निगमलाई दैनिक चार करोड नाफा तर, इन्धनकाे मूल्य २ रुपैयाँ मात्र घट्यो

Diyo post  

काठमाडौं,मंसिर १८ । १५ दिनका लागि साढे ५६ करोड नाफा सुनिश्चित गरेर नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाएको छ । सोमबार रातिदेखि लागू हुने गरी भएको समायोजनसँगै पेट्रोल एक सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

दुई रुपैयाँ घटाएर बेच्दा पनि निगमलाई १५ दिनमा ५६ करोड ५८ लाख नाफा हुनेछ । अहिले दैनिक करिब ५० करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री हुन्छ । यो हिसाबमा दिनमै करिब ४ करोड नाफा हुन्छ । निगमले कम नाफा राखेर समायोजन गरेको भए पेट्रोलियमको भाउ अझै कम हुने थियो ।

निगम प्रवक्ता वीरेन्द्र गोइतले चालू आर्थिक वर्षको सुरुबाटै निरन्तर नोक्सान भइरहेका कारण अहिले नाफा राखेर मूल्य समायोजन गरेको बताए । ‘विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगेको थियो । त्यो वेला एक महिनामै निगमलाई दुई अर्बभन्दा बढी घाटा भयो,’ उनले भने, ‘निरन्तर नोक्सान खेपिरहेका कारण चालू आवको हालसम्म ३ अर्ब ८४ करोड घाटा भइसकेको अवस्था छ ।’ विगतमा भएको नोक्सानीलाई भर्पाई गर्न अहिले चर्को नाफा राखेर मूल्य थोरै घटाएको निगमको तर्क छ ।

चाडपर्वको नोक्सान भर्पाई गर्दै
आयल निगमले दसैँ, तिहार र छठमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थिएन । १ असोजमा मूल्य समायोजन गरेको निगमले त्यसयता चाडबाडमा जनतालाई राहत दिन भन्दै भाउ स्थिर राखेको थियो । तर, सो समयमा भारतीय आयल कर्पाेरेसन (आइओसी)बाट बढेको मूल्यमा पेट्रोलियम पदार्थ ल्याइरहेको थियो । यही कारण घाटा चुलिएको निगमको दाबी छ ।

निगमका प्रवक्ता गोइतले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा चाडपर्वमा मूल्य वृद्धि गर्न नपाएकाले अहिले थोरै मूल्य घटाएर धेरै नाफा राखेको संकेत गरिएको छ । ‘स्मरण रहोस्, पेट्रोलियम पदार्थको खरिद मूल्य अत्यधिक बढेका वेला पनि नेपाल सरकार तथा सम्बन्धित संसदीय समितिको अनुरोधपछि निगमले बढाएको थिएन,’ विज्ञप्तिमा भनिएको छ ।

एक लिटर पेट्रोल बेच्दा ११.४४ रुपैयाँ नाफा
निगमले मंगलबारबाट एक लिटर पेट्रोल बिक्री गर्दा ११ रुपैयाँ ४४ पैसा नाफा आर्जन गर्नेछ । देशभर दैनिक ११ लाख लिटर पेट्रोल खपत हुन्छ । त्यस्तै, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८१ पैसा नाफा राखिएको छ ।

देशभर डिजेल दैनिक ३० लाख लिटरभन्दा बढी खपत हुन्छ । खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर दुई सय ८४ रुपैयाँ प्रतिसिलिन्डर नोक्सान हुने निगमको भनाइ छ । यद्यपि यो घाटा रकम पनि आधा कम भएको हो । ग्यासमा निगमले अधिकांश समय नोक्सान खेपेर अन्य पेट्रोलियमबाट नाफा आर्जन गर्ने गरेको छ । मंगलबारको नयाँपत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित खबर