मर्मतमा सवा दुई करोड खर्च गर्ने कि नगर्ने निर्णय नहुँदा ३८ दिनदेखि विमान क्वालालम्पुरमा बसेको छ
काठमाडौं, मंसिर १९ । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन एक्सरे गराउन कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले उडाएर काठमाडौंबाट क्वाललमपुर पुर्याएका थिए ।
‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने भनिएको थियो,’ स्रोतले भन्यो, ‘व्यवस्थापनको बेलैमा निर्णय नगर्दा डेढ महिना भइसक्यो जहाज फर्किएन।’ क्लालामपुरस्थित निगमको विमान मर्मत गर्ने जिम्मा लिएको डेभिएसन कम्पनीले इन्जिन एक्सरे गर्दा थप प्राविधिक गडबडी देखाएको स्रोतले बतायो।
त्यो विमानको इन्जिनमा हुने सी डक्ट उपकरण नै इन्जिनियरले फेर्नुपर्ने सुझाव दिएका थिए। बोइङ कम्पनीका इन्जिनियरले पनि मलेसियन प्राविधिककै सुझावअनुसार विमान मर्मत गर्नुपर्ने भनेको छ। उक्त उपकरणको २ लाख डलर हाराहारी (२ करोड २५ लाख रुपैयाँ) लागत पर्ने भनिएको थियो। ठूलै रकम आवश्यक पर्ने भएपछि काठमाडौंस्थित निगम व्यवस्थापनले निर्णय लिन सकेन। ‘हामीसँग रकम पनि उपलब्ध भएन, अर्को कुरा त्यो उपकरण फेर्ने कि नफर्नेबारे बेलैमा निर्णय पनि दिन सकिएन,’ स्रोतले भन्यो, ‘बेलैमा व्यवस्थापकीय निर्णय दिन नसक्दा जहाज उता थन्किएको छ। पार्किङ चार्जको बिल दैनिक निगमको थाप्लोमा बढेको बढ्यै छ।’
निगमले ३० वर्ष पहिले दुइटा बोइङ विमान खरिद गरेको थियो। यीमध्ये कर्णाली नाम दिइएको एउटा पुरानो बोइङ बीबी एयरवेजले एक वर्षअघि लिलामी प्रक्रियामार्फत खरिद गरिसकेको छ।
एक वर्षयता त्यो विमानबाट कमर्सियल उडान भएका छैनन्। ‘काठमाडौं विमानस्थलमै ग्राउन्डेड गरिएको बीबीको स्वामित्वको त्यो जहाजबाट सी डक्ट झिकेर मलेसियामा अलपत्र परेको विमानमा राख्ने कुरा पनि चलेको थियो तर त्यसो गर्न नमिल्ने रहेछ,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘हामीले नै बिक्री गरेको विमान तर पूरा स्वामित्व हस्तान्तरण नभइसकेकाले बीबीबाट त्यो उपकरण झिकेर हाल्दा विवाद हुने भएकाले त्यसो गर्न पनि सकिएन।’
कमर्सियल विभागका एक अधिकारीका अनुसार निगमको यो विमान हङकङ र दुबईबाहेक प्राय: सातामा ३/३ दिन भारतको बैंगलोर र थाइल्यान्डको बैंकक उड्थ्यो। बैंगलोरको दुईतर्फी उडानमा यसले ३७ लाख हाराहारी र बैंककको उडानमा ५० लाख हाराहारीको आम्दानी गथ्र्यो। यो विमान मलेसियामा थन्किएपछि अहिले एयरबसका न्यारो र वाइडबडीमार्फत ती रुटमा उडान मिलाइएको छ।
बोइङका लागि मात्रै निगमसँग ६ जना वरिष्ठ पाइलट छन्। जहाज नै नभएपछि उनीहरू घरै बसेर जागिर खान बाध्य भएका छन्। जहाज नउडदा निगमले कम्तीमा ४५ उडान घण्टा बराबरको पारिश्रमिक दिनुपर्छ।
‘यो विमानकै लागि करिब २० जना सर्टिफाइड एयरहोस्टेस छन् तर उनीहरूलाई अर्को प्रकारको पनि विमानमा उड्ने प्रमाणपत्र हुने भएकाले समस्या भएन तर बोइङको पाइलटले अर्को विमान उडाउन नमिल्ने भएकाले यो बेर्थैकै दायित्व थपिएको छ,’ निगमको फाइन्स विभागका एक अधिकारीले भने।
यसैबीच यसै विमानको एउटा करोडौं मूल्यको इन्जिन आइबेरियामा मर्मतका लागि ५ वर्षअघि पठाइएको थियो। उक्त इन्जिनबारे निगमको इन्जिनियरिङ विभाग र व्यवस्थापन बेखबर छ।
‘पेमेन्ट गर नत्र तिमीहरूको इन्जिन सिज गरिदिन्छौं भनेर उताको पाटीले इमेल पठाएको बैठकहरूमा पहिले पहिले सुनिथ्यो तर अहिले त्यो इन्जिनको अवस्था पनि के छ? हामीलाई केही जानकारी नै छैन,’ सम्बद्ध स्रोतले भन्यो।