दोलखा, १३ पुस । भारतको सिक्किमबाट दोलखाको शैलुङ पसेका सिक्किम विकलांग सेवा समाजका अध्यक्ष दिपक गौतमले दाता बनेरै लाखौं ठगेको घटना सार्वजनिक भएको छ। दोलखा जिल्लाको शैलुङ गाउँपालिकाको एक विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्ने भन्दै गत भदौमा उनले गाउँपालिकाले भाडामा लिएको बोलेरो गाडी र नगद करिब ४० लाख रुपैँया ठगेर बेपत्ता भए पछि घटना बाहिरिएको हो ।
दाताको नाममा शैलुङ छिरेका गौतमले स्थानीय विद्यालयमा बालकक्षाकी शिक्षिकालाई पनि भगाएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए।
ठगी गरी फरार रहेका गौतमको खोजीका लागि जीप धनी, युवतीका आफन्त र गाउँपालिकाको टोली खटिएको छ । दोलखा जिल्ला प्रहरी प्रमुख रेवतीरमण पोखरेलले ठगीको विषयमा आफूहरूलाई केही जानकारी नभएको तर गाडी चोरी भएकोबारे किटानी जाहेरी दर्ता भएको बताए । बा १० च ४६०८ नम्बरको बोलेरो जीप धनी यादव थापाले मंसिर ११ गतेदेखि दिपक गौतमले गाडी चोरी गरेको भनि प्रहरीमा किटानी जाहेरी दिएको र पत्रपत्रिकामा सार्वजनिक सूचनासमेत प्रकाशन गरेका छन्।
स्रोतका अनुसार अध्यक्ष दुलाल, वडाध्यक्षहरू, व्यापारी, प्रधानाध्यापक र सर्वसाधारणसमेतलाई गौतमले ठगी गरेका रहेछन्। भदौ महिनामा दाता बनेर आएका गौतमले शैलुङ गाउँपालिका भित्रका करिब आधादर्जन विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका थिए। सामग्री पाउने भएपछि विद्यालयहरूले समुदायका अग्रजहरूलाई बोलाएर भव्य कार्यक्रम गरेरै गौतमलाई परिचित हुने मौका प्रदान गरे।
भारत सरकारले सहयोग रहेको ठूला परियोजनाहरू आफूसँग रहेको र सबैलाई सहयोग गर्ने भन्दै आकर्षित बनाएर स्थानीयलाई लोभ्याएका थिए। जनप्रतिनिधिहरूसँग बाक्लो उठवस भएर विभिन्न सार्वजनिक कार्यक्रममा उपस्थित भएको आधारमा स्थानीयहरूले पनि सहयोगको आशामा गौतमलाई सापटी भन्दै नगद दिएको स्थानीय नेत्र मोक्तानले बताए।
गौतमले विभिन्न विद्यालयका शिक्षक, व्यक्ति र जनप्रतिनिधिहरूसँग ४० हजारदेखि तीनलाखसम्मको सापट लिएर एकमहिनादेखि फरार भएको स्थानीय बताए । शैलुङ गाउँपालिकाकी उपाध्यक्ष लालमाया योञ्जनका श्रीमान् कल्लाबारी माविका प्रधानाध्यापक चन्द्रलाल घिसिङलाई समेत विद्यालयलाई सहयोग गर्ने भन्दै ५० हजार रकम ठगी गरेको उपाध्यक्ष योञ्जनले बताइन्।
सोही गाउँपालिका–६, फस्कुका तीनजनालाई जापान पठाइदिन्छु भन्दै जनही तीन लाखको दरले नौ लाख रुपैयाँ ठगी गरेको उनले जानकारी दिइन्। यति धेरै ठगी गरे पनि गाउँपालिका र स्थानीयले प्रहरीमा उजुरी दिएका छैनन्। बरु खोजीमा आफैं जुटेका छन्।