काठमाडौँ, पुष ४ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको आलोचना बुधबार पनि चर्किएको छ । पार्टी कार्यलय धुम्बाराहीमा जारि स्थायी समितिको वैठकमा बुधबार दुई अध्यक्ष केपी ओली र प्रचण्डको कार्यशैलीलाई लिएर वैठकमा उपस्थित नेताहरुले चर्को आलोचना गरेका हुन् ।
शनिबारदेखि चलेको वैठकमा अधिकांश समय नेताहरुले दुई अध्यक्षको आलोचना गरेका थिए । दुई तिहाईको सरकार हुँदापनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको, पुनः निर्माण तथा पुर्वाधार विकासमा सरकारले तिब्र रुपमा काम गर्न नसकेको तथा पार्टीभित्र नेतृत्वले प्रभावकारी ढंगबाट व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गरिएको थियो । नेता गौतमले नेकपाको नेतृत्व एकजनाले मात्र गर्नुपर्ने सुझाव दिएका थिए । पार्टी अध्यक्ष दुईजना भएकोले पनि जुन गतिमा जानुपर्ने हो त्यस्तो नदेखिएको नेताहरुले बताएका थिए । गौतमले अध्यक्षको जिम्मा प्रचण्डलाई दिनुपर्ने समेत बताएका थिए ।
वैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा नेता झलनाथ खनाल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, देव गुरुङलगायत आठ नेताहरु सहभागी भएका थिए । उनिहरुले दुई अध्यक्षले ल्याएका प्रतिवेदनको परिमार्जन गर्नुपर्ने समेत बताएका छन् ।
वैठक भोलि विहान पनि बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । भोलीको वैठकमा बोल्न बाँकी अन्य नेताहरुले आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।