प्याड महंगो भए ‘धोतीको टालो हाल्’ भन्नेजस्तो व्यवहार सरकारले देखाइरहेको छ

महिनावारी बहस

diyopost.com
राजु झल्लु प्रसाद
  शुक्रबार, मंसिर १७, २०७८ | १५:३२:२८

महिनावारी अर्थात् रजस्वला (नेपालमा प्रचलनमा रहेको शब्दहरू: नछुने हुनु, परा सर्नु, छुई हुनु इत्यादि) महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया हो । पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी हुन्छन्, जुन अनिवार्य जैविक प्रक्रिया हो । चिम्पाञ्जीको उदयसँगै वा चार खर्ब वर्षदेखि महिनावारी विद्यमान भएको रेकर्डमा देखिन्छ ।

सामान्यतया स्वस्थ बालिका १० वर्ष पुगेपछि कुनै पनि समयमा रजस्वला हुन्छिन् । बालिका १० देखि १५ वर्ष हुँदा पहिलो पटक रजस्वला हुनु स्वास्थ्यको दृष्टिकोणमा राम्रो मानिन्छ । नेपालमा धार्मिक, सामाजिक कारणले गर्दा महिनावारिको खासै कुराकानी हुँदैन । शहर वा विकसित देशमा पनि महिनावारी विभेद फरक नाम, स्वरुप वा बहानामा अभ्यासमा छन् । कतिपय ठाउँमा सजिलै देखिन्छ भने कतिपय ठाउँमा देखिँदैन ।अन्य सामाजिक अवस्थाका कारण तरिकाहरु फरक होलान् । आयाम फरक हुनसक्छन् । धेरै थोरै होलान् । तर, केही न केही विभेद जहाँसुकै छ । पुरुष मात्रै हैन नेपालमा स्वयम महिलाहरू पनि यस विषयमा खुलेर बोलेको एकदमै कम पाइन्छ ।

रजस्वला हुँदा हुने शारीरिक दुखाइ, मानसिक तनाव र हार्मोन परिवर्तनहरू महिलाको स्वास्थ्यसँग सम्बन्धित विषय हो । महिलाहरूको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध राख्ने यस विषयमा खुलेर कुरा नहुँदा महिलाहरूले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको छ । महिनावारिकै कारण लज्जित हुनुपर्ने, जागिरमा खटपट हुने, सम्बन्धमा दरार आउने, अमर्यादित व्यवहार नहुने, हीनताबोध हुने आदि अवस्था निस्तेज हुनुपर्छ । त्यसैले मर्यादित महिनावारी नीतिगत तहमा आई मूलप्रवाहीकरण हुनु आजको आवश्यकता हो ।

यहि कुरालाई मध्यनजर गर्दै दियो पोस्टले आफ्नो नियमित साप्तहिक स्तम्भ ‘महिनावारी बहस’ सुरु गरेको छ । प्रस्तुत छ, दियो पोस्टका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री:

एलिसा एकलाससँग ‘महिनावारी बहस’

महिलाहरू महिनावारी हुँदा धेरै खर्च हुने देशको सूचीमा नेपाल पाकिस्तानपछि दोस्रो स्थानमा रहेको बीबीसीले बताइसकेको थियो। यस्तो बेला सरकारले प्याडको मूल्य अझ बढायो। मिन्स्ट्रुयल कप, टेम्पोनमा उत्तिकै कर लगाइरहेकै छ। सरकारको नालायककीलाई कसरी हेरिरहनु भएको छ? 

