काठमाडौं, १६ मंसिर । अन्नपूर्ण मिडिया नेटवर्कका मालिक समेत क्याप्टेन रामेश्वर थापाद्वारा सञ्चालित सिम्रिक एयरलाइन्सको हेलिकाप्टरमा बन्य जन्तुको सिंङ्ग तस्करी हुने गरेको खुलाशा भएको छ ।
मंगलबार विहान करिब ९ बजेर १० मिनेट जाँदा गोरखाको धापबाट काठमाडौं आएको सिम्रिक एयरको हेलिकोप्टरबाट बन्य जन्तुको सिंङ्ग तस्करी भएको पाइएको हो ।
विमानस्थल प्रहरीले हुम्लाको साविक मदना गाविस वडा नम्बर ९ हाल ताँजाकोट नगरपालिका वडा नम्बर ५ स्थायी वतन भएकी २५ वर्षिय सम्झना बुढालाई पक्राउ गरेको छ ।
पक्राउ परेकी बुढाले सेतो रङ्गको बोरामा २ वटा ठूला सिंग राखेर ल्याएकी थिइन् । विमानस्थल स्थित एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा प्रहरीले बरामद गरेको हो । प्रहरीले पक्राउ परेका बुढा र उक्त सिंङ्ग जिल्ला वन कार्यालय हात्तिसार पठाएको छ ।
हिमाली भेगमा पाइने थार नामक बन्य जन्तुको सिंङ्ग तस्करी भएको जिल्ला वन कार्यालयका एक कर्मचारीले दियोपोस्टलाई जानकारी दिए । थारको दायाँ सिंङ्ग रातीको समयमा बल्ने बताइन्छ ।
विमानस्थलले हेलिकोप्टर कम्पनिलाई कुन वस्तु बोक्न हुने कुन नहुने भन्नेबारे विमानस्थल प्रहरीले हेलिकोप्टर कम्पनिलाई बताएको हुन्छ । तर सिम्रिकले भने पटक पटक निषेधित क्षेत्रमा हेलिकोप्टर ल्यान्ड गर्नेदेखि तस्करीको सामान ओसार्ने गरेको छ ।
सिम्रिक एयरका महाप्रबन्धक प्रेम थापाले पक्राउ परेका व्यक्तिले आफ्नो झोला भनेर हेलिकोप्टरमा राखेको त्यसबारेमा आफूहरुलाई पूर्व जानकारी नभएको बताए । उनका अनुसार पक्राउ परेका बुढाले भने आफूलाई उक्त झोला अरु नै व्यक्तिले बोकाएको बयान दिएका छन् ।