‘फेक रेस्क्युको फाइल’ फेरी खुल्यो : सीआइबीद्वारा विभिन्न कागजात नियन्त्रणमा !

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पर्यटन क्षेत्रमा व्यप्त पदयात्री पर्यटकको फर्जी विमा भुक्तानीबारे अनुसन्धान शुरु गरेको छ । अनुसन्धानका क्रममा सीआइबीले मंगलबार केही विचौलिया कम्पनिमा छापा मारेको स्रोतले जनाएको छ । ‘पुराना र पेन्डिङमा रहेका सबै फाइलबारे अनुसन्धान शुरु भएको छ,’ सीआइबीका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक शिव कुमार श्रेष्ठले दियोपोस्टसँग भने,‘अनुसन्धानका लागि पत्राचार गर्ने कागजात संकलन गर्ने कार्य भइरहेको छ ।’

उच्च स्रोतका अनुसार ठमेल लगायत विभिन्न स्थानमा रहेका ७ कम्पनिबाट सीआइबीले कागजात नियन्त्रणमा लिएको छ ।

नेपाल घुम्न आउने पदयात्री पर्यटकलाई फर्जी बिल दाबी गरि विदेशी विमा कम्पनिबाट करोडौँ डलर भुक्तानी लिएको घटनामा तत्कालिन सरकारले सीआइबीलाई फाइल बुझाएको थियो । संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालयका तत्कालिन सहसचिव हाल अर्थमन्त्रालयका सचिव घनश्याम उपाध्यायको नेतृत्वमा छानबीन समिति गठन गरेको थियो । उक्त समितिले विभिन्न अस्पताल, विचौलिया कम्पनि लगायतलाई कारबाहीका लागि सिफारिस गरेको थियो । तर, राजनीतिक दबावमा यो फाइल गोप्य राखिएको थियो ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि बनेको सरकारले पुराना सबै घोटालाको फाइल अनुसन्धान थालेको छ । दियोपोस्टले समेत खुलाशा गरेको दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा हिनामिना, लम्पी स्किनमा नक्कली खोप प्रकरण, प्रभु बैंकभित्रको घोटालालगायतका मुद्दामा विभिन्न व्यक्ति पक्राउ परेका छन् । यसै शिलशिलामा सीआइबीले फेक रेस्क्युको फाइल समेत खोलेको हो ।
स्रोतका अनुसार अनुसन्धानका लागि विभिन्न टोली बनाएर खटाइएको छ ।

सम्बन्धित खबर