प्याड, मिन्सट्रुयल कप वा टेम्पोनको उपलब्धता कहाँ कहाँ छ भन्ने कुरा विचार गर्दै, यी कुरा प्रयोग गर्ने महिलाको जनसंख्या आँकलन गर्नुपर्छ होला। के हाम्रा सबै दिदिबहिनीहरुमाझ प्याडको उपलब्धता छ त? मिन्स्ट्रुयल कप वा टेम्पोनको नाम सुन्ने र काम कसरी गर्छ थाहा पाउने महिला जनसंख्या कति छ त? त्यसपछि आउँछ ‘मेक मिन्स्ट्रुयल आइटम्स ट्याक्स फ्रि’ को कुरा। हामीले गरिरहेको ट्याक्स फ्रि प्याडको कुरा पहिले आम महिलाहरुको सरोकारको विषय बन्नुपर्छ। तबसम्म यो विषय सबै महिलाको सरोकारको विषय बन्दैन जबसम्म महिनावारीमा चाहिने ‘सामानहरु’ विलासिताका वस्तु मानिन्छन्। यसलाई आवश्यकता बनाउनु जरुरी छ। आवश्यकता बनाउनका लागि यसको उपलब्धता र सर्वसुलभता हुनु जरुरी छ। नेपालको परिप्रेक्ष्यमा म यी दुवै भएको देख्दिनँ। प्याड महंगो भए ‘धोतीको टालो हाल्’ भन्नेजस्तो व्यवहार सरकारले देखाइरहेको छ। यो आफैंमा लाजमर्दो कुरा हो।

अध्ययनअनुसार, नेपाली महिलाहरूले आफ्नो जीवनमा झन्डै २,१०,५६५ रुपैयाँ महिनावारी हुँदा खर्च गर्छन् । तपाईँको आफ्नो भोगाई के छ ? पेनकिलर ट्याब्लेट (यदि प्रयोग गर्नुहुन्छ भने), प्याड लगायतका लगायातका सामग्रीहरू प्रयोग गर्दा तपाईँको महिनावारी खर्च कति पुग्न जान्छ? 

महिनावारीको खर्च यति नै हुन्छ भनेर म भन्न सक्दिनँ। म महिनावारीको वेला ‘सिभर पेन’ भोग्ने महिलाहरुमध्येमा पर्छु। महिनावारी हुनु २-३ दिन अघिबाटै पेट कम्मर दुख्न थाल्छ। ‘मेफ्टल – 500’ औषधि खान्छु। ब्लिडिङको हिसाबले सस्तो-महंगो प्याड प्रयोग गर्ने हुनाले खर्चको खासै हिसाबकिताब हुँदैन। या यो आधारभूत आवश्यकता मानेर मैले यसको हिसाब नगरेको हुनसक्छु।

प्याड महँगो भएपश्चात् प्रयोग कम हुने भयो नि, होइन ? स्वास्थ्यको दृष्टिकोणमा कमसल विधि अपनाइनु राष्ट्रकै लागि घाटाको कुरा होइन र ?

मलाई लाग्छ प्याडमा सबैको पहुँच छैन। पहुँच नहुनु प्याडको महंगाइसँग मात्र जोडिँदैन, यसको उपलब्धतासँग पनि जोडिन्छ। गाउँघरमा प्याड खोज्न ‘मेडिकल स्टोर’ नै जानुपर्ने अवस्था देखेकि छु र मेडिकल सबैको घर नजिक हुँदैन वा काठमाडौं लगायतका सहरमा जस्तो जहीँतहीँ प्याडको बिक्रि हुँदैन। बिक्रि भएपनि पसलमा को छ? महिला या पुरुष भन्ने कुराले केटिहरु/महिलाहरु प्याड किन्ने नकिन्ने डिसाइड गरिरहेका हुन्छन्। यो अवस्थामा त प्याडको प्रयोग कम नै हुने भयो। महिलालाई नै कानुनले ‘दोस्रो दर्जा’ को बनाइरहँदा महिलाको स्वास्थ्यमा सरकारले ध्यान दिन्छ भन्ने आशा कसरी राख्नु र? 

