वैदेशिक रोजगार ठगीमा पक्राउ परेका बच्चु पौडेललाई छुटाउन चलखेल, सेटिङकाे आरोप

दियोपोस्ट संवाददाता

काठमाडौं । सर्वसाधरणको २ करोड ५० लाख रुपैयाँ भन्दा बढी ठगी गरेको अभियोगमा पक्राउ परेका सिन्धुपाल्चोकका बच्चु पौडेललाई छुटाउन सेटिङ्ग भएको पीडितहरुको आरोप छ ।

पौडेल र वैदेशिक रोजगार विभागका विचौलियाहरुले पीडितलाई बुधबार नै विभिन्न नम्बरबाट फोन गरी जाहेरी फिर्ता लिन र वैदेशिक रोजगार विभागमा उपस्थित हुन उर्दी गरिएको थियो । पीडित सुष्मा श्रेष्ठमाथि वैदेशिक रोजगार विभागकै महानिर्देशक कमल भट्टराईका विचौलिया भनिने केही व्यक्तिबाट हिजो बुधबार साँझ नै मिलापत्र गर्न र पौडेललाई रिहा गर्न दबाव परेको हो ।
यद्धपी महानिर्देशक भट्टराईले भने कुनै पनि सेटिङ्ग वा दबावका आधारमा अनुसनधानमा रहेका पौडेललाई रिहा नगरिने बताए । पीडितले विभागप्रति कुनै शंका वा आरोप लगाउनु नहुने उनको तर्क छ ।

ईभास कन्सलन्टिङ्ग सर्भिस मार्फत विभिन्न व्यक्तिलाई अष्ट्रेलिया पठाइदिने भन्दै पौडेल नेतृत्वको समुहले करोडौँ रुपैयाँ ठगी गरेको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले पक्राउ अनुमति दिएको थियो । अनुमतिकै आधारमा उनलाई कालिमाटी प्रहरी बृत्तले पक्राउ गरेको पीडितहरुले बताएका छन् ।

हाल कालिमाटी बृत्तको हिरासतमा रहेका पौडेललाई २४ घण्टा समेत हिरासतमा राखेको समय नपुग्दै छुटाउन तिब्र दबाव छ । उनलाई छुटाउनका लागि कालिमाटी प्रहरीमा सिन्धुपाल्चोकका विवादास्पद व्यापारीहरुको भिड लागेको थियो ।

सम्बन्धित खबर