काठमाडौं । आफ्नो टिम क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन्। शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो। विश्वकपमा सर्वाधिक सफल टोलीको हारपछि मुख्य प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका हुन्। टोलीको हारसँगै प्रशिक्षक टिटेले ६ वर्षे राष्ट्रिय टोलीको यात्राबाट बिदा लिएका हुन्।
‘म मेरो वचनमा पक्का छु,’ उनले भने, ‘त्यहाँ अन्य उत्कृष्ट प्रशिक्षकहरू छन् जसले मलाई प्रतिस्थापन गर्न सक्छन्। उनले क्रोएसियासँगको हारको जिम्मेवारी लिँदै यसमा सबै जिम्मेवार भएको बताए। ‘यो नायक वा खलनायक हुनुको बारेमा होइन। खेलकुदमा त्यस्तो केही हुँदैन। कहिलेकाहीँ हामी उत्कृष्ट प्रदर्शन गर्छौं, हामी गोल गर्छौ तर कुनै बेला बल विचलित हुन्छ। त्यो सामान्य हो। तर म नतिजालाई सम्मान गर्छु,’ उनले भने।
प्रतियोगिता सुरू हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आए पनि आफूले विश्वकपपछि जिम्मेवारीबाट हट्ने बताएका थिए।