आमा हजुरआमाले पुराना मक्किएका कपडा प्रयोग गरेर प्याड बनेको र सुकाउने ठाउँ नहुँदा दोस्रो वस्त्र मुनि चेपेर सुकाउने गरेको देखेको हूँ । अहिले चाल पाउँछु, ससुरा-देवर भएका संयुक्त परिवारमा गोपनियताको कुरा पनि रहेछ त्यहाँनेर । र, त्यसरी घाममा सुक्न नै नपाएका ती प्याडहरू हानिकारक पनि थिए । तर,  आजभोलि कपडाका स्यानिटरी प्याड कसरी बनाउने र कसरी स्वच्छता कायम गर्दै प्रयोग गर्ने भनेर तालीमहरु पनि हुन लागेका छन् । तपाइँ के भन्नुहुन्छ, रेडिमेड प्याड कि कपडाको प्याड ? मैले सोध्न आँटेको, प्याडमात्रै एकसरो विकल्प हो र ?

कपडाको प्याड मैले पनि प्रयोग गरेकि छु। स्कुल पढ्दा ९ देखि ४ बजेसम्म एउटै कपडाको प्याडमा गुम्सिएर बस्दाको असहजता महसुस अझै गर्छु म। प्याड लाजको विषय थियो। कपडामा एउटा प्याड बेरेर लगाउँथेँ म तर अरु प्याड ब्यागमा बोक्न लाज लाग्थ्यो किनकि केटा साथीहरुले ब्याग खोलेर हेर्थे। त्यसैले हामी अरु उपाय लगाउँथ्यौ। ठुला ठुला रुमाल प्याडको रुपमा प्रयोग गर्थ्यौ। ब्यागको साइडमा राखिन्थ्यो त्यस्ता रुमाल। कतिपटक त केटा साथिहरुले त्यहि रुमालले जुत्ता पनि पुछिदिन्थे, जुत्ता पुछने टालो सम्झिएर । ब्लिडिङ बढि हुँदा वा स्कूलमै महिनावारी हुँदा हामी त्यहि जुत्ता पुछेको रुमाल प्याडको रुपमा प्रयोग गर्थ्यौं। स्वास्थ्यका हिसाबले त्यो अवस्थालाई के भन्नुहुन्छ? अझैपनि त्यस्तै उपाय गर्ने स्कुले बैनिहरु छन्।

महिनावारी र प्याड लाजको विषय बनुन्जेल प्याड सुलभ नै भएपनि अधिकांश महिलाहरु स्वास्थ्यको मापदण्डले सुरक्षित मानिने प्याड प्रयोग गर्छन् भनेर मान्न सक्ने अवस्था छैन। प्याड पैसा वा करको विषय हामी केही महिलाहरुका लागि होला तर अधिकाँस महिलाका लागि यो अझैपनि लाज र विलासको विषय हो। पहिले यस्तो स्थिति फेर्न  जरुरी छ।पैसाको हिसाबले पटकपटक प्रयोग गर्न मिल्ने कुराहरुमा लगानी राम्रै होला तर ‘डिस्पोजेबल’ प्याड नै प्रयोग गर्न सजिलो लाग्छ मलाई।

स्वास्थ्य र सजिलोका हिसाबले पनि प्याड राम्रो कुरा हो। तर, प्याड प्रयोग गर्नुका पनि आफ्नै बेफाइदाहरु छन्। एउटा प्याड धेरैमा ४ घन्टा प्रयोग गर्न सकिन्छ।तर त्यहि प्याड फाल्ने डस्टबिन नहुँदा के गर्ने भन्ने अन्यौल अझै हुन्छ मलाई। म त्रिभुवन विस्वविद्यालयकि विद्यार्थी हुँ। समाजशास्त्रमा एमफिल गर्दैछु। त्यहाँको घडि भवनको ‘महिला ट्वाइलेट’ को अवस्था हेर्नुभयो भने तपाईंहरु मलाई ‘महिनावारी, प्याडमा कर’ को कोइसन गर्नुहुन्न। पहिले हामी विद्यार्थीले प्रयोग गर्ने शौचालयको प्रश्न गर्नुहुन्छ। हामीले किन त्रिभुवन विश्वविद्यालयको शौचालयको बारेमा बोलेनौं त्यो प्रश्न गर्नुहुन्छ। नेपालकै पुरानो नाम चलेको विश्वविद्यालयको शौचालय महिलामैत्री अझ महिनावारी मैत्री छैन भने दूरदराजका स्कूलको अवस्था के होला? यसर्थ,  महिलाको स्वास्थ प्याडसँग, प्याडमा बढेको करसँग मात्र जोडिएको छैन।

