काठमाडौँ, पुष ६ । एपि वान टेलिभिजनले प्रसारण गरेको नेपाल आइडल सिजन टू का विजेता रवि ओडले जितेका छन् । शुक्रबार ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा भएको फिनालेमा रवि विजेता घोषित भएका हुन् ।
धनगढीबाट अडिसन दिएका रविले शुरुवातदेखि नै जज र दर्शकहरुको राम्रो समर्थन पाएका थिए । नेपाल आइडल सिजन टु का विजेता बनेका रविले नगद २२ लाख, होन्डाको डब्लु आरभि कार र गोल्डेन ट्रफि प्राप्त गरेका छन् ।
काठमाडौँबाट अडिसन दिएका सुमित पाठक तेस्रो भए । उनले पनि अडिसन राउण्डमा गोल्डेन माइक्रोफोन जितेका थिए । उनले ब्रन्ज ट्रफि र बाह्र लाख बराबरको चेक प्राप्त गरे ।
प्रतियोगिताको फिनालेसम्म पुग्न सफल एकमात्र महिला प्रतियोगी अस्मिता अधिकारी चौथो भइन् । काठमाडौँबाटै अडिसन दिएकी अस्मिता गोल्डेन माइक्रोफोन विजेता हुन् । उनले टिभिएसको स्कुटर प्राप्त गरिन् ।
प्रतियोगिताको फाइनलसम्म पुगेका चार जना प्रतिस्पर्धीहरुलाई नेपाल आइडलले विश्व भ्रमण गराउनेछ । सांगितिक यात्राको रुपमा गराइने भ्रमण जापानबाट शुरु गरिने बताइएको छ । शुक्रबारको फिनालेमा बुगी वुगीका टप थ्री विजेताहरुले नृत्य प्रस्तुत गरेका थिए भने सन्दीप क्षेत्रीले दर्शकलाई हँसाएका थिए ।