काठमाडौं । काठमाडौं उपत्यका शहर मात्रै होइन राजधानी हो । राज्यको शासन चलाउने प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि राष्ट्रपति कार्यालय समेत यही शहरमा छ । तर, यही शहरको एउटा कुनामा एक महिलामाथि देउता चढेको भन्दै कथित धामी झांक्रीको निर्देशनमा निर्घात कुटपीट भएको छ ।
घटना हिजो शनिबारको हो । काठमाडौंको तारकेश्वर नगरपालिका ६ स्थित जरंखुमा आफूलाई धामी माता बताउने सचिता मगरले रुपा भनिने सविता राईमाथि तातो पन्यु, त्रिशुल र खुकुरीले प्रहार गरि गम्भिर घाइते बनाइएको हो ।
तातो पन्यु प्रहारपछि गम्भिर घाइते भएकी उनलाई आफन्तले उद्दार गरि काठमाडौंको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा राखेर उपचार गरिँदैछ ।
आइतबार दिउँसो दियोपोस्टकर्मी महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा पुग्दा अनुहार समेत चिन्न नसक्ने अवस्थामा थिइन् उनी । अनुहारदेखि छाती हुँदै पिडुलासम्म प्रहारबाट गम्भिर भाइते बनेकी उनले आफूलाई कालिमाता बताउने सचिता मगरले हात खुट्टा बाँधेर मुख समेत थुनेर तातो पन्यु, त्रिशुल र खुकुरीले प्रहार गरेको बताइन् ।
‘मेरो हात खुट्टा बाँधेर मुख थुने । तातो पन्युले मलाई पटक पटक हाने । मेरो आफन्तहरुले पनि मेरो हात खुट्टा बाँधेर मुख थुने । मलाई बोल्न समेत दिएनन्,’ उनले दियोपोस्टसँग भनिन् ।
उनका अनुसार उनीमाथि तातो पन्यु प्रहार भइरहेको लाइभ भिडियो खिचेर भारतीय गुरु बताउने एक व्यक्तिलाई देखाइँदै थियो । ‘ईन्डियाको गुरु हो । यो गुरुलाई मान भनियो । मैले हुन्छ हजुरलाई गुरु मान्छु भनेँ,’ अस्पतालको बेडमा छट्पटाइरहेकी उनले भनिन्,‘ममाथि के भयो भनेर म नै जान्दिनँ । मलाई सुनपानी भनेर फोहोर पानी छर्किदिए । ६ वटा अगरबत्ति बालियो । मलाई हरेक दिन मन्दिर लान्छु भन्नुहुन्थ्यो तर, झुलाउनु हुन्थ्यो । मैले बोल्न खोज्दा मलाई बोल्न समेत दिएनन् । गुरुको कुरा सुन भन्दै मेरो मुख थुनियो । मेरो मुख च्यातियो । हातको ईसाराले बोल्न खोज्थेँ तर सकिनँ ।’
उनका अनुसार झाँक्री मगरले उनको हात समेत पछाडीबाट बाँध्न निर्देशन दिएकी थिइन् । ‘मेरो हात पछाडीबाट बाँधिएको थियो । मैले सबैसँग सहयोगको गुहार मागेँ । तर, कोहीले केही सहयोग गरेनन्,’ उनले भनिन्,‘मेरो बुढो भनेर म चिच्याएँ । तर, कसैले केही सुनवाई गरेनन् ।’
उनले आफूमाथि सबैले कुटपीट गर्न थालेपछि बालेन शाह, बालेन शाह भनेर चिच्याएको समेत बताइन् । ‘तातो पन्युको निरन्तरको प्रहारपछि मेरो सेतो पानी बग्यो । म मरेँ जस्तो लाग्यो । मेरो खुट्टा पनि बाँधिएको थियो । सबैले यसो गर र त्यसो गर भने । तर, म अचेत अवस्थामा पुगिसकेछु । कसैले मेरो मुन्टो तानिदिएर क्र्याक भएको छ । म बचाउ बचाउ भनेर चिच्याएँ । तर, कोहीले सुनेनन् । मेरो ज्वाइँले पनि केही गरेनन् । झाँक्रीका दुई वटा भाईले मलाई तातो पन्यु प्रहार गरे,’ राई भन्छिन्,‘झाँक्रीको भाई अजित भन्नेले मेरो मुखमै पन्यु प्रहार गरे । अर्को कान्छा भन्नेले पनि पन्यु प्रहार गरेको थियो । मेरो दिदिको छोरीले पनि पन्यु तातो बनाएर प्रहार गरिन् । त्यसो गर्दा मेरो दाँत समेत भाँचिएको छ ।’
उनी जतिपटक चिच्याउँथिन् त्यतिनै पटक कथित माता भनिने सचिता भने चुप लाग्न उर्दी गर्थिन् । ‘म तिमीलाई बचाउँदैछु । ईन्डियाको गुरु ध्यानमा हुनुहुन्छ भनेर भनिन्थ्यो,’ राई भन्छिन् ।