माथिकै प्रसंगलाई जोडे, महिलाका लुगा खाली ठाउँ सुक्नु आज पनि लाजकै विषय नै त बनिरहेको छ, होइन ? 

एकदमै हो। काठमाडौंमै पनि ‘अन्डरवेयर वा ब्रा’ कहाँ सुकाउने अन्यौलमा बसेका महिला साथिहरु  देखेकि छु। महिलाका भित्रि वस्त्र अझैपनि पातला टिसर्ट भित्र छोपिएर सुक्ने गरेका छन्।

सावित्री गौतमका अनुसार ‘कण्डोमभन्दा इमर्जेन्सी सामाग्री प्याड हुनसक्छ । यसकारण प्याड कण्डोम जत्तिकै सर्वसुलभ हुनुपर्दछ ।’ तपाइँको विचार ? कण्डोम (एचआइभी एड्स,..) लाई जुन हिसाबले प्रचार-प्रसार गरियो/गरिँदैछ, सोही हिसाबमा प्याड (महिनावारी) को प्रचार-प्रसार किन भइरहको छैन ? 

प्याड र कन्डमको आ-आफ्नो महत्व छन् । त्यसैलौ यी दुवैलाई अपोजिट बनाएर उभ्याउँदै तर्क गर्नुपर्ने जरुरत म देख्दिनँ। महिनावारी महिलाहरुको विषय हो तर एड्स दुवै थरी-पुरुष महिला कै विषय भयो नि त। एड्स रोग भयो, जसबाट बच्न बचाउन कन्डमको प्रचारप्रसार भयो। तर महिनावारी महिलाको मात्रै विषय बनेर रह्यो, लाजको विषय बनेर रह्यो। यसैले पनि महिनावारी शिक्षा कसैले पाएनन् कसैलाई दिइएन। अबको आवस्यकता ‘महिनावारी शिक्षा’ को हो।

महिनावारीसँग जोडिएको मानसिक चिन्ता, हैरानी र उत्पीडनका बारेमा पाठ्यपुस्तक, सम्बन्धित निकायहरूको बेवास्ता के-कति कारण होला ?

मात्रै महिलासँग जोडिएका विषयहरु नै बेवास्ताका विषय बनिरहेका छन्। त्यसैले पनि मलाई महिनावारीको विषयलाई गम्भीर रुपमा लिइएन भनेर अनौठो लाग्दैन। 

रगत लाज, भेदभाव, अपवित्र फोहोर, प्रदूषित रगत जस्ता भाष्यहरूको पछाडि के-कस्ता अर्थहरू लुकेको भेट्नुहुन्छ ? ‘कर्णालीमा चामल छैन, काठमान्डु बस्नेलाई प्याड चाहियो’ भन्नेहरूलाई तपाइँ के भन्नुहुन्छ ?

यो पितृसत्तात्मक भाष्य हो। महिलालाई कमजोर देखाउने, खिल्लि उडाउने भाष्य। 

म उनीहरुलाई केही भन्न चाहन्न। ‘बेसिक निड्स’ हरु फरक ठाउँ र फरक मान्छे अनुसार फरक हुन्छन्। कर्णालीको चामल अभावसँग काठमाडौंको ‘मेक प्याड ट्याक्स फ्रि’ जोडिँदैन। तर कर्णालीको प्याडसँग सरोकार हुनुपर्छ किनकि कर्णालीमा पनि महिला छन्, महिलाहरु महिनावारी हुन्छन्।

महिनावारीको विषयमा नेपालमा भएका बहसहरू कत्तिको प्रभावकारी देख्नुहुन्छ?

