काठमाडौं, १० पुस । स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीले बेहोरेको नमिठो पराजयपछि कांग्रेसमा युवा नेताहरुले पार्टी सुधारको कार्ययोजना ल्याएका थिए ।
पार्टीमा सदस्यता सुधारदेखि, समावेशीता, केन्द्रीय नेताहरुले पनि तलबाटै चुनिएरै आउनुपर्ने, एक व्यक्ति एक पद र पदाधिकारी बढाउनुपर्ने र निर्वाचित गरेरै आउनुपर्ने मुख्य माग गरेका थिए । यी मुख्य माग मध्ये लगभग सबैमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले सहमति जनाएका छन् । पदाधिकारी निर्वाचित गर्ने, समावेशी बनाउँने, सदस्यतामा सुधार गर्ने विषयलाई विधानले व्यवस्थित गरिसकेको छ । बाँकी एक व्यक्ति एक पद र नेताहरु तलबाटै चुनिएर आउनुपर्ने विषयलाई केन्द्रीय समितिबाट मिलाउने वचन देउवा र पौडेलले दिएपछि गगन, गुरु, विश्वप्रकाश, धनराज र प्रदीहरुले उठाउँदै आएको माग धेरै हदसम्म पूरा भएको टिप्पणी कांग्रेससभित्र गर्न थालिएको छ ।
यो अभियानमा युवा नेताहरुले पार्टी सुधारको लागि संयुक्त कार्ययोजना ल्याउँनेदेखि नेतृत्वलाई दबाब दिनेसम्मका काम गरेका छन् । यो अभियानमा चन्द्र भण्डारी, नविन्द्रराज जोशी, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, जीवन परियार, किरण यादव, बद्रि पाण्डेसहितका लामो नेताहरुको सूची छ । यी नेताहरु पक्षधरताको हिसाबले सबै अलगअलग गुटबाट प्रतिनिधित्व गर्छन् । तर, महासमिति सकिंदै गर्दा यिनीहरुको साझा सवाल पूरा हुने बाटोमा कांग्रेस अघि बढेको छ ।
कुनै समय सभापतिबाहेक सबै मनानित गरी स्वेच्छाचारिता रहँदै आएको कांग्रेसका निम्ति पदाधिकारीमा समावेशी सहमहामन्त्री बनाउँदै निर्वाचनबाट कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने मोडमा पुग्नु यी युवा नेताहरुको मात्र विजय होइन । सभापति देउवा र नेता रामचन्द्र पौडेलको पनि विजय हो । युवा नेताहरुको भावनाको प्रतिनिधित्व गर्दैनन् भनेर वर्षौदेखि लाग्दै आएको धब्बालाई अग्रगामी निर्णय गरेर नेताहरुले आफूलाई परिवर्तनकारी नेताहरुको उभ्याएका छन् ।
१४ औं महाविधेशनको सम्भावित हारजितलाई आँकलन गर्दै पदाधिकारी नबढाउँने, मनोनित गर्ने जस्ता विषयमा केही दिन कांग्रेसको शीर्ष नेतृत्व नअल्झेको होइन । तर, युवा नेताहरुको परिवर्तनको चाहना र शिथिल भएको कांग्रेसलाई पुनः दरिलो बनाउनुपर्ने सोचका अगाडि पुराना नेताहरुले पनि आफूलाई एक कदम अगाडि हिंडाएका छन् ।
नेता रामचन्द्र पौडेलले समापन भाषणमा व्यक्त गरेको एउटा गम्भीर सवालले पनि यसलाई पुष्टि गर्छ । उनले भनेका थिए–कतिले दुवैलाई (देउवा र मलाई) एउटै खाल्टामा हाल्ने हो पनि भनेका थिए । तर, आज हामीले नेपालमा मात्रै होइन दुनियाँलाई सन्देश दिने गरी पार्टीमा परिवर्तनको उद्घोष गरेका छौं । पार्टी एकताको सन्देश दिएका छौं । यो चानेचुने कुरा होइन ।’
हुन पनि युवा नेताहरुको परिवर्तनप्रतिको चाहना र कम्युनिष्ट दलसँग भिड्नका लागि पार्टीको संरचनागत सुधार गर्नुपर्छ भावनामा देउवा र पौडेलले जग हालिदिएका छन् ।
अब पालो युवा नेताहरुको
अब मुस्किलले एउटा कार्यकालसम्म मात्र अहिलेको देउवा र पौडेलको नेतृत्व कांग्रेसमा स्थापित हुने देखिन्छ । यस्तोमा १५ औं महाधिवेशनबाट स्थापित हुने भनेको युवा नेताहरुको जमात नै हो । किनकी पहिलो पुस्ता र दोस्रो पुस्ताका कतिपय नेताहरुले यो बीच नै राजनीतिबाट विश्राम लिइसक्नेछन् । यस्तो हुँदा युवा नेताहरुसामू अब १४ औं महाधिवेशनको पूर्व सन्ध्यादेखि नै एक हुने अवसर आएको छ । अलग गुटमा रहेर पनि मुद्दामा समान धारणा बनाएर अघि बढ्न सक्दा उनीहरुले पार्टीको गिरेको साख र छविलाई स्थापित गर्ने सामथ्र्य राख्नेछन् ।
अहिले सहमहामन्त्रीहरु महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, थारु, खस आर्य र पिछडिएको क्षेत्रबाट बनाउँने गरी विधान पास भएको छ । यस्तोमा युवा नेताहरु सबै क्लस्टरमा अटाएर निर्वाचितसम्म हुने अवस्थामा पुग्नेछन् । १४ सदस्यीय पदाधिकारीमा ८ सहमहामन्त्री युवा नेताहरुको भावनालाई प्रतिनिधित्व गर्नेबाट जिते भने उनीहरुको उपलब्धीमात्र हुने छैन । पार्टीमा हस्तक्षेप नै गर्ने अवस्था आउँन सक्छ ।
यसका उदाहरणमा महिलाबाट किरण यादव, जनजातिबाट धनराज गुरुङ, मधेसीबाट रामकृष्ण यादव, दलितबाट जीवन परियार सहमहामन्त्रीमा जित्न सक्ने सम्भावित उम्मेदवार हुन् सक्छन् । किनकी युवा नेताहरु परिचित र योग्यता राख्नेमा पर्छन् ।
युवा नेताहरुमध्येबाट एक जना जसरी पनि महामन्त्री हुने दौडबाट अब यिनीहरु पछि हट्न हुन्न भन्ने माग पनि कांग्रेस वृत्तमा धेरै नै बढेको छ । युवा नेताहरुको एकमत र मुद्दामा समान धारणाले मात्रै पनि १४ औं महाविधेशनमा गगन, गुरु, प्रदीप र विश्वप्रकाश मध्ये एक जना महामन्त्री बन्ने लगभग निश्चित । तर, यसका लागि गुटगत जालोबाट युवा नेताहरु माथि उठ्नु जरुरी छ ।