राईका अनुसार उनीमाथि खुकुरीले समेत प्रहार गरिएको थियो । ‘मलाई खुकुरीले पनि प्रहार गरिएको थियो । मैले बाक्लो कपडा लगाएका कारण चोट लाग्न पाएन । तर, खुट्टामा खुकुरीको डाम छ,’ उनले भनिन्,‘तातो पन्युका कारण मेरो अनुहारदेखि सबै शरिर पोलेको छ । चल्न सकेको छैन ।’
झाँक्री बताउने सचिताले राईलाई त्रिशुलले समेत प्रहार गरेको पीडितको दाबी छ ।
घाइतेका श्रीमान डिकमान राईका अनुसार आफूले घटनाबारे शनिबार १२ बजेपछि थाहा पाएका थिए । ‘घटनाबारे मेरो छोरा नविन राईलाई कल गरेपछि थाहा पाएँ । म त ड्युटीका लागि बाहिर थिएँ,’ उनले भने,‘यो घटना सुन्ने वित्तिकै म तुरुन्त काठमाडौं आएको हुँ ।’
नेपाल प्रहरी जवान राई पर्सामा कार्यरत थिए । यही घटना सुने लगत्तै उनी काठमाडौं हानिएका हुन् । उनी काठमाडौं आए लगत्तै उनले प्रहरीलाई खबर गरेका थिए । उनको सुचना पछि प्रहरीले कथित झाँक्री भनिने सचिता मगरलाई पक्राउ गरेको छ । तर झाँक्री पक्राउ गरेको विषयमा प्रतिक्रिया लिन महानगरिय प्रहरी बृत्त बालाजुका डिएसपी रविन विष्टलाई सम्पर्क गर्दा उनले कुनै पनि प्रतिक्रिया दिन चाहेनन् ।
घटनाबारे जानकार घाइतेकी ज्वाइँ नाता पर्ने श्याम मगरका अनुसार उपचारका लागि उनी केहीदिन अघि नै काठमाडौं आएकी हुन् ।
मगरका अनुसार एक जना उनकै जेठानी दिदि पर्नेले उनै कथित झाँक्री सचिताबाट उपचार गरेको बताएकी थिइन् । जेठानी दिदिले पहिले उपचार गरेको भिडियो हेरेपछि सविताको शरिर कामेको श्यामको दाबी छ । त्यही देखेर उनी पनि उपचारका लागि काठमाडौं आएको श्याम बताउँछन् । ‘म त उहाँको छोरी ज्वाइँ । म उपचारको लागि आउँदैछु भनेर मेरो डेरामा आएर बस्नु भयो । दुई दिनसम्म काम्ने तर मुखबाट केही नबोल्ने भएको थियो । तल माताले फ्ल्याट लिएर बस्नु भएको थियो । उहाँलाई त्यहीँ लिएर गयौँ,’ श्याम भन्छन्,‘तर पनि केही बाक्य खुलेन । उहाँ बेला बेला मलाई मार्यो मार्यो भनेर चिच्याउनु हुन्थ्यो । मैले विहानै गएर मातालाई उहाँलाई शान्त गरेर पठाइदिनुस् हामीलाई ढुक्क हुन्छ भनेँ ।’
उनका अनुसार माता बताउने सचिताले ‘धेरै बोल्ने भएपछि तातो पन्युले हान्नुपर्छ’ भन्ने निर्देशन दिएकी थिइन् । माताको निर्देशनपछि श्यामले यस्तो गर्दा मेरो आन्टी घाइते हुनुहुन्न ? भन्ने प्रश्न गरेको उनी बताउँछन् । तर, झाँक्री सचिताले ‘तपाईंको आन्टीलाई केही पनि हुँदैन । तपाईं ढुक्क हुनुस् भित्रको नराम्रो शक्तिलाई मात्रै असर हुन्छ । तपाईंको आन्टीलाई १२ बजेपछि ठीक हुन्छ । बाहिरबाट हेर्दा अलिकति रुपमा मात्रै असर गर्ने हो’ जवाफ दिएको श्याम बताउँछन् । उनका अनुसार शनिबार विहान १० बजेदेखि नै राईमाथि तातो पन्यु प्रहार शुरु भएको थियो ।
‘उनको आदेश अनुसार मेरो श्रीमती र माताको दुई वटा भाईले तातो पन्यु हानेका हुन् । छाती, ढाड, अनुहार, गालामा तातो पन्युले हानियो । म चाहीँ भारतबाट भिडियो कल गर्ने गुरुलाई भिडियो देखाइरहेको थिएँ । उहाँले तपाईंको मान्छेलाई देखाउनुस् भनिरहनु भएको थियो,’ श्याम भन्छन्,‘उहाँले भिडियोमा अनुहार देखाउन भन्नुहुन्थ्यो । यता भने तातोपन्युले प्रहार भइरहेको थियो । उताको गुरुले हिन्दीमा भनेको कुरा मैले सुने पनि केही बुझ्न सकिनँ । तातोपन्युको प्रहारपछि उहाँ अचेत अवस्थामा पुग्नु भयो । ‘अब के हुन्छ ?’ भनेर मैले मातालाई सोधेँ । तर, उहाँले भने पुरानै कुरा दोहोर्याउनु हुन्थ्यो ।’