महिनावारीका विषयमा नेपालमा के र कति नै बहस भएका छन् र ? 

महिनावारीको पहिलो अनुभव कस्तो थियो ? कति वर्षको हुनुहुन्थ्यो ? महिनावारी भएको हो कि होइन भनेर झुक्किनु पनि भयो कि ?

म राति नै महिनावारी भएकि रहेछु, सिरकमा रगतको टाटा देखेकि थिए के भएछ सोचेँ। बिहान पूजा गर्नु मेरो काम थियो। मुख धोएर पूजा गर्दै थिएँ बैनिले सुरुवालमा रगत देखिछ- तँ नछुनि भइछस् भनि,म रुन थालेँ। त्यतिबेला म १३ वर्षकी थिएँ।

तपाईँमा ‘प्रि–मेन्सट्रुअल सिन्ड्रम (पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायत समस्या)’ देखिने गर्दथ्यो या देखिदैन थियो ? त्यसलाई कसरी ट्याकल गर्नुहुन्थ्यो ?

म आफ्नो पिरियडको डेट सधैं बिर्सिन्छु। जब ‘मुड स्विङ’ हुन थाल्छ, तब थाहा पाउँछु म पिरियड हुने बेला भएछु भनेर।   झनक्क रिसाइहाल्छु, छिनमै खुसि हुने छिनमै दुखी हुने गर्छु। वाक्कदिक्क लाग्छ। ‘पिरियड पेन’ को त कुरै नगरुम्। पेट कम्मर दुख्नेदेखी भोमिटिङ पनि हुन्छ। मुड स्विङ त बेवास्ता मै जान्छ। तर ‘पेन’ ? पिरियड पेन हुँदा  चिनिपानी उमालेर पिउन दिनुहुन्छ मम्मीले, दूधमा बेसार र मह राखेर पिउँछु। औषधि नखाई बस्न कहिले सक्दिनँ। ‘मेफ्टल’ भन्ने औषधि खान्छु।

महिनावारीलाई गौरवपूर्ण रूपमा व्यवस्थापन गर्न के गर्नुपर्ला ?

महिनावारीलाई गौरवपूर्ण भन्दापनि यो सामान्य हो भनेर बुझ्नुपर्छ बुझाउनुपर्छ भन्ने लाग्छ मलाई । सिमोनले ‘द सेकेन्ड सेक्स’ मा लेखेकि छिन्, महिलाहरुको भजाइनामा सर्प लुकेको हुन्छ र त्यसैले ठुँगेर रगत बग्छ भनेर आदिमानवहरु विस्वास गर्थे र महिलाहरुसँग डराउँथे, उनीहरुलाई विशिष्ट रुपमा लिन्थे। आजपनि महिनावारीसँगै ‘डर’ जोडिएको देख्छु म। यो डर महिला पुरुष दुवैमा छ।यो ‘नछुने’ सँगको डर हटाउन यसलाई सामान्य ‘बायोलोजीकल’ प्रक्रिया हो भनेर बुझ्नु बुझाउनुपर्छ भन्ने लाग्छ मलाई। मलाई मेरो महिनावारी गौरवपूर्ण होस् वा म महिनावारी हुन्छु भनेर गौरवान्वित हुनु छैन। मलाई त महिनावारीका चारदिन पनि सामान्य रुपमा व्यतित होस् भन्ने लाग्छ। महिनावारीलाई गौरवपूर्ण बनाउँदा यो सामान्य हुनै पाउँदैन।

***

यो पनि पढ्नुहोस्;

रेशम पत्नी रञ्जिता भन्छिन्- १२ दिनसम्मको लागि म आफ्नै घरमा अछुत भएँ

सम्बन्धित खबर