त्रिपुरासुन्दरी गाउँपालिकामा अवैध ‘क्रसर दर्ता’ : कार्यकारी अधिकृत कार्यालयमै हुँदा इन्जिनियरद्वारा ‘कू’ !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता

धादिङ, १४ मंसिर । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ लपाङमा मापदण्ड विपरित सञ्चालित एक क्रसरलाई गाउँपालिकाले अनुमति दिएको खुलाशा भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा सञ्चालित नेत्रावती क्रसर उद्योगलाई गाउँपालिकाले स्विकृति दिएपछि गाउँपालिकामा समेत चरम विवाद भएको छ ।

स्रोतका अनुसार गाउँपालिका अध्यक्ष शम्भू थापा र उपाध्यक्ष देवि बुर्लाकोटीको निर्देशनमा गाउँपालिकाले उक्त क्रसरलाई अनुमति दिएको हो ।
गाउँपालिकाका कार्यकारी अधिकृत ओम प्रसाद सुवेदी कार्यालयमै रहेको अवस्थामा अर्का इन्जिनियर रामशरण अधिकारीले ‘कार्यकारी अधिकृत नभएको’ भन्दै निमित्त कार्यकारी प्रमुखको छाप लगाएर क्रसर दर्ता गरिदिएपछि विवादले उग्र रुप लिएको छ ।

क्रसर दर्ता गर्ने कुनै नियम नै नभएपनि गाउँपालिकाले भने मनोमानी रुपमा दर्ता गरिदिएपछि ठूलो आर्थिक चलखेल भएको स्रोतको दाबी छ ।
विवाद चुलिएपछि गाउँपालिकाका कार्यकारी निर्देशकले जिल्ला स्थित विद्युत प्राधिकरणका अध्यक्ष धुर्व कुमार कार्कीलाई लाईन नजोड्न मौखिक निर्देशन दिएका थिए । तर, कार्कीले मौखिक निर्देशन आफूले नमान्ने भन्दै लाईन जोड्न स्विकृति दिएका थिए ।

स्रोका अनुसार विद्युत प्राधिकरणका धादिङ प्रमुख ध्रुव कार्कीलाई समेत क्रसर माफियाले आर्थिक प्रभावमा पारेका छन् । ‘गाउँपालिकाको मौखिक निर्देशन उहाँले मान्नु पर्ने हो । तर मान्नु भएन,’ गाउँपालिकामा कार्यरत एक कर्मचारीले भने,‘हामीले थाहा पाए अनुसार क्रसर व्यापारीले विद्युत प्राधिकरणका हाकिम सापलाई आर्थिक प्रभावमा पारेका छन् ।’

त्यसैगरी गाउँपालिका कर्मचारीको मिलेमतोमा उक्त क्रसर दर्ताको सक्कली प्रमाण नै गायब बनाएका छन् । ‘यहाँ क्रसर दर्ताको ओसी नै छैन,’ गाउँपालिका कर्मचारीले भने,‘विद्युतले समेत माग गर्दा दिइरहेको छैन ।’

त्रिपुरा सुन्दरी गाउँपालिकाका कार्यकारी अधिकृत ओम प्रसाद सुवेदीले आफू बाहिर रहेको बेला क्रसर दर्ता भएको बताए । उनले हामीसँग यस्तो बताएपनि गाउँपालिकाका एक कर्मचारीले भने उनी सो दिन कार्यालयमै रहेको बताए ।

विद्युत प्राधिकरण जिल्ला शाखा धादिङका प्रमुख ध्रुव कुमार कार्कीले आफूलाई लिखित निर्देशन आए विद्युत बन्द गरिदिने बताए ।
गाउँपालिका अध्यक्ष शम्भू थापाले भने फोन उठाएनन् ।

स्रोतका अनुसार काठमाडौं स्थित कम्पनि रजिस्टार कार्यालयमा दर्ता रहेको नेत्रावती निर्माण कम्पनिलाई क्रसर उद्योग सञ्चालन गर्ने अनुमति दिइएको छ ।