
काठमाडौं । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु म्यानेजमेन्ट प्रा.ली, प्रभु बैंक लगायतका उच्च अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यो अनुसन्धानको क्रममा बाराको साविक दहियार गाविस हाल महागढीमाई नगरपालिका वडा नम्बर ५ बगमपुर बस्ने ४१ वर्षिय रामबाबु प्रसाद जयसवाललाई पनि पक्राउ गरिएको छ । उनै जयसवाल मार्फत नेपालका बैंक तथा वित्तिय क्षेत्रले शंकाष्पद र राष्ट्र बैंक विरुद्धको कसुर आकर्षण हुने गरि अर्बौंको कारोबार गरेको तथ्य भेटिएको छ । जसलाई कानुनी भाषामा राष्ट्र बैंक ऐन विपरित कार्य भनिन्छ भने चलनचल्तीको भाषामा हुण्डी ।
प्रभु समुहका अध्यक्ष देवि भट्टचनसहित ७ व्यक्ति र २ कम्पति फरार सुचीमा राखेर दर्ता भएको अभियोग पत्र अनुसार नेपालका तीन बैंक मार्फत ठूलो हुण्डीको कारोबार हुने गरेको तथ्य भेटिएको हो ।
प्रहरी प्रतिवेदन अनुसार नेपाल राष्ट्र बैंक विप्रेषण विनियवाली, २०७९, प्रचलनमा आएदेखि प्रभु म्यानेजमेन्टले आफैले आफूलाई सबएजेन्ट नियुक्त गरेर कानुनको उलंघन गरिएको उल्लेख छ ।
प्रभु म्यानेजमेन्टको नाममा रहेको सिटिजन बैंकको खाता नम्बर ००१०१००००१८१८२०१ बिएण्डएस सब रेमिट विद्यानन्द दास तत्मा/राजु कुमार र विभिन्न व्यक्तिहरुको नाममा बारा जिल्लाको कोल्हावी शाखाबाट शंकाष्पद कारोबार भएको पाइएको हो ।

उक्त खातामा ९ लाख ९९ हजार ५ सय रुपैयाँको दरले शंकाष्पद कारोबार भएको देखिएको छ । सिटिजन बैंकको उक्त प्रभु म्यानेजमेन्ट प्रा.लीको खातामा खाता संचालकको समुह (क)बाट सन्तोष कुमार लामा, कुसुम लामा र समुह ख बाट हेम कुमार महाजु, श्रुतिका तामा लामाको हस्ताक्षर रहेको छ ।
सो खातामा आएका रकम राम बाबु जयसवालबाट ५ करोड ४१ लख रकम शंकाष्पद हुण्डिबाट कारोबार बाट आएको नेपाल राष्ट्र बैंकले सीआइबीलाई दिएको विवरणमा उल्लेख छ । हुण्डी कारोबारमा संलग्न राम बाबु जयसवालको नाममा सिटिजन बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताहरु मर्फत सन् २०२० देखि २०२५ सम्म १ सय कराेडको शंकाष्पद कारोबार भएको देखिएको छ ।

सीआइबीले सिटिजन बैंकको खाता मार्फत शंकाष्पद कारोबार भएपनि सिटिजन बैंकलाई प्रतिवादी बनाएको छैन । जबकी यस्ता घटनामा राष्ट्र बैंकले नै दिएको विवरणको आधार र प्रमाणलाई समेत हेरेर सिआइबीले प्रतिवादी बनाउनु पर्ने थियो । सीआइबीद्वारा पक्राउ गरिएका जयसवालले दिएको बयानमा एक लाख रुपैयाँ हुण्डि गरेबापत आफूले २ सय ५० रुपैयाँ कमिसन पाउने गरेको बताएका छन् ।


उनले दिएको बयान अनुसार नेपालमा आइपे रेमिट, सिटि एक्सप्रेस मनि ट्रान्सफर, ईसेवा मनि ट्रान्सफर, जिएमई रेमिट, पेवेल नेपाल, प्रभु म्यानेजमेन्ट, सजिलो पे सर्भिस, आइएमई लिमिटेड, रिया ट्रेडर्स, आइएमई डिजिटल सोलुसन मार्फत हुण्डी कारोबार गर्ने गरेको बयान दिएका छन् । उनको बयान अनुसार यी कम्पनिमाथि समेत सीआइबीले छानबीन गर्नुपर्ने भएको छ ।
अभियुक्तले दिएको बयानका आधारमा उनीहरुमाथिको छानबीनबारे प्रश्न गर्न सीआइबीका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक शिव कुमार श्रेष्ठलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।