भएको रे । अनि उहाँले नै उपचार गराउने सबथोक गर्नुुभयो । उहाँले त्यति सब गरेर जिन्दगी नै बचाए पछि त यो समाजले उहाँलाई गलत भन्ने कुरा आएन । दाइ सबैको नजरमा निर्दोष थिए । म सामाजको अपराधी जस्तो भएको थिएँ । जिन्दगी त नयाँ पाएँ तर परिवार र समाजको म प्रतिको दृष्टिकोणले मलाई भित्रभित्रै मारेको थियो । त्यसैले मैले घर छाडी भागेर काठमाण्डौ आएँ । म अहिले कसैको सम्पर्कमा छैन ।

मलाई मृत्युपछिको नयाँ जीवनले कुनै खुशी थपिएको थिएन तर मैले काठमाडौ आएपछि काम गर्न लागेको होटलमा एकजनाले मलाई सम्झाए पछि मात्र नयाँ जिन्दगी पाएकोमा खुशी लाग्यो । म पुरुषलाई निकै घृणा गर्थें । होटलमा आएका ती पुरुषसंग पनि नजिक हुन मन थिएन तर उनका कुराले मलाइ तान्यो । म बिस्तारै यो समाजले हरेक कुराहरुको दोष महिलालाई किन बोकाइदिन्छ ? किन समाजले महिलालाई परिवारको इज्जतको भारी बोक्ने जिम्मा दिएको छ ? सब कुरा बुझदै गएँ । मलाई राजनीति र नारीवादका कुराहरुले तान्दै गयो । बिस्तारै बुझदै जाँदा संघर्ष गर्नुपर्छ र त्यो घटनामा मेरो केहि दोष छैन भन्ने दृढताको साथ मैले जीवनको नयाँ यात्रा तय तय गरेँ ।

आज म धेरै खुशी छु । किनकि मैले धेरै कुराहरु बुझेर महिला मुक्तिको लागि संघर्षमा होमीने अवसर पाएकी छु । मैले तपाईंसंग मेरो वास्तविक नाम नखुलाए पनि मेरो जिन्दगीको एउटा नमिठो पाठले धेरै पीडित महिलालाई बाँच्ने र नयाँ केहि गर्ने साहस र उर्जा थपिन्छ भनेर मैले तपाईंका अगाडि सबै कुराहरु प्रस्तुत गरेकी हुँ ।

कमला भसिन अहिले हाम्रो बीचमा त हुनुहुन्न तर मलाई उहाँले भन्नुभएको कुरा याद आँउछ । “ आखिर कसले राखिदियो हाम्रो योनीमा इज्जत ?, परिवारको इज्जतको भारी हामी महिलाले मात्रै किन बोक्ने ? ।”

“म माथि यौन उत्पीडन भयो” स्तम्भको लागि फूलमतीले रमा क्षेत्री (नाम परिवर्तन)संग गरेको वास्तविक घटनामा आधारित कुराकानी ।

सम्बन्धित खबर